सुदूर नेपाललाई विश्वसँग जोड्दै

स्याउका बिरुवा जोगाउनेलाई पुरस्कार !

२०७६ फाल्गुन २५, १०:०८

कृषकको जीवनस्तर सुधार गरी आत्मनिर्भर बनाउन मुड्केचुला गाउँपालिका डोल्पाले विशेष योजना सञ्चालन गरेको छ। स्याउका बिरुवा हुर्काउने कृषकलाई आर्थिक सहायतादेखि थप बिरुवा दिनेसम्मका योजना सञ्चालनमा ल्याएको छ। गाउँपालिकाले वितरण गरेका स्याउँका ५० प्रतिशत बिरुवा पहिलो वर्ष हुकाउनेलाई प्रतिबिरुवावापत  १०० दिने नीति बनाएर काम थालिएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए।

उनका अनुसार दोस्रो वर्ष प्रतिबिरुवा हुर्काएवापत ७५,  तेस्रो वर्ष ५० दिने कार्यक्रम रहेको छ। ५० प्रतिशतभन्दा तल बिरुवा हुकाउने कृषकले कुनै पनि सेवासुविधा नपाउने उनको भनाइ छ। चार वर्षपछि रोपिएका स्याउका बिरुवाले फल दिने योजनाका साथ दण्ड र पुरस्कारको व्यवस्था गरिएको हो। गाउँपालिकाले पहिलो वर्ष मुड्केचुला गाउँपालिकामा २० हजार स्याउका बिरुवा वितरण गरेको थियो। त्यस्तै दोस्रो वर्ष २५ हजार गरिसकेको छ। तेस्रो वर्ष २५ हजार बिरुवा वितरण गर्ने योजना छ। त्यस्तै गाउँपालिकाले १२ हजार ५०० टिमुरका बिरुवासमेत वितरणको तयारी छ। 

गाउँपालिकाका उपाध्यक्ष सविताकुमारी रोकायको नेतृत्वमा प्रत्येक वर्षको चैतमा अनुगमनपछि मात्र स्याउका बिरुवा हुर्काएवापत रकम झुक्तानी गर्ने कार्यक्रम हुँदै आएको छ। गाउँपालिकाले स्याउका बिरुवासँगै हुर्काएवापत पुरस्कार दिएपछि आफूहरु खुशी भएको मुड्केचुला गाउँपालिका–६ का देवबहादुर बुढाथोकीले बताए। उनले भने, “गाउँमा रहेको स्थानीय सरकारको अनुभूति राम्रोसँग भएको छ, स्याउका बिरुवा आफँै खरिद गरेर लगाउँदै आएका हामीलाई दुई वर्षदेखि गाउँपालिकाले बिरुवा दिँदै आएको छ, त्यसमा पनि राम्रो हुकाउनेलाई पुरस्कार दिँदा हामीलाई निकै जाँगर आएको छ।” 

त्यस्तै उनी जस्तै वडा नम्बर ८ ओक्टका दत्तबहादुर रोकायले भने, “पहिलो वर्ष लगाएको स्याउका बिरुवा अहिले तीन वर्ष हुनथाले, अब अर्को वर्ष फल दिन थाल्छ। स्याउ बिक्री गर्दा एकातिर आम्दानी अर्को्तिर हुर्काएवापत पैसा, जे होस् राम्रो भएको छ।” यहाँका हरेक गाउँमा कृषकका खेतबारी स्याउका बिरुवाले हरियो भएको छ। 

डोल्पा स्याउ उत्पादनका हिसाबले असाध्य राम्रो मानिन्छ। डोल्पाका स्याउ जाजरकोट, रुकुमपश्चिम हुँदै सुर्खेत र नेपालगञ्जसम्म बिक्री हुने गर्दछ। आम्दानीको राम्रो स्रोतमध्येको स्याउ यहाँका कृषकको जीवन जिउने मुख्य आधार बनाउका लागि गाउँपालिकाले यो कदम चालेको गाउँपालिकाले जनाएको छ। जमिनको वर्गीकरणका साथै हुर्कने ठाउँको आधारमा बिरुवा वितरण गरिएको छ। जाजरकोटको सिमानासँग जोडिएको मुड्केचुला गाउँपालिका तल्लो डोल्पामा पर्दछ। सडक सञ्जासँग जोडिन केही भाग मात्र बाँकी रहेको यो ठाउँ जाजरकोट, रुकुम र डोल्पाको सङ्गमस्थल त्रिवेणीबाट झण्डै चार घण्टा पैदल हिँडेपछि पुग्न सकिन्छ।

सडक सञ्जालसँग जोड्ने तयारी

सङ्घीय, प्रदेश र स्थानीय सरकारको पहलमा त्रिवेणीबाट नर्कुसम्म सडक निर्माणको काम शुरु गर्न लागिएको छ। सडक सञ्जालसँग जोडिएसँगै यहाँका कृषकले उत्पादन गरेका स्याउ तथा कृषिजन्य वस्तु सजिलै बजारसम्म पु¥याउन सकिने गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले बताए।

अहिले कृषि सडकको कामसमेत शुरु भएको छ। इलस्थित जगदुल्ला जलविद्युत् आयोजनाको विद्युत्गृह निर्माण तथा सुरुङ निर्माण गर्नुपर्ने भएकाले यस ठाउँमा सडक र विद्युत् छिटो पु¥याउनुपर्ने तीन तहका सरकारलाई दबाब छ। केन्द्रीय लाइन (३३ केभी प्रसारण लाइन) विस्तार गर्नका लागि अहिले जाजरकोटको नलगाड नगरपालिका–१० स्थित चौखामा सवस्टेशन निर्माण शुरु भइसकेको छ। यो निर्माणसँगै मुड्केचुलामा विद्युत् र सडकको काम शुरु हुने भएको छ।

यहाँ उत्पादन गरिएका वस्तुको निर्यात गर्न र विद्युत् आयोजना निर्माणका लागि सडक निर्माण शुरु भइसकेको प्रतिनिधिसभा सदस्य सत्य पहाडीले बताए। जनताको जीवनस्तर सुधार्नका लागि हामी कुनै कसुर बाँकी नराख्ने पहाडीको भनाइ छ।  रासस
 

कमेन्ट लोड गर्नुस