Covid-19(Coronavirus) update
World Nepal
Confirmed
Recovered
Deaths

एउटा सिपाहीको देशप्रेम

२०७६ फाल्गुन २५, ०३:४२
अ+

मदन भट्ट

राष्ट्रियता र देशप्रेम पछिल्लो समय विश्वका अधिकतम देशहरुका राजनीतिक नेता तथा कार्यकर्ताहरुको लागि चुनाव जित्ने र संगठन मजबुत बनाउने अस्त्र बन्न पुगेको छ। र यही परिपेक्षमा राष्ट्रियता शब्दको अर्थ देश र भुगोल पिच्छे फरकफरक अर्थमा परिभाषित गर्ने गरिएको छ। फरकफरक कोणबाट बुझ्ने गरिएको छ। के हो राष्ट्रियता? कस्ता हुन्छन सच्चा देशभक्त? को हो सच्चा राष्ट्रवादी? हामी नेपालीहरुकै उदाहरण लिऔ, देशको लागि हाँसीहाँसी फाँसिको फन्दामा चढने धर्मभक्त देशप्रेमले उम्लिरहेको छातीमा तातोतातो गोलि थाप्ने गंगालाल अनि दशरथ चन्द। मर्ने पक्का हुँदाहुदैपनि नालापानी किल्लामा रातदिन खालीपेट अँग्रेजहरुसँग लडने तर आत्मसमर्पण गर्न नमान्ने अमरसिंह थापाहरु देशभक्त कि केही हुल हुलायाहाहरुलाई अगाडि पछाडी लगाएर भारतको सिमामा लट्ठी र खुकुरि हल्लाएर नारा लगाउँदै  मार्चपास गरेर आडम्बरी राष्ट्रवाद देखाउन खोज्नेहरु राष्ट्रवादी?  

गरिबहरुको मुक्तिको लागि भोकभोकै लडेर भारत र नेपालका संयुक्त सेनासँग टाउको कटाउन मन्जुर हुने भिमदत्त पन्त रास्ट्रवादी कि शुरुङ्ग  युद्धको नाटक गरेर गरिब थारुहरु र सोझा मगरहरुको छातीमा परेड खेल्ने कामरेडहरु राष्ट्रवादी? अब त हरेक महिना ढाकाटोपी खल्तिमा लुकाएर भारतिय एजेन्सी ‘रअ’ सामुन्ने तलब बुझ्नजाने गद्दारहरु पनि राष्ट्रवादी। भुकम्पमा अनुदान आएको चामल र जस्तापातासम्म भ्रष्ट्राचार गरेर  खुल्लामञ्चमा आफूलाइ सबैभन्दा ठूलो राष्ट्रप्रेमी भएको नारा घन्काउनेहरुपिन राष्ट्रवादी। गरिब नेपालीहरुको पसिनामा लुट मच्चाएर पिर्के सलामी लिँदै राष्ट्रिय झण्डा बोकेर रन्किने कालो शिसावाला कालो गाडीमा हुइकिनेहरु पनि राष्ट्रवादी। नाकाबन्दीको बेला पेट्रोल डिजलको कालोबजारी गरेर सामान्य नागरिकको जीवन तहसनहस गर्नेदेखि कोरोना भाइरसले पृथ्वीबाट मानव सभ्यताकौ विनाश गर्छकी भनेर संत्रास छाएको बेला राष्ट्रलाई आफ्नो आफ्नो स्थानबाट सहयोग गर्नको साटो मास्क र औषधि समेत लुकाएर कालोबजारी गर्ने अनि भारतीय सिनेमा हेर्न सिनेमाघर पुग्दा राष्ट्रगानको अगाडी तनक्क तन्किदै आफुलाइ ठूलो राष्ट्रवादी सम्झेर आत्मरतीमा रमाउने हामी सबै राष्ट्रवादी, हामी सबै देशप्रेमी।

हुँदाहुँदा पराय देशसँग मिलेर आफ्नै देशमा नाकाबन्दी लगाउने, पराइको भुमिबाट आफ्नो भुमिका सुरक्षाकर्मीमाथी गोलि र ढुङाप्रहार गर्ने छाती फुलाउदै नागरिकताको एकथान प्रतिलिपी देखाएर आफुलाइ ठूलो देशभक्त, धरतिपुत्र नेपाली प्रमाणीत गर्नेहरु हामी सबै राष्ट्रवादी। हाम्रो मात्र के कुरा, गान्धी जन्मेको देशमा अहिंसाको नारा लगाएर फरक जात र सम्प्रदायका नागरिकहरुको विभत्स सामुहिक हत्या गर्नेहरु राष्ट्रवादी। मास लिचिङ्गका घटना घटाएर मुसलमानहरुलाई जिउँदै जलाउनेहरु, जय श्री रामको नारा घन्काउदै  मुसलमानहरुको घरमा आगो लगाएर कुटिल हाँसो हास्दै हिन्दुत्व अनि देशप्रेमको भाषण ठोक्ने र भाजपाका भारतिय कार्यकर्ताहरु सबै राष्ट्रप्रेमी।  रोहग्या मुसलमानहरुको डढिरहेको बस्ती र बलात्कृत महिलाहरुको अनुहारमा आफ्नो देशप्रेम देख्ने म्यान्मारका बौद्धिस्टहरु राष्ट्रप्रेमी। एसियन अफ्रिकनहरुमाथी हिंसा गरेर गर्व महसुस गर्ने अमेरिकनहरु राष्ट्रवादी। पाकिस्तान, बङ्गलादेशमा अल्पसंख्यक हिन्दुहरुको मन्दिर भत्काएर जिउँदै जलाउने कट्टरपन्थी मुसलमानहरु राष्ट्रवादी।

आखिर के हो राष्ट्रियता? के हो देशप्रेम? कसलाई भन्छन वास्तविक राष्ट्रवादी? म तपाईंहरुलाइ लगभग ७५ वर्ष पछाडिको इतिहासमा लगेर जान्छु सायद योभन्दा ठुलो राष्ट्रभक्ती र देशप्रेम र राष्ट्रवादी सपुतको उदाहरण संसारले अर्को देखेको छैन होला।  द्वितीय विश्वयुद्द आफ्नो उत्कर्समा पुगेको बेला डिसेम्बर १९४४ को एक अत्यन्तै चिसो रात जब जापानी सैनिकहरु रसियन, अँग्रेज र अमेरिकन सेनाहरुको भिषण घेराबन्दीमा परे त्यतिबेला जापानी सैनिक कमाण्डर मेजर येसुमि तानीगुची जसोतसो आफ्ना बाँचेका २० जना सैनिकलाई जोगाउदै फिलिपिन्सको लुबाङ्ग द्विपको घनघोर जंगलभित्र प्रवेश गर्न सफल भए। र आफु फर्किनेबेला आफ्ना सैनिकहरुलाइ एउटा आदेश दिए– ‘जिउदो रहुन्जेल लडनु, कदापी आत्मसमर्पण नगर्नु, आत्महत्या नगर्नु, युद्ध जतिपनि लम्बिन सक्छ लडिरहनु। अन्न सकिए कन्दमुल खानु र जबसम्म म आदेश दिन्न यो टापुबाट बाहिर न निस्किनु र दुश्मनका सूचना संकलन गरिरहनु।’

दुश्मन सेना नजिकै आइसकेको थियो। जापानी सैनिकहरु ४/४ जनाको समुहमा जंगलभित्र छरिए। दुवै पक्षबिच भिषण भिडन्त भयो र २० जनामध्ये १७ जना जापानी सैनिकहरु मारिए। अनि बचेका ३ जना सैनिकहरु साथमा लिएर सेकेन्ड  अफिसर हिरो ओनोडा अझ भित्री घनघोर जंगलभित्र प्रवेश गरे। फिलिपिनो सैनिकहरु र अन्य सैनिकहरुले तिनिहरुलाई खोज्न लाखौं प्रयास गरे तर जंगलमा बस्दाबस्दा गुरिल्ला युद्दमा पारंगत भइसकेका ओनोडा र उसका साथीहरुलाइ मार्न त के देख्नपनि सकेनन तिनीहरुले। यता ओनोडा भने आफ्ना ३ जना साथीहरु संग मिलेर फिलिपिनो सैनिक र गाउँलेहरुको हत्या गरेर लुटेको सामानले आफ्नो जिन्दगी बचाउदै र दुश्मनका सूचना सकल गर्ने काममा लागिरहे।

समय बित्दै गयो, १९४५ को एक बिहान अमेरिकाले जापानको हिरोसिमा र नागासाकोमाथी परमाणु बम खसाल्यो र जापानले आत्मसमर्पण गर्यो। तर यो कुरा हजारौं कोष टाढा रहेका ओनोडा र उनका साथीहरुले सुइको सम्म पाएनन र उनिहरु लडीरहे। किनकी उनिहरुको दिमागमा कमान्डरको एउटै आदेश गुन्जिन्थ्यो ‘जबसम्म मेरो आदेश हुन्न यो टापुबाट बाहिर न निस्किनु।’ समयसमयमा ओनोडा र उनका साथीहरुको स्थानीयहरुसँग भेट हुन्थ्यो। स्थानीयहरु जापानमा परमाणु बम आक्रमण भएको र जापानले आत्मसमर्पण गरेको कुरा सुनाउथे  तर ओनोडा र उनका साथीहरु यसलाइ दुश्मनको कुनै चाल सम्झिन्थे र जापान पनि लडाइमा हारेर आत्मसमर्पण गर्नसक्छ भन्ने कुराको विश्वासनैं गर्दैन थिए। उनीहरुलाई अटुट विश्वास थियो एकदिन जापान लडाइ जित्नेछ र उनका कमान्डर उनीहरुलाई यो टापुबाट फर्किने आदेश दिनेछन्। 

यसप्रकार ७ वर्ष अझै बिते। ओनाडाका एक साथी थाकिसकेका थिए, गलिसकेका थिए।  र एकदिन उनी भागेर फिलिपिनो सैनिकहरुसँग आत्मसमर्पण गर्न पुगे। जब ओनोडाका साथी आत्मसमर्पण गरेर जापान फर्किए जापानीहरुले आफ्ना गुमनाम सेनाहरुको बारेमा थाहा पाए। जापानीहरु ओनोडाको बहादुरी अनि देशप्रेम देखेर अचम्मित  भए। त्यसपछि जापान सरकारले फिलिपिन्स सरकारको सहयोगमा ओनाडा र उनका साथीको खोजिको लागि ठूलो अभियान चलायो जंगलभरी र द्विपभरी माइकिङ्ग गरियो।जहाजबाट पर्चा छरियो र ओनोडालाइ सम्पर्कमा आउन अनुरोध गरियो तर ओनोडाले यसलाईपनि दुश्मनको चाल सम्झिए र पक्कापनी आत्मसमर्पण गरेको साथीले दुश्मन सेनालाइ खबर गरेको हुनुपर्छ भनेर बाहिर आएनन्।

मिनेट बिते, घण्टा बिते। दिन बिते अनि वर्षौ बिते। ओनोडाका एकमात्र साथीको पनि जंगलमै फिलिपिनो सेनाहरुसँग भएको भिडन्तमा मृत्युु भयो। अब ओनोडा एक्ला भए तैपनी उनले आत्मसमर्पण गरेनन। एक्लै फिलिपिनो सेनासँग भिडीरहे र जंगलको अझै भित्री भागबाट फिलिपिनो सैनिकका सूचना संकलन गरिरहे। हेर्दाहेर्दै ३० वर्ष बिते तर ओनोडाले आफ्नो विश्वास मर्न दिएनन्। उनीमा विश्वास थियो की एकदिन उनको कमान्डर आउने छ र घर फर्किने आदेश दिनेछ।  एकदिनको कुरा हो, नारिओ सुजुकी भन्ने जापानी पदयात्री युवा जसको जिन्दगीमा ३ वटा कुरा पत्ता लगाउने ठूलो धोको हुन्छ ओनोडा, पान्डा र यति। संयोगले ओनोडासँग उसको भेट हुन्छ र उसले ओनोडालाइ युद्ध समाप्त भएको देखि सबै कहानी भन्छ र जापान फर्किन आग्रह गर्छ तर ओनोडा विश्वास गर्दैन र यसलाइ पनि दुश्मनकै कुनै चाल सम्झिन्छ र आफ्नो कमान्डरले आदेश दिएमा मात्र जापान फर्किने निर्णय सुनाउँछ।

सुजुकी हैरान हुन्छ किनभने युद्ध समाप्त भएकै ३० बर्ष भइसकेको थियो र ओनोडालाई आदेश दिने कमान्डर जिउँदो हुनुको कुनै ग्यारेन्टी थिएन र जिउँदो भएपनी यत्तिका वर्षपछि पत्ता लगाउन गार्हो थियो। भारी मन लिएर सुजिकी जापान फर्कियो र वर्षौको प्रयासपछि तत्कालीन कमान्डर येनुसी तानागुचीलाई सँग लिएर त्यही जङ्गल फर्कियो।  ओनोडा आफ्नो कमान्डरलाई सामुन्ने देखेर भावुक भयो अनि सलाम ठोकेर हतियार बिसाउदै भक्कानिएर रोयो अनि बिस्तारै उनीहरु सँगै आफ्नो देश जापान तिर पाइला चाल्यो। आखिर उसको पनि जिन्दगी थियो, उसका पनि सपना थिए, एउटा घनघोर जँगलमा उसले आफ्नो कल्कलाउदो जवानी रित्यायो। जिन्दगी का अमुल्य ३० वर्ष रित्यायो तर उ उदास भएन किनभने उसले राम्रो नराम्रो जे गरेको थियो आफ्नो माटोको लागि गरेको थियो। आफ्नो देशको लागि गरेको थियो। यो सत्य घटना तपाईहरुलाई सुनाउन पाउँदा म आफै भावुक बनेको छु र विश्वास पनि गरेको छ यो घटनाले हामीहरुभित्र राष्ट्र, राष्ट्रियता अनि देशभक्तीको एउटा नयाँ परिभाषा परिभाषित गर्ने छ। खोक्रो देखावटी राष्ट्रप्रेम होइन वास्तविक राष्ट्रप्रेम र देशभक्तीको एउटन ज्वलन्त उदाहरण दिनेछ।

Skip Ad