गौरीफन्टामा अलपत्र नेपाली : गृहको आदेश पर्खिदै स्थानीय प्रशासन
नेपला पूर्ण रुपमा लकडाउन गरिएको अवस्थामा सीमा क्षेत्रमा सयौँ नेपाली पुगेका छन्। कैलालीसंग जोडिएको गौरीफन्टा नाकामा पनि गयरातीदेखि नै सयौँ नेपाली अलपत्र छन्। उनीहरुले नेपाल प्रवेशको अनुमती पाएका छैनन् भने सीमा क्षेत्रमा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई दशगजामै रोक्न सकस भईरहेको छ।
यता स्थानीय प्रशासनले भने उनीहरुलाई प्रवेश गराउनका लागि गृह मन्त्रालयको आदेश पर्खिरहेको जनाएको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले गृहसंग समन्वय भईरहेको बताउँदै अलपत्र नेपालीलाई गन्तव्यमा पुगाउन पहल भईरहेको जानकारी दिए।
प्रमुख जिल्ला अधिकारी बोहराले दिनेश खवरलाई भने, ‘सोमवार साँझ सम्म नाकामा पुगेका सबैलाई नेपाल प्रवेशको अनुमती भएपनि राती समेत आउने क्रम जारी भएकाले उनीहरु अहिले सीमा क्षेत्रमै रोकेका छौ। उनीहरुलाई प्रवेश अनुमती दिने वा नदिने विषयमा कुनै निर्णय हुन सकेको छैन्। गन्तव्य सम्म पुगाउन पहल थरिरहेका छौ।’
सशस्त्र प्रहरीले माईकिङ गर्दै सीमामा पुगेका नेपालीहरुसंग जिल्लागत विवरण मागेको छ। गौरीफन्टा नाकामा अलपत्र परेका सयौँ नेपालीले सुरक्षा घेरा छिचोल्दै नेपाल प्रवेश गर्ने प्रयास समेत गरेका थिए।
मोहना पुल सम्म पुगेका उनीहरुलाई अहिले नेपाल प्रहरी र सशस्त्र प्रहरीले पछाडी धकेलेको छ। हिजो साँझ मात्रै संघीय सरकारले सीमामा अलपत्र नेपालीलाई प्रवेश अनुमती दिने निर्णय गरेको थियो। तर त्यस्को केही बेरमा अर्को निर्णय गर्दै आज विहान ६ बजेदेखि नेपाल लकडाउन गरिएको छ।