सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलाली र कञ्चनपुरका केरा किसानले ९ महिनासम्म पनि पाएनन् राहत

२०७६ फाल्गुन २४, ०३:५७ रोशन भट्ट

धनगढी: गत जेठमा चलेको हावाहुरीका कारण करोडौँको क्षति व्यहोरेका कैलाली–कञ्चनपुरका केरा किसानले अझै राहत र क्षतिपूर्ति पाएका छैनन्। जेठ २३ गते राती चलेको हावाहुरीका कारण कराडौको क्षति व्यहोरेका कैलाली–कञ्चनपुरका केरा किसानले ९ महिना सम्मपनि राहत नपाएका हुन्। 

उक्त समयमा किसानलाई राहत र क्षतिपूर्ति दिने घोषणा गरेका स्थानीय तहले पनि अहिलेसम्म मतलब गरेका छैनन्। किसानहरुले सुदूरपश्चिम प्रदेशको भुमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयसँगै कृषि ज्ञान केन्द्रहरुलाई पटक–पटक राहतको लागि आग्रह गर्दापनि वेवास्ता गरेको आरोप लगाएका छन्।

‘क्षतिपूर्ति माग गर्दै कृषि मन्त्रालय तथा मातहतका अन्य कार्यालयमा निवेदन दिएको भएपनि किसानहरुको अवस्था बझ्ने काम समेत हुन सकेको छैन्’ केरा किसान पुर्ण साउदले भने, ‘प्रदेश सरकारको उदासिनताका कारण अब त राहत पाउने आशा समेत मरिसक्यो।’ 

कैलाली र कञ्चनपुरमा मात्रै हावाहुरीका कारण केरा खेतीमा  भएको नोक्सानीको लागि ८ देखि ९ करोड सम्मको क्षतिपूर्ति माग गर्दै निवेदन आएको मन्त्रालयले जनाएको छ। कैलालीका ४७ भन्दाबढी र कञ्चनपुरका एक सय भन्दाबढी किसानले क्षतिपूर्ति माग गर्दै निवेदन दिएका थिए। तर क्षतिको विवरण संकलन गरिसक्दा समेत राहत वितरण गर्न मन्त्रालयले उदासिन देखिएको छ।  

प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले एक पटक अनुगमन गरेपनि वास्तविक पिडितहरुलाई छनोट गर्न ढिलाई गरिरहेको केरा किसान दिपेन्द्र थारुले बताए। ‘बजेट अभावको कारण देखाउदै मन्त्रालय पन्छिने प्रयास गरिरहेको छ’ उनले भने। 

यता प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले भने आफ्नो तर्फबाट राहत वितरणको लागि गर्नुपर्ने सबै काम पुरा गरेको दावी गरेको छ। पहिलो चरणका मापदण्डहरु निर्माणगरि कानून मन्त्रालय तथा अर्थमन्त्रालयलाई समेत पठाएको कृषि मन्त्रालयका प्रवत्ता खगेन्द्र शर्माले बताए।

‘मुख्यमन्त्रीको अध्यक्षतामा गठित प्रदेश विपद् व्यवस्थापन परिषद्मा उक्त राहत वितरणको लागि तयार पारिको विवरण तथा मापदण्ड पठाइएको छ’ उनले भने, ‘त्यसमा आवश्यक पर्ने छलफल गर्न बाँकि रहेको छ।’ 

कृषि मन्त्रालयले तयार पारेको उक्त मापदण्ड मुख्यमन्त्रीको अध्यक्षतामा गठित प्रदेश विपद् व्यवस्थापन परिषद्ले पास गरे कानून मन्त्रालयको अगुवाईमा राहत वितरण गरिने कृषि मन्त्रालयले जनाएको छ।  

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस