सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा कोरोनाको पूर्वतयारीः २७ स्थानमा हेल्थ डेस्क, एक स्थानमा हेलिप्याड

२०७६ चैत्र १०, ०३:३४ डीवि विष्ट

बझाङ: बझाङका सबै स्थानीय तहले कोरोना भाइरसबाट बच्नका लागि पूर्वतयारी थालेको छ।  जिल्लाका सम्पूर्ण स्थानीय तहले आफ्नो गाउँमा माक्स र साबुन वितरण गर्नुका साथै प्रत्येक घरमा पुगेर स्वास्थ्यकर्मीहरुद्वारा कोरोनाबारे जनचेतना अभिवृद्धीको कार्यलाई तिव्रता दिएका छन्।  

जिल्लाको सबैभन्दा दुर्गम र चिनसंँग सिमाना जोडिएको साईपाल गाउँपालिका चार स्थान धुली, काँडा, धलौन र न्युनामा हेल्थ डेस्क स्थापना गरिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रबहादुर धामीले बताए। यता सुर्मा गाउँपालिकामा समेत एक स्थानमा हेल्थ डेक्स स्थापनागरी स्वास्थ्यकर्मीहरुलाई प्रत्येक घरमा खटाएर कोरोना बारे सचेतना फैलाउने काम तिव्ररुपमा भइरहेको गाउँपालिकाका अध्यक्ष नरबहादुर बोहराले बताए। 

त्यस्तै तल्कोट गाउँपालिकाले समेत दुई स्थान सुनिकोट र मेलविसौनामा हेल्थ डेस्क स्थापना गर्नुका साथै गाउँपालिका भित्र रहेका चार स्वास्थ्य चौकीमा थप दुई÷दुई वटा बेड राख्ने निर्णय गरेको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत शिद्धराज भण्डारीले जानकारी दिए। 

यता मष्टा गाउँपालिकामा भने तिन स्थानमा हेल्थ डेस्कको स्थापना गरिएको छ। सबै वडाहरुमा माक्स र साबुन वितरण गर्ने निर्णय समेत गाउँपालिकाले गरेको छ। जिल्लाको जयपृथ्वी नगरपालिका र बुंगल नगरपालिकाले समेत कोरोनाबारे पूर्वतयारी अपनाएको छ। जयपृथ्वी नगरपालिकाभित्र आउने मुख्यद्वार तमैल बजारमा हेल्थ डेस्क स्थापना गरिएको नगरपालिकाका स्वास्थ्य संयोजक जनकबहादुर सिँहले जानकारी दिए। त्यसका साथै सार्वजनिक स्थलहरुमा साबुनपानी सहितको हातधुने व्यवस्था गरिने उनले बताए।  

यस्तै बुंगल नगरपालिकाले समेत दुई स्थानमा हेल्थ डेस्कसहित माक्स र साबुन वितरण गर्ने कार्यक्रमसँगै स्वास्थ्यकर्मी र जनप्रतिनिधीहरु गाउँपुगेर कोरोना सम्बन्धी जनचेतना दिने कार्य गरिरहेको छ। 

त्यस्तै  छविसपाथिभरा गाउँपालिकाले भाँडेबजारमा हेल्थ डेस्क स्थापना गर्ने निर्णय गर्नुका बजारमा माक्स अभाव भएकाले गाउँपालिका आफैले माक्स उत्पादन गर्दै प्रत्येलाई मास्क र साबुन वितरण गर्ने गाउँपालिकाका अध्यक्ष अक्कलबहादुर धामीले बताए।

यस्तै खप्तड छान्ना गाउँपालिकाले समेत बाजुराको सिमाना गडराय र तमैल बजार नजीकै दुई स्थानमा हेल्थ डेस्कको स्थापना गरेको छ। थलारा गाउँपालिकाले गाउँपालिकाका ६ वटा नाकाहरुमा हेल्थ डेस्क स्थापना गर्नुकासाथै क्वारेन्टाइनका लागि थलारा माविको विद्यालयभवनमा १२ वटा बेडसहितको व्यावस्था मिलाएको गाउँपालिकाका अध्यक्ष भुवनेश्वर उपाध्यायले बताए। त्यस्तै गाउँपालिकाले हेलिप्याड समेत निर्माण गरेको छ। 

जिल्लाका दुर्गाथली, केदार स्युँ र विथ्थडचिर गाउँपालिकाले समेत आ–आफ्ना नाकामा हेल्थ डेस्कहरु स्थापनागरी जनप्रतिनीधीहरु नै गाउँगाउँपुगेर मास्क, साबुन वितरण गर्नुका साथै विभिन्न सचेतनामुलक कार्यक्रमहरु संचालन गरिरहेका छन्। 

समग्रमा जिल्लाभरी झण्डै २७ स्थानमा हेल्थ डेस्कहरु स्थापना गरिएका छन्। सबै स्थानीय तहहरुमा कोरोनाको रोकथामका लागि माइकिङ र जनतालाई भेटेरै सचेत र सजक रहन आग्रह कार्य तिव्र पारिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।  

जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, उद्योग वाणिज्य संघ तथा जिल्लामा रहेका विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुले समेत यसबारे सचेतना फैलाउने काम तिव्र रुपमा अगाडि बढाएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताए।  
 

डीवि विष्ट दिनेश एफएमका बझाङ संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस