सीमा नाका बन्द गर्न उप–महानगरपालिकाको अनुरोध
धनगढी : धनगढी उप–महानगरपालिकाले सीमा नाका तत्कालका लागि बन्द गर्न संघ र प्रदेश सरकारसँग अनुरोध गरेको छ। आइतबार बसेको उप–नगरपालिकाको बैठकले कोरोना भाइरसको सम्भावित संक्रमण फैलन नदिन सीमा नाकालाई तत्कालका लागि बन्द गर्ने अनुरोध सहितको निर्णय गरेको हो।
नगरपालिकाका प्रवक्ता सन्तोष मुडभरीका अनुसार कोरोना भाइरसको सम्भावित संक्रमण फैलन नदिन धनगढी उपमहानगरपालिका नगर कार्यपालिका तथा १९ वटै वडाबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन भएका अत्यावश्यक सेवा वाहेकका व्यक्तिगत घटना दर्ता‚ विभिन्न प्रकारका सिफारीस र घर नक्सा आदि लगायतका अन्य सेवाहरु चैत १० गतेदेखि २१ गतेसम्म बन्द गर्ने र रोक्ने निर्णय गरिएको छ।
त्यसैगरी कोरोना भाइरसलाई संभावित संक्रमणलाई फैलिन नदिन धनगढी उपमहानगरपालिकाभित्र संचालन भएको इ–रिक्साहरुलाई चैत १० गतेदेखि नै जोड विजोडका रुपमा संचालन गर्न पहल गर्ने निर्णय गरेको छ।
उपमहानगरपालिकाको बैठकले सेती प्रादेशिक अस्पतालमा भाइरसको संक्रमण फैलिन नदिन अत्याधुनिक प्रयोगशाला तत्काल निर्माण गर्न नेपाल सरकार र सुदूरपश्चिम प्रदेश सरकारसँग अनुरोध गर्ने निर्णय गरेको छ।