सुदूर नेपाललाई विश्वसँग जोड्दै

आलु उत्पादन बढेपछि महिला हौसिए

२०७६ फाल्गुन २६, ०२:१८

पाल्पाको रामपुरका महिलालाई यतिबेला आलु बिक्री गर्न भ्याइनभ्याइ छ। उनीहरु समूहमा लगाएको आलु धेरै फलेपछि औधी खुशी भएका छन्। खेतबाटै धमाधम आलु बिक्री भएपछि थप उत्साहित बनेका छन्। घरायसी प्रयोजनका लागि मात्र आलु लगाउँदै आएका यहाँका कृषक समूहमा मिलेर विगत तीन वर्षयता सो खेती गर्दै आएका छन्।

यो वर्ष अघिल्ला वर्षको तुलनामा आलु उत्पादन बढेपछि व्यवसायमा हौसला मिलेको नदी किनार आयआर्जन महिला कृषक समूहका अध्यक्ष भगवती देवकोटाले बताइन् । समूहले यस वर्ष करिब नौ रोपनी जग्गामा आलु लगाएको हो। वडा कार्यालयको सहयोगमा लगाइएको पाँच क्विन्टल आलुबाट ४० क्विन्टल आलु उत्पादन भएको समूहका सचिव सीता देवकोटाले जानकारी दिइन्। “यसवर्ष अघिल्ला वर्षको तुलनामा आलु उत्पादन बढेको छ, आलु बिक्रीबाटै समूहले रु एक लाख बराबरको आम्दानी गरेको छ”, उनले भनिन्। खेतबाटै आलु बिक्री हँुदा अन्यत्र बेच्न जानुपर्ने झन्झट नभएको उनको भनाइ छ।

कृषि शाखा कार्यालयबाट आलु लगाउने प्रविधिसम्बन्धी सेवा प्रदान गरेको थियो। कृषकले बेलाबेलामा प्राविधिकसँग परामर्श लिने गरेकाले उत्पादन राम्रो भएको नगरपालिकाका कृषि शाखा प्रमुख रामहरि पाण्डेयले बताए। “कृषकले उत्पादन बढाउन प्राविधिकसँग सोधपुछ गर्ने, खेतबारीमा बाली अवलोकन गर्न बोलाउने र सामान्य समस्या परेमा प्राविधिकलाई खबर गरेका कारण पनि उत्पादनमा वृद्धि आएको छ”, उनले भने।

रामपुर नगरपालिका–६ को कार्यालयले यस वर्ष सो खेतीलाई प्रवद्र्धन गर्दै कृषकको मागको आधारमा १५० रोपनी क्षेत्रफलमा करिब ६० क्विन्टल जनकदेव जातको आलुको बीउ अनुदानमा वितरण गरेको वडाध्यक्ष हुमनाथ न्यौपानेले जानकारी दिए। “आलुखेतीबाट रामपुरलाई आत्मनिर्भर बनाउन एक वडा एक उत्पादन कार्यक्रमअन्तर्गत वडा नं ६ लाई पकेट क्षेत्र निर्धारण गरी आलु उत्पादनलाई जोड दिएका हौँ”, उनले भने। कृषकले उत्पादन गरेको आलुले बजार नपाएमा शीतभण्डारण गर्ने व्यवस्था पनि वडा कार्यालयबाट मिलाइएको जनाएको छ।

तालपोखरा कृषक समूहले तीन क्विन्टल आलुबाट रु ६० हजारको आम्दानी गर्न सफल भएको समूहका अध्यक्ष मित्रा ढकाल बताउछन्। “समूहका छ महिला मिलेर आलु लगाएका हौँ, घरायसी प्रयोजनका लागि राखेर खर्च कटाएर रु ६० हजारको आलुबाट आम्दानी लिइयो, आलुखेतीमा आबद्ध छ जनाले रु १०/१० हजार लिइयो”, उनले भने।

पाँच रोपनीमा साढे तीन क्विन्टल बीउ लगाएको कँडेलबारी कृषक समूहले करिब ३० क्विन्टल आलु बिक्री गरी  ८० हजार बराबरको आम्दानी लिएको सदस्य हुमा देवकोटाले बताए। सामूहिक आलुखेतीले महिलालाई आयआर्जनतर्फ आकर्षित बनाएको छ। साढे दुई रोपनी क्षेत्रफलमा साढे एक क्विन्टल आलु लगाएको कालीआँप कृषक समूहले करिब २२ हजार बराबरको आलु बिक्री गर्न सफल भएको अध्यक्ष दुर्गा पौडेल बताउछन्। यहाँ लगाइएको आलु प्रतिकिलो रु ३० देखि ३५ सम्ममा खेतबाटै धमाधम बिक्री भइरहेको छ। व्यापारी तथा ग्राहक खेतमै पुगेर आलु खरिद गर्न थालेपछि आलुखेतीमा कृषकको आकर्षण बढेको छ।

बिक्रीका लागि बजार धाउन नपरेपछि अर्को वर्ष आलुखेतीलाई बढाउने महिला बताउँछन्। रामपुर नगरपालिकाका सबैजसो क्षेत्र आलुका लागि राम्रो छ। आलु बिक्रीका लागि बजार सहज, झट्ट नकुहिने, मूल्य राम्रै पाएपछि समूहमा कृषकले आलु लगाउन शुरु गरेका हुन्। रामपुर नगरपालिका क्षेत्रमा करिब दर्जन बढी समूहले सामूहिकरूपमा आलु लगाउँदै आएका छन्। नगरको एक वडा एक उत्पादन कार्यक्रमले बाहिरबाट रामपुर बजारमा भित्रने आलुलाई कम गर्न आलु उत्पादनमा जोड दिइएको हो। -रासस

कमेन्ट लोड गर्नुस