सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलाको मालिकार्जुनमा ३० वर्षपछि खानेपानी योजना निर्माण हुँदै

२०७६ चैत्र ३, ०४:१४

दार्चुला: मालिकार्जुन गाउँपालिका–२ मा ३० वर्षपछि बृहत् खानेपानी तथा सरसफाइ योजना शुरु भएको छ। गाउँपालिका र ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाअन्तर्गत भगवती खानेपानी तथा सरसफाइ योजना शुरु भएको हो। 

वर्षौंदेखि खानेपानी समस्या झेल्दै आएका बस्तीका लागि खानेपानी योजना शुरु गरिएको छ। भगवती खानेपानी तथा सरसफाइ योजनाअन्तर्गत सिराड बस्ती र ठिङ बस्तीका गरी १६९ घरधुरीमा खानेपानी पहुँच पु¥याउने उद्देश्यले योजना शुरु गरिएको ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाका सहयोगी संस्था सामुदायिक ग्रामीण विकास समाज नेपालका फिल्ड संयोजक रवीन्द्रसिंह धामीले जानकारी दिए।

“विगतमा एउटा टोलमा एउटा खानेपानी धारा थियो,” उनले भने, “अहिले हरेक घरधुरीमा खानेपानी धारा निर्माण गर्नेगरी योजना शुरु गरिएको छ।” यो योजनाले दुवै बस्तीका १६९ घरधुरी, दुई विद्यालय, एक स्वास्थ्य चौकी, एक वडा कार्यालय र चारवटा मन्दिरमा समेत धारा निर्माण गरिनेछ। 

योजना निर्माणका लागि नेपाल सरकारको पाँच लाख ९९ हजार ५६८, फिनल्यान्ड र युरापेली युनियनको ३१ लाख ४७ हजार ७३३, गाउँपालिकाको ७८ लाख ६ हजार ८७९ र उपभोक्ताको श्रम लगानी ४० लाख  ५९ हजार ५७७ गरी कूल  एक करोड ५६ लाख १३ हजार ७५९ लागतमा खानेपानी तथा सरसफाइ योजना निर्माण हुन लागेको हो।

योजना निर्माण शुरु भएपछि स्थानीयवासी बिहानदेखि बेलुकीसम्म काममा जुटेका छन्। योजना निर्माण गर्न २६ प्रतिशत जनश्रमदान गर्नुपर्ने भएपछि हरेक घरधुरीबाट एकजना काममा जुटेका हुन्। खानेपानी योजनाको शाखा लाइन खोदानमा जनश्रमदानको काम भइरहेको भगवती खानेपानी तथा सरसफाइ योजनाका उपभोक्ता समिति सचिव कल्यानसिंह धामीले जानकारी दिए। 

यो गाउँमा २०४६ सालमा खानेपानी योजना निर्माण गरिएको थियो। त्यसयता खानेपानी योजना मर्मतसम्भार हुन नसकी गाउँमा पानी अभाव हुन थालेपछि ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनामार्फत खानेपानी योजना निर्माण भइरहेको उनले बताए।

“गाउँमा ३० वर्षपछि स्वच्छ पिउने पानी पुग्ने भएपछि स्थानीयवासी खुशी छन,” उनले भने, “पहिले धारामा पानी हुँदैन थियो, लाइन कुरेर बस्नुपथ्र्यो।” एक गाग्री पानीका लागि आधा घण्टासम्म कुर्नुपरेको धामीले सनाए। अहिले सबैको व्यक्तिपिच्छे खानेपानी धारा, धाराबाट बचत भएको पानी तरकारी बगैँचा निर्माण गरिने भएपछि स्थानीयवासीमा खुशियाली छाएको छ। 

गाउँमा खानेपानी तथा सरसफाइमा सुधार हुने भएपछि स्थानीयवासीले जनश्रमदानमा समेत उल्लेखनीय सहभागिता देखाएको कार्यक्रमका फिल्ड संयोजक धामीले बताए। “अहिले सबै घरधुरीबाट योजना निर्माणमा सहभागिता उल्लेखनीय छ”, धामीले भने। खानेपानी योजना आगामी २०७८ जेठमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ। -रासस
 

कमेन्ट लोड गर्नुस