सुदूर नेपाललाई विश्वसँग जोड्दै

पर्यटन मन्त्रालय मातहतका कामलाई प्रभावकारी बनाउन निर्देशन

२०७६ फाल्गुन ३०, १०:३६

संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्रालयले मातहत निकायका कामलाई प्रभावकारी र परिणाममुखी बनाउन निर्देशन दिएको छ। मन्त्रालयअन्तर्गतका नेपाल नागरिक उड्डयन प्राधिकरण, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, प्रतिष्ठान, कोष, सङ्ग्रहालय र विकास समितिका उच्च अधिकारीसँगको छलफलमा सञ्चालित आयोजनाको समीक्षा गर्दै भावी रणनीति बनाउन आयोजित उच्चस्तरीय कार्यशाला गोष्ठीमा सो निर्देशन दिइएको हो।

नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान (नाथम) मा सम्पन्न दुईदिने गोष्ठीमा मन्त्रालय र सम्बन्धित निकायले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रम र मन्त्रालयको प्राथमिकतायुक्त कार्यक्रमको हालसम्म्को प्रगतिबारे प्रस्तुतिका साथै आगामी आर्थिक वर्षसहित तीन वर्षको बजेट तथा कार्यक्रममा समावेश हुनुपर्ने विषयको अवधारणा प्रस्तुत गरिएको पर्यटन मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ।

गोष्ठीको पहिलो दिन मन्त्रालय र नागरिक उड्डयन क्षेत्रको प्रस्तुति थियो भने आज दोस्रो दिन नागरिक उड्डयन र पूर्वाधार विकासका छुट्टाछुट्टै समूह विभाजन गरी उक्त क्षेत्रको विकासका लागि अवलम्बन गर्नुपर्ने नीति, योजना, कार्यक्रम, बजेट, अन्तर निकाय समन्वय र नतिजा खाकाको प्रस्तुति गरिएको मन्त्रालयका सहप्रवक्ता प्रकाश शर्मा ढकालले जानकारी दिए।

तीन वर्षको भावी कार्यक्रम, तीन तहका सरकारको साझेदारीको खाका, अन्तरनिकाय समन्वय, पर्यटन क्षेत्रको पुनरूत्थान योजना, नेपाल वायुसेवा निगम र उड्डयन क्षेत्रको सुधार, वैदेशिक लगानी, जनशक्ति विकास, चालु परियोजनाको कार्यप्रगति लगायतका विषयमा गहन अन्तरक्रिया र पृष्ठपोषणमार्फत कार्यान्वयन योजना तयार गरिएको छ।

कार्यक्रममा पर्यटनमन्त्री योगेशकुमार भट्टराईले हरेक राजनैतिक परिवर्तनपश्चात जनताको विकास र समृद्धिप्रतिको तीव्र अपेक्षा रहने हुँदा जनअपेक्षा सम्बोधन हुने गरी मन्त्रालय र अन्तर्गतका नीति, कार्यक्रम तय हुनुपर्ने र कार्यसम्पादनलाई नतिजामुखी बनाउनेतर्फ उन्मुख रहन निर्देशन दिए। उनले नेपालको पर्यटन क्षेत्रको प्रमुख आधार तथा ग्रामीण जनताको आवतजावतको संवैधानिक हकको सुनिश्चितताका लागि नागरिक उड्डयन क्षेत्रको विकास गरिनुपर्ने बताए।

पर्यटन क्षेत्रका नवीन आयामलाई अवलम्बन गर्दै यस क्षेत्रको लाभ जनस्तरसम्म लैजाने गरी पर्यटन क्षेत्रको दिगो विकास गर्नुपर्ने तथा ऐतिहासिक, सांस्कृतिक एवं पुरातात्विक सम्पदाहरूको संरक्षण, संवद्र्धन र प्रवद्र्धन गरी पन्धौँ योजनाको लक्ष्य हासिल गर्दै समृद्ध नेपाल र सुखी नेपाली अभियानमा यस क्षेत्रको भूमिका उल्लेखनीय रूपमा वृद्धि गर्नुपर्नेमा उनको जोड थियो।

नेपालमा प्रचुर सम्भावना रहेको पर्यटनको लाभ जनस्तरसम्म लैजान तीन तहका सरकार तथा निजी क्षेत्र समेतको साझेदारीमा नतिजामुखी ढङ्गले कार्यसम्पादन गर्नेतर्फ सबै निकायका कार्यक्रम केन्द्रित रहनुपर्ने मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले बताए।–रासस
 

कमेन्ट लोड गर्नुस