सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङमा जलविद्युत आयोजना सम्पन्न भएको एक वर्षसम्म पनि कामदारले ज्याला पाएनन्

२०७६ चैत्र ३, ०२:५२ डीवि विष्ट

बझाङ: बझाङको दुर्गम साईपाल गाउँपालिका वडा नम्बर ३ मा निर्माण भएको थरौनि घाँटखोला लघुु जलविद्युत आयोजना सम्पन्न भएको एकवर्ष पुग्न लाग्दा समेत त्यहाँका कामदारहरुले काम गरेको ज्याला नपाएको गुनासो गरेका छन्। 

आयोजना सम्पन्न भएसँगै यहाँका काया, काँडा, बाँझ चौका लगायका झण्डै १२० घरमा विद्युत बलेको छ। तर सो आयोजना निमार्ण सम्पन्न गराउन मिहेनत खर्चेकाहरुले हालसम्म ज्याला पाएका छैनन्। 

दुई करोड १० लाख लागतमा सम्पन्न भएको ११ किलोवाट क्षमताको लघु जलविद्युत आयोजनामा उपभोक्त समितीले रकम हिना मिना गरेको स्थानीयले आरोप लगाएका छन्। एक जना व्यक्तिले झण्डै ७० देखि ८० दिनसम्म काम गरेको भएपनि यहाँका झण्डै एक सय जनाभन्दा बढी मजदुरहरुले रकम नपाएको गुनासो उनीहरुको छ। उनीहरुले झण्डै ३० देखी ४० लाख रुपैया रकम पाएका छैनन्। 

आफूले प्रति दिन पाँच सयका दरले ७० दिन काम गरेको बताउदै कृष्ण बोहराले अहिलेसम्म एक पैसा नपाएको गुनासो गरे।  यस्तै धनलाल बोहराले ५५ दिन काम गरेको झण्डै २७ हजार पाँच सय लिन बाँकि रहेको बताएका छन्।  

त्यस्तै सोही आयोजनामा काम गरेका धनबिरे बोहराको झण्डै ३८ हजार रुपैया लिन बाँकि छ। रकमका लागि गाउँपालिका र वडामा आफुहरुले गुनासो गरेको भएपनि सरोकारवाला निकायले चाँसो नदिएको उनको आरोप छ। २ करोड भन्दाबढी रकम कहाँ कसरी खर्च गर्यो आफूहरुलाई अहिलेसम्म कुनै पनि जानकारी नगराएको उनीहरुले बताएका छन्।  

प्रत्येक घरबाट दुई हजारका दरले चन्दा संकलन गरिएको झण्डै २ लाख तिस हजार, तत्कालिन जिल्ला विकास समितीबाट  ५ लाख, काँडा गाविसबाट १२ लाख, पश्चिम उच्च पहाडि गरिवि निवारण कोषबाट ५ लाख, प्रदेश सरकारबाट ४५ लाख र साईपाल गाँउपालिकाको एक करोड ४३ लाखको लागतमा लघुु जलविद्युत निर्माण आयोजना सम्पन्न भएको हो। 

के भन्छ उपभोक्ता समिति?
थरौनि घाँटखोला लघुु जलविद्युत आयोजनाको उपभोक्त समितिको नाममा उल्टै झण्डै २८ लाख बेरुजु रहेको छ। बेरुजु आएकाबारे सामान्य जानकारी भए पनि के कती कारणले बेरुजु आएको हो भन्नेबारे आफु अन्यौलमा रहेको उपभोक्ता समितिका अध्यक्ष मानबहादुर बोहराले बताए। 

साथै उनले रकम अभाव भएकै कारण कामदारको ज्याला दिन नसकिएको बताएका छन्। गाउँपालिकाले रकम निकासा गरेकापछि मात्रै कामदारले रकम पाउने भएको र समितिसँग अहिले रकम नभएको बोहराले स्पष्ट पारेका छन्।  

डीवि विष्ट दिनेश एफएमका बझाङ संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस