बझाङमा सबै एसईई परिक्षा केन्द्रमा हेल्थ डेस्क स्थापना गर्ने तयारी
बझाङ: नोभेल काेरोना (कोभिड –१९)को उच्च जोखिमलाई मध्यनजर गर्दै बझाङका चार स्थानमा हेल्थ डेस्कहरु स्थापना गरिएका छन्। जयपृथ्वी राजमार्ग अन्तरगत विथ्थडचिर गाउँपालिका तथा बझाङ र बैतडीको सीमाना नजीकैको स्याँडी प्रहरी चौकी, बसपार्क, साईपाल गाउँपालिकाको धुली र अस्पतालको परिसरमा हेल्थ डेस्क स्थापना गरिएको स्वास्थ्य कार्यालयका प्रमुख भानु जोशीले बताए।
तिब्बतसँग जोडिएको साईपाल गाउँपालिकाको धुलीमा हेल्थ डेस्कको स्थापना भइसकेको गाँउपालिकाका अध्यक्ष राजेन्द्रबहादुर धामीले बताए। अहिले सबै नाकाहरु हिमपातका कारण बन्द भएतापनि त्यसप्रति गाउँपालिकाले विशेष ध्यान दिएको उनले बताए।
जिल्ला विपद् व्यवस्थापन समितिको आइतबार बसेको बैठकले भाइरसबारे पूर्वतयारी गर्ने र त्यसको प्रचारप्रसार गर्ने निर्णय गरेको जिल्ला विपद् व्यवस्थापन समितिका प्रम्ख तथा प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए।
यस्तै चैत्र ६ गतेबाटे एसईई परिक्षा संचालन हुने भएका कारण परिक्षाअवधी भर प्रत्येक परिक्षाकेन्द्रमा हेल्थ डेस्क स्थापना गर्ने तयारी भएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए। जिल्लामा १९ वटा एसईई परिक्षा केन्द्र तोकिएका छन। सबै परिक्षा केन्द्रमा स्वास्थ्य कार्यालयको सहयोगमा हेल्थ डेस्क स्थापना हुने उनले बताए।
त्यस्तै जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै भिडभाडमा नजान, सबै स्थानीय तहहरुले सभा सम्मेलनहरु नगर्न र नगराउन हुन अनुरोध समेत गरेको छ। जिल्लामा अहिले अस्पताल र स्वास्थ्य कार्यालयले कोरोना भाइरस सम्बन्धी विभिन्न सचेतनामुलक कार्यक्रमहरु संचालन गर्दै गएको छ।