सुदूर नेपाललाई विश्वसँग जोड्दै

बैतडीको पकेट क्षेत्रमै रोगले केरा नष्ट

२०७६ फाल्गुन ३०, ०२:१४

बैतडी: केरा पकेट क्षेत्रमै रोगले केरा नष्ट हुँदा बैतडीका किसान चिन्तित बनेका छन्। रोगले केराका बोट सुक्न थालेपछि केराबाट जीविकोपार्जन गरिरहेका जिल्लाको दोगडाकेदार गाउँपालिका र दशरथचन्द नगरपालिकाका विभिन्न स्थानका किसान मारमा परेका छन्। दोगडाकेदार गाउँपालिकाको सौगाउ, धारिगाड, बिन्सेरी, ढुङ्गेपानी बजगाउँ, खम्तोला, भन्डारीगाड, पिपलकोट, खेती गाउँ, कपिन्ना, खिरेगाउँलगायतका क्षेत्रमा केरामा रोग देखिएपछि किसान समस्यामा परेका हुन्। 

केराबाटै वार्षिक ५० हजार बढी आम्दानी हुने भए पनि पछिल्लो दुई वर्षयता केराका बोट सुक्दै गएपछि समस्या भएको किसान धनीदत्त भट्टले बताए। घरखर्च चलाउन केराखेतीबाटै भइरहेको भए पनि पछिल्लो समयमा केराको बोट सुक्ने, केराका पात पहेँलो हुनेलगायतका रोगले केराखेती नष्ट भएको भट्टको दुखेसो छ।  

केराखेतीका लागि पकेट क्षेत्र मानिएका यी गाउँमा केराका बोट सुक्दै गएका किसानले बताएका छन्। केराको बारी सबै नष्ट हुँदै गएको किसान रामदत्त भट्टले बताए। केराको बोट पहेँलो हुने, केरामा फल लाग्ने बित्तिकै बोट सुक्नेलगायतका रोगका कारण केराखेती नष्ट भएको उनले बताए। केरामा लागेको रोग अहिलेसम्म पत्ता लाग्न नसकेको स्थानीय घनश्याम भट्टले जानकारी दिए। 

यस्तै दशरथचन्द नगरपालिका–६ गाँजरी, फर्तोला, गरुडी, तितरा गाउँलगायतका क्षेत्रमा पनि केराखेती नष्ट भएको किसानले बताएका छन्। बोट सुक्ने रोगकै कारण केराखेती नष्ट भएका कृषि ज्ञान केन्द्रका निमित्त प्रमुख कर्णबहादुर चन्दले बताए।

उनले भने, “एकै जातको केरा धेरै वर्ष भएपछि केरामा रोग लागेको हुनसक्छ।” किसानले केराको नयाँ जात रोप्न नसक्दा समस्या भएको उनको भनाइ छ। रोगले केरा नष्ट भएको ठाउँमा नयाँ जातको केरा लगाउन कृषि प्राविधिकले सुझाव दिएका छन्। –रासस

कमेन्ट लोड गर्नुस