सुदूर नेपाललाई विश्वसँग जोड्दै

खाना महोत्सव सम्पन्न: ३० लाखको कारोबार, ४० हजार दर्शकद्वारा अवलोकन

२०७६ फाल्गुन २०, ०४:५० खबर संवाददाता

धनगढी: धनगढीमा भएको प्रथम सुदूरपश्चिम खाना महोत्सव–२०७६ सकिएको छ। होटल ब्यवसायी संघ कैलालीको आयोजनामा “मौलिक परम्परा, संस्कृति र प्रकृति सुदूरपश्चिमको गहना पर्यटन प्रवद्र्धन गरी आर्थिक समृद्धि ल्याउने हाम्रो चाहना” भन्ने नाराका साथ धनगढी उपमहानगरपालिका– १ स्थित खुला मञ्चमा भएको प्रथम सुदूरपश्चिम खाना महोत्सव–२०७६ मंगलबार सकिएको हो।

फागुन १४ गतेदेखि सुरु भएको महोत्सवको कार्यक्रमका प्रमुख अतिथि तथा धनगढी उपमहानगरपालिका मेयर नृप ओडले समापन गरेका छन्। होटल व्यवसायी संघ कैलालीका अध्यक्ष कलम बमको अध्यक्षतामा भएको समापन कार्यक्रमका विशिष्ठ अतिथि कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज वोहोरा रहेका थिए। 

समापन कार्यक्रममा देउडा समेत खेलिएको थियो। विभिन्न सांस्कृति कार्यक्रमसहित देउडा खेलिएको हो। देउडामा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदी लगायतको सहभागीता रहेको थियो। 

सात दिनसम्म सञ्चालन भएको खाना महोत्सव उद्देश्य अनुसार सफल भएको आयोजकको दावी रहेको छ। खाना महोत्सवमा ३० लाखभन्दा वढीको कारोवार भएको र ४० हजारभन्दा बढी दर्शकहरुले महोत्सव अवलोकन गरेको होटल व्यवसायी संघ कैलालीका सचिव आभेष चन्दले जानकारी दिए। 

सुदूरपश्चिमका सम्पूर्ण जिल्लाहरुका परम्परागत खानाका परिकारहरु, यस क्षेत्रको विशेष महत्व बोकेको तथा प्रचलित खानाका परिकारहरु र विभिन्न समुदाय तथा जातजातिका खानाका परिकारहरुलाई उनीहरुकै भेषभुषा, संस्कार र संस्कृति झल्किने गरी खाना महोत्सवमा खानका परिकारहरु खुवाईएको थियो।  “सुदूरपश्चिम प्रदेशको सबै नौ जिल्लाका परम्परागत खानाका परिकार खुआऔं ँ”, होटेल व्यवसायी संघका अध्यक्ष कलम बमले भने, “संस्कार र संस्कृति जोगाउनका लागि गरिएको खाना महोत्सव मार्फत यसक्षेत्रका खानाका परिकार देश र विदेशमा पनि प्रचार प्रसार गर्न सफल भयो। प्रदेशका स्थानीय समुदायका खानाका मीठा परिकारमा गतानी डुब्का, रोट, माणा, निसौसे, बाबर, बटुक, ढिक्री, अन्डीभात, भुबुरे लगायतका परिकारहरुको स्वाद धेरैले रुचाए।” 

महोत्सवमा २५ प्रदर्शनी स्टलहरुमा स्थानीय परिकारहरु राखिएका थिए। प्रायः सवै समुदायका परिकार र प्रदेशका नौ वटै जिल्लाका मौलिक खानाका परिकारहरुको स्वाद दिनका लागि जिल्लागत र समुदायगत रुपमा पनि खाना महोत्सवमा स्टलहरु राखिएका थिए। 

खाना महोत्सवसँगै ‘विश्व नेपाली साहित्य महोत्सव’सँगै खाना महोत्सवको आयोजना गरेर महोत्सवमा सुदूरपश्चिम प्रदेशको मौलिक खानाका परिकारले पाहुनाको स्वागत गरिएको थियो। 

‘विश्व नेपाली साहित्य महोत्सवमा सहभागी हुन आएका विभिन्न देशका पाहुनाहरुलाई खुवाउनका लागि एक हजार लिटरको भाडामा फाणो समेत पकाइएको थियो। खाना महोत्सवमा हरेक दिन बेलुका स्थानीय तथा राष्ट्रिय कलाकारहरुको विविध सांस्कृतिक कार्यक्रमहरु पनि रहेको थियो। 

परम्परागत खानपानका परिकारहरु मानव स्वास्थका लागि निकै नै लाभदायक, अर्गानिक तथा विषादीरहित छन भनेर प्रचार प्रसार गर्नु, स्थानीय स्तरमा उत्पादित अर्गानिक खाद्य वस्तुलाई उपभोग गर्ने वानीको विकास गर्नु र नयाँ पुस्तालाई मौलिक खानाका परिकारहरुको विषयका जानकारी गराउनु महोत्सवको उद्देश्य थियो।” होटल व्यवसायी संघ कैलालीका अध्यक्ष बमले भने, “परम्परागत खानपान, भेषभुषा, संस्कार र संस्कृतिसहित आएका स्टलहरु निःशुल्क प्रदान गरेर त्यसलाई बजारीकरणका लागि मदत्त मिलेको छ।’ 

महोत्सवमा एक हजार लिटरको भाडोमा फाँडो पकाउने लगायतका विभिन्न खानाका परिकारहरु पकाउने, हालसम्मकै सबैभन्दा ठूलो आकारको भक्के रोटी पकाउने, सिङ्गै खसीको वार विक्यू बनाउने, अन्र्तराष्ट्रिय स्तरका प्रशिक्षकद्धारा वार टेन्डर्स सम्बन्धी कला देखाउने लगायतका फरक र नयाँ कार्यहरु महोत्सवमा भएका थिए।

महोत्सवको माध्यमले यस क्षेत्रको परम्परागत खानपान, रहनसहन, भेषभुषा, संस्कार र संस्कृित उजागर हुनुका साथै आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गर्न र नेपाल पर्यटन भ्रमण वर्ष २०२० लाई आफ्नो लक्ष्य पूरा गर्न पूर्ण रुपमा सहयोग पुगेको अपेक्षा आयोजकको छ।

मौलिक रुपमा उद्घाटन गरेको महोत्सवलाई सफल रुपमा समापन गर्न सफल भएको होटल व्यवसायी संघ कैलालीका महासचिव केशव पाण्डेयले जानकारी दिए। 

धनगढीमा भएको पहिलो सुदूरपश्चिम खाना महोत्सवको मुख्य प्रयोजक जाउलाखेल ग्रुप अफ ईन्डष्ट्रिज रहेको थियो। त्यसैगरी प्रायोजकको रुपमा ओम ट्रेड डिपार्टमेन्टल स्टोर, होटल जलसा प्रालि, होटल सनलाईट प्रा.लि., आफ्नो घर टेम्पल रिसोर्ट प्रा.लि. रहेका थिए। 

कमेन्ट लोड गर्नुस