सुदूर नेपाललाई विश्वसँग जोड्दै

मौलिक स्वादका पारखीको रोजाईमा धनगढीको खाना महोत्सव

२०७६ फाल्गुन १६, ०७:०९ खबर संवाददाता

धनगढी : होटल व्यवसायी संघ कैलालीले आयोजना गरेको सुदूरपश्चिम खाना महोत्सवमा मौलिक खानाका परिकारको स्वाद लिन पाउँदा ग्राहकहरु दंग भएका छन्। सुदूरपश्चिमका मौलिक परिकारको स्वाद चाख्न नपाएकाहरु फरक स्वाद लिन पाउँदा दंग भएका हुन्। विहीवारदेखि धनगढीको खुलामञ्चमा जारी महोत्सवमा ग्राहकहरुले फरक स्वादका मौलिक परिकार खाईरहेको होटल व्यवसायी संघका सचिव आभेष चन्दले बताए। 

देशका अन्य भागबाट आएका र विश्वका विभिन्न देशबाट आएका साहित्यकार अझ वढी मौलिक स्वादमा रमाईरहेको उनले बताए। उनका अनुसार सँगै जोडिएको परिसरमा विश्व नेपाली साहित्य महोत्सव भईरहँदा त्यसमा सहभागी हुन आएका साहित्यकार र अन्य सहभागिले फाडोलाई निकै मन पराईरहेका छन्। उनीहरुले पहिलो पटक फाडो खाँदा स्वादिष्ट लागेको प्रतिक्रिया दिईरहेका छन्। सचिव चन्दले भने, ‘सुदूरपश्चिमका सम्पूर्ण जिल्लाहरुका परम्परागत खानाका परिकारहरु, यस क्षेत्रको विशेष महत्व बोकेको तथा प्रचलित खानाका परिकारहरु र विभिन्न समुदाय तथा जातजातिका खानाका परिकारहरुलाई पाहुनाले मन पराईरहेका छन्।’

यस क्षेत्रको परम्परागत खानपानको विषयमा अध्ययन गरिरहेका ग्लोवल नेप्लिज सेफ फेडरेसनका केन्द्रिय अध्यक्ष लक्ष्मण भण्डारी लगायतको टोलीले फाडोलाई व्यवसायिकरणका लागि काम गरिरहेका छन्। ठूला तारे होटेल तथा रेष्टुरेण्टमा यसलाई समावेश गर्नका लागि त्यसका लागि आवश्यक पर्ने थप सामानहरु राखेर पनि त्यसको परिक्षण भईरहेको छ। ‘हामी फाडोलाई कसरी बजारीकरण गर्न सकिन्छ भनेर लागिरहेका छौं। त्यसकै लागि फाडो खाएर त्यसमा फिडव्याक आओस् भनेर दैनिक रुपमा ग्राहकहरुलाई खुवाईरहेका छौं।’ अध्यक्ष भण्डारीले दिनेश खवरलाई भने। 

उनले अगाडी थपे, ‘ढिडो आज आएर महँगो मुल्यमा विक्री भईरहेको छ भने फाडो किन हुदैंन्। हामीले यसलाई पनि मौलिक परिकारको रुपमा विकास गर्नुपर्छ। त्यसका लागि हामीले पनि प्रयास गरिरहेका छौं।’ धनगढीमै आएर यस क्षेत्रको परम्परागत खानपानको विषयमा अध्ययन गरिरहेको भण्डारी लगायतको टोलीले विभिन्न खानाका परिकारहरु पकाउने, हाल सम्मकै सबैभन्दा ठूलो आकारको भक्के रोटी पकाउने, सिङ्गै खसीको वार विक्यू बनाउने लगायतका फरक र नयाँ कार्यहरु पनि खाना महोत्सवमा गरिरहेको छ। 

२० फागुनसम्म संचालन हुने खाना महोत्सवमा सुदूरपश्चिम प्रदेशमा उपलब्ध परिकारका स्टलहरू राखिएका छन्। रैथाने खानाका पारखीदेखि आयातित खाना खान चाहनेहरूका लागि महोत्सवमा व्यवस्था रहेको आयोजक होटल व्यवसायी संघ कैलालीका अध्यक्ष कलम बमले बताए। 

“सुदूरपश्चिम प्रदेशको सबै नौ जिल्लाका परम्परागत खानाका परिकार पस्किएका छौँ”, होटेल व्यवसायी संघका अध्यक्ष बमले भने, “संस्कार र संस्कृति जोगाउनका लागि खाना महोत्सव सुरु गरेका हौं । प्रदेशका स्थानीय समुदायका खानाका मीठा परिकारमा गतानी डुब्का, रोट, माणा, निसौसे, बाबर, बटुक, ढिक्री, अन्डीभात, भुबुरे लगायतका परिकारहरुको स्वाद दिईरहेका छा

बमले थपे, “परम्परागत खानपान, भेषभुषा, संस्कार र संस्कृति सहित आएका स्टलहरु निःशुल्क प्रदान गरिएको छ। प्रदुषणलाई न्यूनीकरण गर्न महोत्सव क्षेत्रभित्र प्लाष्टिकजन्य वस्तुलाई निषेध गरी सम्पूर्ण खानाका परिकारहरुलाई दुना, टपरी र बोहतामा दिईरहेका छौं। यसले गर्दा वातारणीय प्रदुषण न्यूनीकरण गर्न मद्दत पुग्नेछ भने अर्को तर्फ स्थानीय स्तरमा स्थानीय स्रोत साधनको उपयोग गर्दै रोजगारीको सिर्जना हुनेछ।” 

एक सातासम्म चल्ने महोत्सवमा प्रवेश निशुल्क हुने आयोजकले जनाएको छ। धनगढीमा सुरु भएको पहिलो सुदूरपश्चिम खाना महोत्सवको मुख्य प्रयोजक जाउलाखेल ग्रुप अफ ईन्डष्ट्रिज रहेको छ। त्यसैगरी प्रायोजकको रुपमा ओम ट्रेड डिपार्टमेन्टल स्टोर, होटल जलसा प्रा.लि., होटल सनलाईट प्रा.लि., आफ्नो घर टेम्पल रिसोर्ट प्रा.लि. रहेका छन्। 

कमेन्ट लोड गर्नुस