Covid-19(Coronavirus) update
World Nepal
Confirmed
Recovered
Deaths

तीस वर्ष पछि....

२०७६ चैत्र ४, ११:३६
अ+

स्थानीय एरपोर्टमा ओलर्दा हातमा माला र खादा लिनुभएकी आमाका आँखामा हर्षका आँसु छचल्कि रहेका थिए। तीस वर्षको अन्तरालमा आमाको न्यानो मायाको स्पर्षले मेरो मन पनि द्रवीभूत बन्यो। स्वागतका लागि एरपोर्टमा जम्मा हुनुभएका तमाम आफन्तजन पनि मेरो आगमनमा गदगद हुनुभयो। साइनो अनि दर्जा अनुसार सबैसंँग एकचरण ढोगभेट आदानप्रदान भएपछि हामी सबै मेट्रो ट्रेन चढेर गाउँतर्फ प्रस्तान ग¥यौ।

मेरो बचपनको साथी बिनोद मसँंगैको सिटमा बस्यो। म झ्यालतिरको सिटमा थिए। भेट नभएको धेरै वर्ष भएकाले कुराको प्रसङ्ग कताबाट सुरु गर्ने भनेर मेरो वाक्य फुट्न सकिरहेको थिएन। हुनसक्छ, बिनोदलाई पनि त्यसै भएको होस्। मेट्रोले एकै छिनमा रप्तार पक्रिए पनि हाम्रा अब्यक्त शब्दहरु मनको तलाउमा कतै गुमनाम थिए। त्यसैले हामी एकअर्कासँंग निकै बेरसम्म नबोलेरै बस्यौँ। 

घरको आर्थिक दुरावस्थाको कारण म बैदेशिक रोजगारमा लागे। यता बिनोद सबैतिर प्रयास गरेर कतै सीप नलागेपछि  राजनीति गर्न थालेछ। ऊ राजनीतिमा राम्रैसँंग स्थापित भैसकेको कुरा मलाई थाहा थियो। ट्रेन छुटेको निकै समय भैसक्दा पनि हामी बिच बोलचालको औपचारिक मेलोमेसो मिल्न सकेन्। यस बिचमा मलाई बिनोदलाई भन्दा सजिलो थियो किनभने म झ्याल तर्फको सिटमा बसिरहेको थिए । झ्यालबाट तीस वर्ष पछि देखिएका अपत्यारिला अनि चमत्कारिक दृश्यहरु देखेर म चकित परेको थिए । देशमा बिकास अनि समृद्धी भएको छ भन्ने त सुनेको थिए तर यो स्तरको विकास मेरो कल्पना भन्दा बाहिरको कुरा थियो ।

योजनाबद्ध ढङ्गले निमार्ण गरिएका व्यवस्थित ग्रामीण वस्तिहरु । ग्रामीण क्षेत्रमा पनि रहरलाग्दा ग्रामीण बजारहरु । ग्रामीण बजारमा सुपरमार्केट , डिपार्टमेन्टल स्टोर , होटेल , लज , क्याफे , पार्टी प्यालेस अनि फिटनेस क्लबहरु । तिनका अगाडि ग्राहकको लोभलाग्दो लर्को । आँगनमा महङ्गा कार नभएको कुनै घर छैन । केही किलोमिटरको अन्तरालमा देखिने हेर्दै रहरलाग्दा अस्पताल अनि शैक्षिक संस्थाहरु । टोलै पिच्छे ठूला साना सुन्दर पार्कहरु ।  जताततै चिल्ला , फराकिला अनि सफा सडकहरु । रहर लाग्दो सडक अनुशासन । चुस्त दुरुस्त ट्राफिक व्यवस्थापन । सडकको समानान्तर अविच्छिन्न् ढङ्गले  बिच्छ्याइएका ट्रेनका लिकहरु । एउटा पहाडलाई अर्को पहाडसँंग जोड्न कतै केवलकार अनि कतै सयौँ मिटर अग्ला बडेमानका पक्की पुलहरु । भीमकाय पहाडहरुलाई सयाँै मिटर चिरेर निर्माण गरिएका फराकिला सुरुङ् मार्गहरु । 

 आधुनिक अनि व्यवसायिक पशुपालन र कृषिको यस्तो नमुना यतिका वर्ष युरोप , अरब , मध्यपूर्व बसेर कतै देखिन मैले । जम्मै खेत खलियानहरुलाई कृषि फर्ममा रुपान्तरण गरिएको छ । भिराला पाखाहरुमा बिभिन्न जातका फलफूलहरु लटरम्म परेर झुलेका छन् । खेतका हरेक गह्राहरु लाई टनेल बनाइएको छ । हरेक गह्राको सिरानै जोडेर नहर पुर्याइएको छ । हरेक खेतको अन्त्यमा ठूल्ठूला तरकारी तथा फलफूल सङ्कलन् केन्द्रहरुलाई व्यवस्थित गरिएको छ । पशुपालन केन्द्रहरु पनि त्यस्तै व्यवस्थित । हरेक पशुपालन केन्द्रसंँगै जोडिएका दुग्धजन्य पदार्थ तथा मासुजन्य पदार्थ संकलन केन्द्रहरु । हरेक सङ्कलन केन्द्रसंँगै जोडिएका ठूल्ठूला कोल्ड सेन्टरहरु । औद्योगिक केन्द्रहरुलाई गाउँका सघन वस्तिहरु भन्दा टाढा व्यवस्थित गरिएको छ । हरेक औद्योगिक क्षेत्र अनि कृषिफर्ममा स्वदेशी भन्दा धेरै बिदेशी कामदारहरु देखिन्छन् ।  

राजनीतिक नेतृत्व राष्ट्रनिर्माणमा प्रतिवद्ध भएर लागेमा देश बिकासले छोटै समयमा कायापलट गर्नसक्छ  भन्ने कुराको यो ज्वलन्त उदाहरण हो । विश्वका औलामा गन्न सकिने केही देशहरुले मात्र एकाध दशकमा यो स्तरको बिकास गर्न सकेका छन् । मलाई अहिलै चैँ मेरो देश देखेर साँच्चिकै आत्म गौरवको अनुभूति भयो । अब चैंँ कुनैपनि नेपाली चेलीले न बिदेशका बेश्यालयमा बेचिनुपर्ने छ न त कुनै नेपालीले निकृष्ट श्रमका लागि बिदेशिनुपर्ने छ । आँखै अगाडि यस्तो अकल्पनीय बिकास अनि समृद्धी देखेर मैले सन्तोषको लामो सास फेरे । 

“ के सोचिरहेका छौ ?” बिनोदले मेरो काँधमा हात राखेर मुख खोल्यो । 
“ देशको नेतृत्व, भिजन अनि मिसन भएका मानिसहरुको हातमा परे जे पनि हुनसक्दो रै छ बिनोद । नेपालको समृद्धी अनि बिकासका बारेमा सुन्न त सुनिएकै हो तर तीन दशक भित्रै यो स्तरमा देशले काँचुली फेरेको होला भनेर मैले कल्पना सम्म गरेको थिइँन । ” बिनोदको जिज्ञासामा मेरो एकाग्रता यसरी भङ्ग भयो । 

“ तिमीले मात्र होइन कसैले पनि देशले यति चाँडै कोल्टेफेर्ला भनेर कल्पना सम्म गरेका थिएनन् । शासकहरुमा राष्ट्रनिर्माणको गहिरो इच्छाशक्ति र दृढ सङ्कल्प भए विकास मात्र होइन चमत्कारै गर्न सकिने रहेछ । देश राणा शासन र पञ्चायत कालीन कुशासनको लामो अनि अँध्यारो गुफामा दशकौं सम्म न रुमल्लिएको भए  देशको नयाँ परिदृश्य कस्तो हुन्थ्यो होला ? कल्पना गर्दा मात्रै पनि काउकुती लाग्छ । इतिहास तीतो वा मीठो जस्तो भएपनि बदल्न त सकिदैन तर इतिहासबाट पाठ चाँहि अवस्य लिन सकिदो रहेछ । पचासको दशकमा नेपालमा लोकतन्त्र मात्र आएन नेपाली नेताहरुले कालो अनि भ्रष्ट इतिहासबाट गहिरो पाठ पनि सिके ।   भ्रष्टाचार अनि कुशासन देशको बरबादीको मुख्य कारक हो  भन्ने कुरालाई नेपालको इतिहासले हाम्रो प्रजातान्त्रिक नेतृत्वलाई सिकाएको सबै भन्दा ठूलो र महत्वपूर्ण पाठ हो । त्यसैको परिणाम हो तिमीले अहिले देखिरहेको नयाँ नेपाल । नेपाल शब्दमा मात्र होइन सारमा समेत नयाँ नेपाल बनेको छ । ” यति बोलेर बिनोद चुप लाग्यो । “ तिमी यसको श्रेय कसलाई दिन चाहन्छौ त बिनोद ? ” बिनोद चुप लागेपछि अब मुख खोल्ने पालो मेरो थियो ।

“ मेरो बुझाइमा यसको श्रेय महान अनि क्रान्तिकारी नेपाली जनता र प्रजातान्त्रिक कालमा देशको नेतृत्व गर्ने सबैजना प्रधानमन्त्रीलाई संयुक्तरुपमा दिइनुपर्दछ । कृष्णप्रसाद भट्राई अनि मनमोहन अधिकारीको क्षमताको परिक्षण हुन सकेन किनभने उहाँहरुको कार्यकाल अत्यन्त छोटो थियो । त्यसपछिको कालखण्डबाट ज्ञानेन्द्र शाहको कुशासनलाई झिक्ने हो भने शत्तामा आएका हरेक प्रधानमन्त्रीहरुलाई नयाँ नेपाल निर्माणको श्रेय दिइनु पर्दछ । नयाँ अनि समुन्नत नेपालको जग हाल्ने काम चाँहि जी पी कोइरालाबाट भएको हो । यस कुरालाई नेपालले मात्र होइन साह«ा बिश्वले समेत स्वीकार गरिसकेको छ  । विश्वले कोइरालालाई  नेपालका लि क्वान यु भनेर समेत चिन्ने गर्दछन् । तर यो पूर्ण सत्य नभएर अर्धसत्य मात्र हो । किनभने बलियो नेपालको जग कोइरालाले हालेको भएपनि देशलाई अहिलेको अवस्थासम्म ल्याइ पुर्याउन उनका उत्तराधिकारीहरुको पनि महत्वपूर्ण भूमिका छ । ” एकै सासमा यतिधेरै बोलेपछि मेरो हातको बोतल समातेर बिनोद पानी प्युन थाल्यो । 

“ यसको मतलब तिमी सूर्यबहादुर थापा र लोकेन्द्रबहादुर चन्दलाई समेत यसको श्रेय दिन चाहन्छौ ?  लोकतन्त्रमा उनीहरु पनि त कोइरालाका उत्तराधिकारी हुन् । ” मेरो मुखबाट किन किन एउटा अनपेक्षित प्रश्न निस्कियो । मेरो मुखबाट अप्रिय प्रश्न सुनेर अमिलो मुख पार्दै बिनोद जवाफ दिन थाल्यो , “ उहाँहरुलाई यसको श्रेय किन नदिने । छयालिस पछिको नेपाललाई यहाँसम्म ल्याइपुर्याउन उहाँहरुको पनि महत्वपूर्ण भूमिका छ । जीपीले हालेको नयाँ नेपालको जगलाई माथि उठाउन उहाँहरुले पनि केही इट्टा थप्नु भएको छ ।  पञ्चायतमा दरवारले आफ्नो इसारामा प्रयोग गरेकोले पो उहाँहरुले  आफ्नो क्षमता देखाउन नसक्नु भएको रै छ त ।

 अराजनीतिक स्वभावका व्यक्ति भएर पनि श्रीलोचन पटक पटक प्रधानमन्त्री बन्नु नियतीको खेला थियो । पञ्चायतमा होस् वा प्रजातन्त्रमा उनले प्रधानमन्त्रीको लालसा कहिल्यै राखेनन् । देशलाई उनको आवश्यकता पर्दा प्रधानमन्त्री बनाइएको हो । उनी मूलरुपमा साहित्यकार हुन् । कमलो मन भएको मानिस स्वभावतः न पञ्च बन्न सक्छ न त क्रुर शासक नै । कुरा रह्यो सूबथाको उनलाई समयले जेसुकै बनाएको भएपनि उनको रगतका हरेक थोपामा लोकतन्त्र मिसिएको थियो । उनको भगिरथ प्रयत्न असफल भएर मात्रै नत्र भए त नेपालमा छत्तीस सालतिरै लोकतन्त्र आइसकेको हुन्थ्यो । छत्तीस सालमा लोकतन्त्र आएको भए के हुन्थ्यो थाहा छ ? एकातर्फ देशको चौतर्फी बिकास एक दशक अघि सथ्र्यो भने अर्को तर्फ वी पी प्रधानमन्त्री बन्न पाउनुहुन्थ्यो । सूबथाको हजार प्रयत्नका बाबजुद पनि दरवार डेग नचलेपछि न देश बिकासमा एकदशक अघि सर्न सक्यो न त वी पी नै अर्को पटक प्रधानमन्त्री बन्न पाउनुभयो । सूबथाको त्यही क्रान्तिकारी अनि प्रगतिशील बिगतका कारण उनलाई लोकतान्त्रिक कालमा जी पी कोइरालाको उत्तराधिकारी बनाइएको हो । पूर्वपञ्च हुनु  के दोष हो र ? फेरि सबै पञ्चहरुलाई एउटै तुलोमा राखेर जोख्नु पनि त भएन नि । तुलसी गिरी , मरिचमान अनि कृतिनिधीहरु सबैलाई टपक्क टिपेर लोकतन्त्रमा उपयोग गरिएको भए प्रश्न गर्न सकिन्थ्यो होला र ? त्यसो त गरिएन नि । ” बिनोदले यति बोलिसके पछि मेट्रो केही समयका लागि एउटा स्टेसनमा रोकियो । केही मानिसहरु ओर्लिए भने केही मानिसहरु उक्लिए ।

मेट्रोमा नेपालीहरु भन्दा धेरै बिदेशीहरु ओहोर दोहर गरिरहेको देखेपछि मैले सोधे , “ यिनीहरु नेपाल घुम्न आएका पर्यटकहरु होलान हैन बिनोद ?”
अट्टाहसपूर्ण हाँसो हाँसेर बिनोद मेरो प्रश्नको जवाफ बडो रवाफका साथ दिन थाल्यो , “ के का पर्यटकहरु हुनु नि ? यी त बैदेशिक रोजगारीमा नेपाल आएका बिदेशीहरु हुन् । नव निर्माणका सुरुका वर्षमा भारतीयहरु मात्रै रोजगारीका लागि नेपाल आउने गर्थे तर हिजोआज युरोप , पूर्वी यसिया , अष्ट्रेलिया , अमेरिका , अरब , पश्चिम यसिया , अफ्रिका लगायत सबै देशका मानिसहरु रोजगारीका लागि नेपाल आउने गर्छन् । सेवा क्षेत्रमा सबैभन्दा धेरै भारतीयहरु छन् भने कृषि क्षेत्रमा काम गर्ने सबैभन्दा धेरै कामदारहरु चिनिया छन् । मेनिफ्याक्चरको क्षेत्रमा युरोपियन , अमेरिकी , कोरियन , जापानिज अनि अष्ट्रेलियनको बाहुल्यता रहेको छ । गैर कानुनी बाटोबाट नेपाल प्रबेश गरेका हजारौं अफ्रिकी शरणार्थीहरुले सयाँै शिबिरहरु भरिएका छन् । ” यति भनेर बिनोदले किनकिन आफ्ना आँखाहरु हातको घडीतर्फ दौडायो । 

“नेपालले आर्थिक बिकास त लोभलाग्दो ढङ्गले गरेको रै छ । सामरिक अवस्था कस्तो छ नि ? ” यसै बिच मैले अर्को जिज्ञासा राखे । 
“ सामरिक क्षमताको त कुरै नगर । नेपालको क्षमता देखेर अमेरिका र चीनको समेत निद हराम भएको छ । नेपालमा बनेका बिभिन्न मोडलका लडाकु बिमानहरु र स्वचालित हतियारले बिश्वबजारमा एकतर्फी कब्जा जमाए पछि अमेरिका ,  इजराइल , जर्मनी , फ्रान्स ,बेलायत लगायत धेरै  देशका हतियार उत्पादक कम्पनीहरु टाट पल्टने अवस्थामा पुगेका छन् । नेपालले बिकास गरेको शक्तिशाली प्रतिरक्षा प्रणालीका कारण आणबिक शक्तिसम्पन्न राष्ट्रहरुको शक्तिको दम्भ पानीको फोका झैँ फुस्स भएको छ । उनीहरुले निर्माण गरेका शक्तिशाली आणबिक बमहरु फगत दिपावलीका पटाखा र घुइचम्पा साबित भएका छन् । त्यति मात्रै हो र ? नेपालकै कारण बोइङ् , जेट् , सुजुकी , टाटा , माइक्रोसफ्ट , एप्पल लगाएत बिश्वप्रसिद्ध कम्पनीहरु टाट पल्टने अवस्थामा पुगेका छन् । ” बिनोदले गर्वका साथ सुनायो ।     

“ नेपालको कुटनीतिक सम्बन्धको ग्राफ त निकै उँभो लागेको होला त्यसो भए ? नेपालले युएनको सुरक्षा परिषदमा स्थायी सदस्यका लागि पहल गरिरहेको छ भनेर यरोपका मिडिमा हेडलाइन बनिरहेको छ । के यो साँच्चै हो र ? ” यसै बिच मैले आफ्नो थप जिज्ञासा पस्किए । 

“ किन उँभो नलाग्नु नि ? बरु आकाशीएको छ भन न । नेपालले मध्यपूर्वमा दशकौँदेखि कायम रहेको इजरायल र प्यालेष्टाइनका बिचको समस्या स्थायीरुपमा समाधान गरिदिए पछि नेपालको कुटनीतिक क्षमता देखेर साह«ा विश्व चकित परेको छ । भारत र पाकिस्तानका बिचको परम्परागत बैरभावपूर्ण सम्वन्ध सधँैका लागि समाधान गरिदिन मध्यस्थताका लागि दुवै देशका सरकार प्रमुखले नेपालका प्रधानमन्त्रीलाई अनुरोध गरेको महिनौ भैसक्यो । कार्य व्यस्तताका कारण नेपालका प्रधानमन्त्रीले भारत र पाकिस्तानलाई समय दिन सक्नु भएको छैन । उता दलाइ लामा र उनका अनुयायीहरुले समेत नेपालको मध्यस्थतामा स्वतन्त्र तिब्बतको मुद्धा छोडेर चीनको सार्वभौमशत्तालाई सँधैका लागि स्वीकार गरिसके । अमेरिकाका राष्ट्रपति , बेलायतका प्रधानमन्त्री , जर्मनीका चान्सलर ,  जापानी सम्राट , अरबका बादशाहहरुका लागि त नेपाल पानी पँधेरो जस्तै बनेको छ तर भारतले त्यत्रो अनुरोध गर्दा पनि दशवर्ष यता नेपालका कुनै प्रधानमन्त्रीले भारतको औपचारिक भ्रमणका लागि समय निकाल्न सकेका छैनन्  । बिदेशका शक्तिशाली राष्ट्राध्यक्ष तथा सरकार प्रमुखहरु वर्षमा कैयौँ पटक नेपाल पुग्छन् । पछिल्लो पटक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प स्वास्थ्य उपचारका लागि नेपाल आउँदा परराष्ट्र मन्त्रीको कार्यव्यस्तताका कारण परराष्ट्र सहायक मन्त्रीले त्रिभुवन अन्तराष्ट्रिय बिमान स्थलमा स्वागत गरेछन् । यस कुराले ट्रम्पको चित्त दुखेको रहेछ । नेपालमा रहँदा उनले यस कुरालाई प्रकट गर्न सकेनन् तर न्यूयोर्क टाइम्ससँगको महत्वपूर्ण अन्तरवार्तामा उनले यस कुराको जिकिर घुमाउरो पारामा गरेका छन् । 
जहाँसम्म नेपालले सुरक्षा परिषदमा स्थायी सदस्यता लिने कुरा छ त्यो अन्तिम चरणमा पुगेको छ । समकालीन विश्वमा नेपालको अनुरोधलाई नकार्न सक्ने ल्याकत कुनै देशसंँग छैन । ”

बिनोदले त्यति भनि नसक्दै हामी अर्को स्टेसनमा पुगिसकेका थियाँै । मानिसहरु उक्लने र ओर्लने क्रम यहाँ पनि उस्तै छ । हामीभन्दा पल्लो पट्टिको सिटमा आफन्तसँंगै बस्नुभएकी आमा मस्तले निदाउनु भएको छ । केही मानिसले मसिनो आवाजमा गरिरहेको दोहरो सम्बाद बाहेक मेट्रोभरि मानिस भएर पनि सर्वत्र मौनता छाएको छ । अनुशासन पनि कस्तो भने उनीहरु मेट्रोमा उक्लदा र मेट्रोबाट झर्दा उनीहरुका आँखामा मे आई कमिन अनि मे आई गो आउटको भाव झल्कन्छ । नेपालीहरुका अघि जापानिजहरुको अनुशासन के अनुशासन ? देश बन्न सर्वप्रथम जनता अनुशासित बन्नुपर्छ भन्थे साँच्चै हो रै छ ।  

“नेपालमा भ्रष्टाचारको अवस्था कस्तो छ बिनोद ?” मेट्रोले स्टेसन छोडेपछि मैले कुराको प्रसङ्ग फेरि जोडे । 
“ नेपाल अनि भ्रष्टाचार यो कसैले कल्पना नगरे हुन्छ । हिजोआज भ्रष्टाचार शब्दलाई सार्वजनिक स्थानमा उच्चारण गर्न समेत नेपालीहरु लज्जाबोधको बिषय मान्छन् । यस वर्ष  ट्रान्सपरेन्सी इन्टर नेस्नलको सूचीमा नेपाल भ्रष्टाचार नहुने देशको पहिलो नम्वरमा छ । तीस वर्ष पहिले नेपाल संसारका अतिभ्रष्ट देशहरुको सूचीमा अग्रस्थानमा पर्ने गथ्र्यो । हिजोका हजारौं भ्रष्ट शासक अनि प्रशासकहरु  सर्वस्वहरण सहित आजपनि कालकोठरीमा सडिरहेका छन् । तिनको अबैध अकुत सम्पति राज्यले जफत गरेपछि नै हो नयाँ नेपालको बलियो जग बसेको । लुटेराहरुले लुटेर लगेको खरबौँको सम्पति राज्यकोषमा जम्मा भएपछि त्यसलाई पहिलो चरणमा जलबिधुत उत्पादनमा लगाइयो । सुरुको सात वर्षमा नै नेपालमा तीस हजार मेघावाट जलबिधुत उत्पादन भैसकेको थियो । उर्जा सङ्कट सँधैका लागि समाधान भएर अरबौंँको बिधुत बिदेश निर्यात हुनथालेपछि नै हो नेपालले बिकासको क्षेत्रमा काँचुली फेर्न थालेको । फेरि जी पी कोइरालाले भ्रष्टाचारमा शून्य सहनशीलताको नीतिलाई कडाइका साथ लागु गरेपछि उनका उत्तराधिकारीहरु एस बी देउवा , पी के दाहाल , एम के नेपाल  , जे एन खनाल , बी आर भट्टराई अनि के पी ओलीहरुले पनि त्यसैलाई निरन्तरता दिए । आज त्यसैको परिणाम हो , तिमीले देखिरहेको सुन्दर अनि समृद्ध नेपाल ।   ” 

बिनोदले यति भनिसकेको मात्र के थियो । मेट्रो फेरि अर्को स्टेसनमा आएर रोकियो । हामी ओर्लनु पर्ने यतै रहेछ । आमालाई अघि लगाउँदै हामी आफ्ना लगेजहरु समातेर मेट्रोबाट बाहिर निस्किन मात्र के खोज्दै थियौंँ । मेट्रोको ढोकामा अल्झिएर आमा डङ्रङ्ग भुइँमा बजारिनु भयो । हामी हतारिदै बाहिर निस्कियौ । हामीले होस समाल्दासम्म आमा अचेत भैसक्नु भएको रहेछ । बेहोस हुनुभएकी आमालाई काखमा लिएर म डाको छोडेर रुन थाले । 

“ के भयो ? कतै खराब सपना त देखिनस् ?” बिनोदले जोडसंँग झक्झक्याउँदै मलाई बिउझायो । मैले झटपट आँखा खोलेर चारैतिर नजर दौडाए । हामी दुईभाइ इराकको साँघुरो गल्ली भित्रको अझै साँघुरो अनि अँध्यारो कोठाभित्र थियौंँ । बाहिर केही सय मिटरको दुरीमा व्यापक गोलाबारी भैरहेको थियो । म खाटबाट जुरुक्क उठे । कोठाको अर्को कुनामा रहेको रक्षानमा मुख धोएर हतार पतार घरमा फोन लगाए । घरबाट आमा सिकिस्त बिमारी हुनु भएको खवर आयो । आमा मसंँग कुरा गर्न सक्ने अवस्थामा पनि हुनु हुन्न रै छ । अनिच्छा हुँदाहुँदै पनि मैले हतारमा फोन काटे र फेरि पहिलेकै पातलो च्यादरमा गुटमुटिएर भकानिदैं रुनथाले । 
अस्तु  

Skip Ad