सुदूर नेपाललाई विश्वसँग जोड्दै

चिसापानीमा जिपलाइनको मज्जा

२०७६ फाल्गुन २३, १२:५०

योगेश रावल
कैलालीको चिसापानीस्थित कर्णाली पुल हेर्न सयौंको संख्यामा पर्यटक आउँछन्। ठूलो संख्यामा आन्तरिक पर्यटकका साथै सीमावर्ती क्षेत्रका भारतीय नागरिक समेत पुल हेर्न आउने गरेको पाइन्छ। एउटै पिल्लरमा अडिएको यो पुल एशियाकै नमूना भएको दावी गरिन्छ। कर्णाली पुलकै कारण चिसापानीमा चहलपहल बढ्न थालेपछि सरकारले पर्यटकीय क्षेत्र समेत घोषणा गरेको छ।

पछिल्लो समय चिसापानीमा पर्यटन आकर्षणका विभिन्न गतिविधिहरु भईरहेका छन्। पर्यटन प्रवद्र्धनका क्षेत्रमा लगानी समेत बढेको छ। केही व्यक्तिहरुले पर्यटकलाई लोभ्याउने खालका काम गर्न थालेका छन्। यही क्रममा चिसापानीमा जिपलाइन सेवा सुरु भएको छ। यो सुदूरपश्चिममा पहिलो हो। चिसापानी एडभेञ्चर रिसोर्टले जिपलाइन सेवा सञ्चालनमा ल्याएको हो। 

रोजगारीका क्रममा तीनवर्ष नर्वे बसेर नेपाल फर्किएका लम्कीका युवा तपेन्द्र रावलले पर्यटकलाई फरक स्वाद दिनका लागि जिपलाइन सेवा सञ्चालनमा ल्याएको बताए। उनले एक महिनाको अवधिमै जिपलाइन युवाहरुले निकै रुचाएको जानकारी दिए। करिव १० लाखको लागतमा तयार भएको जिपलाइन सेवा माघ १६ गतेबाट सञ्चालनमा ल्याईएको हो।  

‘दैनिक २०÷२५ जनाले जिपफ्लाइङ गर्दैै आएका छन्। विदाको दिनमा यो संख्या अझ धेरै हुन्छ’ उनले भने–‘यो बिल्कुलै नयाँ स्वाद हो।’ जिपलाइनका बारेमा सुनेका पर्यटकहरुले अब चिसापानीमा त्यसको प्रत्यक्ष अनुभव गर्न पाउने छन्। रिसोर्टले एक व्यक्तिलाई एक पटक जिपफ्लाइङ गरेको २०० रुपैयाँ शुल्य तोकेको छ। रिसोर्ट रहेको ठाउँबाट जिपफ्लाइङ गरेको व्यक्ति पल्लो डाँडामा गएर रोकिन्छ। 

जिपलाइन एक साहशिक मनोरञ्जनको माध्यम हो। एक ठाउँबाट अर्को ठाउँसम्म रहेको तारमा घिर्नीको सहायताले झुण्डिएर गुड्नु पर्ने हुन्छ। यसका लागि रिसोर्टले पूर्ण सुरक्षाको बन्दोबस्त गरेको रावलले जानकारी दिए। उनले पर्यटकको मनोरञ्जनका लागि थप योजना समेत रहेको बताए। कर्णाली नदी किनारमा रहेको रिसोर्टले ¥याफ्टिङ, स्विमिङ लगायतका सेवा समेत दिँदै आएको छ। 
 

कमेन्ट लोड गर्नुस