सुदूर नेपाललाई विश्वसँग जोड्दै

पक्की कुलो बन्दै, किसान रमाउँदै

फाईल फोटो
फाईल फोटो
२०७६ चैत्र ७, ०८:२८

दङ्गीशरण गाउँपालिका–३ रावतगाउँका किसान नाल्टु चौधरी आजभोलि औधी खुशी छन्। उमेरले ६५ वर्ष नाघिसक्नुभएका उनी ३० वर्षदेखि निरन्तर काँधमा फरुवा बोकेर कुलो सोहोर्दै आएका थिए। हिउँदमा बनेको कच्ची कुलो हरेक वर्षात्ले भत्काउँछ। उनले हरेक पटक खेतबारीमा सिँचाइ गर्दा फरुवाले कुलो बनाउनैपर्छ। 

हातपाखुरा कमजोर हुँदै गएपछि फरुवाले कुलो सोहोर्नसमेत उनलाई धौधौ भएको थियो। तर अहिले उनको त्यो समस्या हटेको छ। उनलाई लाग्छ समय फेरिएको छ।  गाउँमा खेतबारीमा सिँचाइ गर्ने कच्ची कुलो, पक्की बनिसक्यो। अचेल पक्की नाली बनेको देख्दा उहाँमा खुशीको सीमा बढेको छ। “गाउँगाउँमा सिँचाइका लागि पक्की कुलो बन्दैछ। यस्तो सुखको दिन आउलाजस्तो लागेको थिएन”, किसान चौधरी फिस्स हाँस्दै भन्नुभयो, “जुन गाउँ जाँदा पनि पक्की नाली बनेको देख्छु, देशमा साँच्चिकै विकास हुँदैछ भन्ने अनुभूत भएको छ।” उनको आफैँ बनाएर सिँचाइ गर्नुपर्ने एक बिघा जमिनमा अहिले सिँचाइ पुगेको छ। 

दङ्गीशरण–५ कुमलगडीका सूर्यदास चौधरी ६१ वर्षका भए। १२ वर्षको उमेरदेखि नै उनको खेती किसानीमा दैनिक बितेको थियो। “वर्षा शुरु हुनेबित्तिकै फरुवा लिएर कुलो लाग्न जानुपथ्र्याे अब पक्की नाली बन्दैछ। कुलो लाग्ने समस्याबाट मुक्ति पाइने भयो”, उनले भने। दङ्गीशरण–४ मौलीका मित्रलाल रावल उमेरले ७५ वर्ष काटे। गाउँपालिका नजिकै बनेको नाली हेर्दै हिँडिरहेका उनले भने, “छोरानातिका दुःखका दिन गए”, साठी वर्ष अगाडिको दुःख सम्झँदै उनले भने, “हामी त फरुवा कुटो, कोदालो हातले चलाएर काम ग¥यौँ, फरुवा लिएर कुलो झार्न जान्थ्यौँ, खेत खन्थ्यौँ, अहिले सबै बाटा, कुलो नाली पक्की बन्दैछन्। सुखका दिन आउँदैछन्।”  

दङ्गीशरण वडा नम्बर ५ मिरौलीमा कुलो निर्माणमा हेकुलीकी सीता चौधरी र रविता चौधरी काम गरिरेहको भेटिए। उनीहरु दैनिक नौ घण्टा खेतबारीमा काम गर्छन्। ठेकेदारले आठ घण्टा काम गर्ने भने पनि कुलो निर्माण छिट्टै सकिएला भनेर उनीहरु नौ घण्टा काम गरेको बताउँछन्। पक्की कुलो बनाउने काम छिट्टै सकिएपछि वर्षा शुरु हँुदा कुलो लाग्नुपर्दैन । पानी चुहिएर कुलोको पानी खेर जाने समस्या पनि छैन।  

दङ्गीशरण गाउँपालिका वडा नम्बर ३ स्थित हेकुलीगाउँमा सिँचाइ सुविधा पु¥याउनका लागि पक्की कुलो निर्माण जारी छ। प्रदेश सरकारको रु एक करोड ६५ लाख लागतमा पक्की कुलो निर्माण भइरहेको छ। तीन हजार ३०० मिटर लम्बाइको पक्की कुलो निर्माणपछि हेकुलीगाउँका करिब डेढ सय घरधुरी सिँचाइ सुविधा लिन सक्नेछन्।

निर्माणाधीन सो कुलो ८० सेन्टिमिटर चौडाइ र ६० मिटर अग्लो रहेको निर्माण व्यवसायी ईश्वर पुनले बताए। विसं २०७६ माघमा जलजला निर्माण सेवा घोराही दाङसँग २०७७ माघमा निर्माण सक्ने गरी सम्झौता गरे पनि यही असार मसान्तमा निर्माण सकिने उनले बताए।

सिँचाइ डिभिजन कार्यालय तुलसीपुरका प्रमुख गणेश मरासिनीका अनुसार दङ्गीशरणमा विसं २०७४÷७५ मा पाँच स्थानमा पक्की कुलो निर्माण भएका छन्।  विसं २०७५÷७६ मा १० गरी जम्मा १५ पक्की कुलो निर्माण सम्पन्न भइसकेको दङ्गीशरण गाउँपालिकाका अध्यक्ष भागिराम चौधरीले जानकारी दिए। चालु आर्थिक वर्षमा पनि गाउँपालिकाका सबै वडामा करिब दर्जन बढी पक्की कुलो बन्ने प्रक्रियामा रहेको उनले बताए। रासस
 

कमेन्ट लोड गर्नुस