सुदूर नेपाललाई विश्वसँग जोड्दै

एटीएम नभएका ठाउँमा १ बजेसम्म बैंक खुला रहने

२०७६ चैत्र १२, १२:२९

एटिएम मेसिन उपलब्ध नरहेका ठाउँहरुमा बिहान ११ बजे दिउसो १ बजेसम्म बैंकका शाखा कार्यालहरु खुला रहने भएका छन्। लक डाउनका बेला सर्वसाधारणलाई नगदको समस्या पर्न सक्ने भन्दै बैंकहरुले निश्चित समय तोकेर निश्चित क्षेत्रका शाखाहरुबाट सेवा दिने भएका हुन्।

खुलेका शाखाहरुबाट नगद बाहेकका अन्य सेवा भने नदिने नेपाल बैंकर्स संघले बताएको छ। दैनिक उपभोगीय सामाग्री खरिद गर्नका लागि नगद अभाव हुन नदिन बैंक खोल्न निर्णय गरेको संघले सकेसम्म विद्युतिय माध्यमबाटै बैंकिङ कारोबार गर्न आग्रह समेत गरेको छ।

कुन–कुन ठाउँका बैंक शाखा खुला रहन्छन् भनेर सूची भने संघले तयार पारिसकेको छैन। बैंक तथा वित्तीय संस्थाहरुले जुनसुकै बैंकको एटीएमबाट पैसा निकाले पनि थप शुल्क नलाग्ने व्यवस्था गरिसकेका छन्। कोरोना संक्रमण रोक्ने सरकारी नीतिलाई सघाउन बैकर्स संघले अन्तर बैंक एटिएम कारोबार गर्दा कुनै पनि शुल्क नलाग्ने व्यवस्था निर्णय गरेको हो।

यस्तै संघले मोबाइल, इन्टरनेट बैंकिङबाट कारोबार गर्दा शुल्क नलाग्ने निर्णय पनि गरेको छ। शुक्रबार बिहान बसेको संघको बैठकले बैंकहरुमा ग्राहकको भिड कम गर्न डिजिटल कारोबारलाई प्रोत्साहन गर्ने निर्णय समेत गरेको छ।
 

कमेन्ट लोड गर्नुस