सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिमबाट कोरोना परीक्षणका लागि गाडीमा नमूना पठाईदै

२०७६ चैत्र १२, ०५:१० खबर संवाददाता

धनगढी : सुदूरपश्चिमबाट कोरोनाको परीक्षणका लागि गाडीमा नमूना काठमाडौं पठाईन थालेको छ। लकडाउनबाट हवाई सेवा समेत बन्द भएपछि सुदूरपश्चिम प्रदेशमा कोरोना आशंका गरिएको व्यक्तिको थ्रोट स्वावको नमूना काठमाडौं पठाउन समस्या भएकोमा आजदेखि फेरी गाडीमा नमूना पठाउन थालिएको प्रदेश जनस्वास्थ्य प्रयोगशालाकी निमित्त प्रमुख अस्मिता सापकोटाले बताईन्।

उनले भनिन्, ‘सेती अस्पतालबाट ७, बैतडी र कञ्चनपुरबाट २÷२ तथा डोटीबाट एक जना व्यक्तिको थ्रोट स्वावको नमूना काठमाडौं पठाउन लागिएको छ। यसअघि हवाई सेवा मार्फत पठाउने गरेका थियौँ। तर लकडाउनपछि हवाई सेवा बन्द भएको छ।’

सेती प्रादेशिक अस्पतालबाट मात्रै ७ जनाको नमूना संकलन गरी पठाउन थालिएको बताउँदै ईमर्जेन्सि विभागका प्रमुख डाक्टर जगदिश जोशीले भने, ‘भोली राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमूना पुग्छ। कम्तिमा पनि रिर्पोट आउन तीन दिन लाग्ने गरेको छ।’

प्रदेशभरीका अस्पतालहरुले नमूना संकलन गरी प्रदेश जनस्वास्थ्य प्रयोगशालालाई पठाउने गरेका छन्। प्रदेश जनस्वास्थ्य प्रयोगशालाले त्यो नमूना काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाउने गरेको छ। सुदूरपश्चिम प्रदेशमा कोरोना परिक्षणको व्यवस्था नहुँदा प्रक्रिया लम्बिएको हो। अहिले सम्म सुदूरपश्चिमबाट पठाईएको स्याम्पलको रिर्पोट सबै नेगेटिभ आएको छ।

कमेन्ट लोड गर्नुस