सुदूर नेपाललाई विश्वसँग जोड्दै

डडेल्धुरा र बझाङमा औद्योगिक सर्वेक्षण हुँदै

२०७६ चैत्र १, ०२:३५ खबर संवाददाता

डडेल्धुरा: ‘राष्ट्रिय औद्योगिक सर्वेक्षण, २०७६’ सुरु भएको छ। शुक्रबार तथ्यांक कार्यालय, डडेल्धुराले जिल्ला सदरमुकाममा आयोजना गरेको राष्ट्रिय औद्योगिक सर्वेक्षणसम्बन्धी जिल्लास्तरीय सचेतना गोष्ठीमा औद्योगिक सर्वेक्षण सुरु भएको जानकारी दिएको हो।

फागुनको दोस्रो साताबाट ‘राष्ट्रिय औद्योगिक सर्वेक्षण सुरु भएको हो। सचेतना कार्यक्रममा तथ्यांक कार्यालय, डडेल्धुराका प्रमुख तथ्यांक अधिकृत चन्द्रबहादुर पालले राष्ट्रिय औद्योगिक सर्वेक्षणको ऐतिहासिक पृष्ठभूमी, औद्योगिक सर्वेक्षणका मूख्य उद्देश्य, सर्वेक्षण विशिष्ट उद्देश्यलगायतका विषयमा प्रकाश पारेका थिए।

सर्वेक्षण प्रत्येक दश वर्षको अन्तरालमा हुँदै आएकोमा यसपटकको सर्वेक्षण विगतभन्दा पृथक एवं विशेष हुने प्रमुख तथ्यांक अधिकृत पालले बताए। तथ्यांक कार्यालय, डडेल्धुराले डडेल्धुरा र बझाङ औद्योगिक सर्वेक्षण गरिरहेको छ।

डडेल्धुरामा ६५ वटा र बझाङमा ८५ गरी १५० वटा सर्वेक्षणमा परेका उद्योग प्रतिष्ठानहरू रहेका छन्। प्रमुख पालकाअनुसार दशभन्दा बढी कामदार भएको उद्योगको गणना हुनेछ भने सोभन्दा कम कामदार भएका उद्योगको सर्वेक्षण हुनेछ। सर्वेक्षणका लागि २ जना गणकलाई खटाइएको छ।

कमेन्ट लोड गर्नुस