धनगढीका विद्यालय बन्द गर्ने उप-महानगरपालिकाको निर्णय, परीक्षा अनिश्चित
धनगढी : धनगढी उप महानगपालिकाले धनगढीका विद्यालय २५ गतेदेखि बन्द गर्ने निर्णय गरेको छ। विश्वका अधिकांस देशमा कोरोना भाइरस (कोभिड १९) फैलिदै गईरहेको भन्दै त्यसबाट जोगिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरिएको हो।
धनगढी उपमहानगरपालिकाद्धारा जारी विज्ञप्तीमा ‘कोरोनाको संक्रमण छिटो भन्दा छिटो मानिसमा फैलिने र फोक्सोमा सिधै संक्रमण फैलिई मानिसको मृत्यु समेत हुने गम्भिर प्रकृतिको रोग भएकाले यस संवेदनशीलताबाट जोगिनका लागि २३ गते धनगढी उप–महानगरपालिकामा बसेको सरोकारवालाहरुको बैठकले यस उप–महानगरपालिका अन्तरगत संचालित सामुदायीक तथा संस्थागत विद्यालयहरु लगायत सम्पूर्ण शिक्षण संस्थाहरुमा आधारभूत तथा विद्यालयका आन्तरिक परीक्षा लगायत पठनपाठनका सम्पूर्ण क्रियाकलापहरु अर्को सूचना नभए सम्म २५ गतेदेखि भनिए लागु हुने गरी बन्द गर्ने निर्णय गरिएको छ।’ भनिएको छ।
यो रोग स्वासप्रस्वासबाट फैलने मात्र नभै हात मिलाउँदा, नजिकै बस्दा, हिड्दा, बोल्दा समेत हावाको माध्यमबाट सर्ने हुनाले सतर्कता अपनाउन समेत उपमहानगरपालिकाले आग्रह गरेको छ। साथै कोरोना भाईरसको सम्वेदनशिलताका लागि धनगढी उप–महानगरपालिका क्षेत्रभित्र कुनैपनि किसिमका बार्षिकोत्सव, भेला, सभा, सम्मेलन, महोत्सव, उत्सवका साथै मानिसहरुको भिडाभाडमा गरिने किसिमका कार्यक्रमहरु आयोजना नगर्न पनि आग्रह गरिएको छ।