सुदूर नेपाललाई विश्वसँग जोड्दै

कोरोनाको संक्रमणबाट बच्न समान्य किनमेलका लागी सीमावर्ती बजार नजान आग्रह

२०७६ चैत्र ३, ०७:२४ रोशन भट्ट

विश्व व्यापी महामारीको रुपमा देखा परेको कोरोनाको संक्रमणबाट जोगिन समान्य किनमेलका लागि सीमावर्ती भारतीय बजारमा जानेहरुलाई समेत रोक लगाउन आग्रह गरिएको छ। कोरोना छिमेकी भारतमा समेत फैलिसकेका बेला सीमा नाकामा कडाई नगरिएको भन्दै गम्भीर बन्न आग्रह गरिएको हो। अहिले पनि कैलाली कञ्चनपुरका सीमा नाकामा निर्वाध रुपमा आवागमन जारी रहेपछि यसतर्फ स्थानीय प्रशासनले गम्भीर बन्दै सोही अनुसारका प्रबन्ध मिलाउनुपर्ने धनगढीका आरयन सेखले बताए।

सीमावर्ती बजारमा समान्य दैनिक उपभोग्य वस्तु किनमेलका लागि गईरहेकाले संक्रमण फैलिन सक्ने तर्फ सजग बन्नुपर्ने सेखको भनाई छ। ‘कोरोनाको जोखिमलाई मध्यनजर गरी केही समयका लागि भारतीय सीमा बजार नजान आग्रह सबैलाई आग्रह गर्दछु।’ उनले भने, ‘सिमापारीका बजारमा केही सस्तो हुने गरेको भएपनि थोरै समयको लागि नजानु नै राम्रो हुन्छ।’ भारतले विश्वका सबै देशका नागरिकलाई आफ्नो देशको भ्रमणमा अस्थायी प्रतिबन्ध लगाउँदा समेत नेपाल र भूटानका नागरिकलाई मात्र आवतजावत खुला राखेको छ।

त्यसमाथी सीमावर्ती नेपाली नागरिकको बजार भनेको नै भारतीय बजार हुन्। नेपालमा महंगोमा किन्नु भन्दा भारतीय बजारमा नै गएर किन्दा सस्तो हुने मनसाय यस क्षेत्रका स्थानीयको छ। तरपनि केही समयको लागि महङ्गो भएपनि सिमा बजारमा समान खरिद गर्न नजान आग्रह अर्का स्थानीय अभिसेक रिमाल जोशीले बताए। ‘स्थानीय प्रशासनले यसमा कडाईका साथ लागेको देखिन्न’, उनले भने, ‘केही समयका लागि भएपनि आंशिक रुपमा सिमा नै बन्द गर्नु पर्छ।’ अहिले सीमानाकामा स्थापना गरिएका स्वास्थ्य सहायता कक्ष पनि प्रभावकारी हुन सकेका छैनन्।

जनशक्ति अभावको कारण देखाउदै सरोकारवाला निकाय यस विषयमा उदासिन देखिएका छन्। तर यस क्षेत्रका नागरिकहरु दैनिक जसो सयौँको संख्यामा उपभोग्य समान खरिद गर्न भारतिय सीमा बजारमा जाने गरेका छन्। त्यसकारण पनि कोरोनाको जोखिम बढ्दै गएको छ। स्थानीय प्रशासनले पनि सीमा नाकाका बजारमा नजान यस क्षेत्रका स्थानीयलाई आग्रह गरेको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले समान्य किनमेलका लागि भारतिय सीमावार्ती बजारमा नजान कैलाली वासीलाई आग्रह गरेका छन्।

कैलालीको गौरीफण्टा र कञ्चनपुरको गड्डाचौकी नाकाबाट हुने आवतजावतलाई आंशिक रुपमा बन्द गर्न स्थानीय प्रशासन संग माग गरिएको छ। सुरुवात देखिनै सतकर्ता अपनाउन सके कोरोनाको जोखिमबाट बच्न सकिने विश्वास लिईएको छ। यो समाचार तयार पार्दा सम्म विश्वभरी कोरोना भाईरसका कारण ६ हजार पाँच सय १५ जनाको मृत्यु भईरहेको भने एक लाख ६७ हजार पाँच सय १५ जनामा संक्रमण देखिएको छ।

यस्तै कोरोनाको संक्रमण देखिएका मध्ये ७७ हजार ७ सय ५३ जनालाई सन्चो भईसकेको छ। छिमेकी मुलुक भारतपनि कोरोनाकै कारण दुई जनाको मृत्यु भईसकेको छ भने एक सय १२ जनामा संक्रमण देखिएको छ।

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस