सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुराका दुई गाउँ, जहाँका स्थानीय बिरामी हुँदा भगवानको भरोसा पर्छन्

२०७६ फाल्गुन १७, ०२:५१ प्रकाश सिंह

बाजुरा: एक महिनादेखि ज्वरोले थलिएकी सञ्चुरा गुरुङ्ग जडिबुटिको सहारामा उपचार गरिरहेकी छन्। सामान्य सिटामोल समेत नपाएर उनी रोगसँग लडिरहेकी छन्। उनीलाई उपचारको लागी स्वास्थ्य चौकी जान डेढ दिन लाग्छ। 

त्यहाँ उपचार गर्न एक दिन। र, उपचार गरेर गाउँ फर्कन अझ डेढ दिन। यसरी ज्वरोको उपचारका लागी उनले लगभग ५ दिन खर्चनुपर्ने हुन्छ। बाजुराको गुम्बा गाउँकी उनी जस्तै अरुलाई पनि यही समस्या छ। ‘के गर्नु घरमै जडिबुटि खाने गरेको छु, स्वास्थ्यचौकी पुग्न त्यत्रो समय लाग्छ’ उनले पिडा सुनाइन।  

उनी जस्तै बाजुराको हिमाली गाउँपालिका ३ मा रहेका गुम्बा र लाम्पाटागाउँका सबै स्थानीय  भगवानको भरोसमा बाँचेका छन्। ‘बिरामी हुँदा उपचार गर्न जानका लागि उपचार गर्ने ठाँउ छैन्। बिरामी बोकेर लिने कुनै सम्भावना नै छैन्’ अर्की स्थानीय ममता कँुवरले भनीन, ‘त्यही जडिबुटिको भरमा बसेका छौ। सरकारले निःशुल्क रुपमा दिने सामान्य औषधि लिनका लागि बास बस्नुपर्ने बाध्यता छ, के गर्नु।’

जहिलै राज्यको उपेक्षामा रहेका यी दुवै गाउँ बाजुराको उत्तरी क्षेत्रका अन्तिम गाउँ हुन्। गुम्बा र लाम्पाटा गाउँवासीलाई सामान्य सिटामोल, जिवनजल लगायतका आधारभुक्त स्वास्थ्य सेवा लिन बास बस्नुपर्ने बाध्यता रहेको छ। 

गुम्बा गाउँमा २५ परिवार र लाम्पाटामा १३ परिवार बसोवास गर्दै आएका छन्। हुम्लासँग जोडिएका यी गाउँबाट गाउँपालिकाको वडा नम्बर १ मा रहेको बिच्छँया स्वास्थ्य चौकी पुग्न दुई दिन लाग्छ।  स्वास्थ्य संस्था धेरै टाढा भएकाले यहाँका स्थानीयहरु जडिबुटिको भरमा रहेको वडा सदस्य जगतबहादुर लामाले बताए। 

हालसम्म परिवार नियोजनका साधन प्रयोग गरिएनन्

स्वास्थ्य चौकी जान दुई दिन लाग्ने भएकाले अहिलेसम्म यी गाउँमा कसैले परिवार नियोजनका साधन प्रयोग गरेका छैनन्। स्वयसेविका पासाङ्ग लामाले भनिन्,‘कण्डम, पिल्स र डिपो प्रयोग तथा ल्याउन धेरै टाढा जानुपर्ने भएकाले यी गाउँमा अस्थायी साधन प्रयोग भएका छैनन्। स्थायी बन्ध्याकरण त परको कुरा हो।’ परिवार नियोजनको साधन प्रयोग नगर्ने भएकाले यहाँ रहेका एक दम्पतिले ५ देखी ११ बच्चासम्म जन्माउने गरेको उनले सुनाइन।

बालबालिकाले खोप पाएनन्

जिल्ला सदरमुकाम मार्तडीबाट ५० कोष टाढा अर्थात पैदल ५ दिन लाग्ने भएकाले लाम्पाटा र गुम्बागाउँवासीले अहिलेसम्म सरकारी सेवाको अनुभुति समेत गर्न पाएका छैनन्। 

स्थानीय इन्द्र गुरुङ भन्छीन, ‘लाम्पाटा गुम्बा गाउँभन्दा ४ घण्टा अझै टाढा छ। लाम्पाटा गाउँमा ५ वर्ष मुनिका १५ जना बालबालिका रहेका छन तर ती मध्ये कसैलेपनि अहिलेसम्म खोप लगाएका छैनन्।  गाउँका कुनै महिला सुत्केरी हुँदा खोप तथा अन्य सेवा सुविधा नपाउने गरेको उनले बताइन्। 

लाम्पाटा गाउँमा बस्ने सबै जनजाति छन्। उक्त गाउँमा वालविकास केन्द्र समेत छैन्। 
 

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस