सुदूर नेपाललाई विश्वसँग जोड्दै

धनगढीमा प्रथम सुदूरपश्चिम खाना महोत्सव शुरु

२०७६ फाल्गुन १४, ०५:५६ खबर संवाददाता

धनगढी: धनगढीमा प्रथम सुदूरपश्चिम खाना महोत्सव–२०७६ सुरु भएको छ। होटल व्यवसायी संघ कैलालीको आयोजनामा “मौलिक परम्परा, संस्कृति र प्रकृति सुदूरपश्चिमको गहना पर्यटन प्रवद्र्धन गरी आर्थिक समृद्धि ल्याउने हाम्रो चाहना” भन्ने नाराका साथ धनगढी उपमहानगरपालिका– १ स्थित खुला मञ्चमा महोत्सव शुरु भएको हो। 

खाना महोत्सवको पञ्चकन्याले नरसिंगको धुनको साथमा ९ वटा दिप प्रज्वलन गरेर उद्घाटन गरिएको हो। विभिन्न जातजातिका पञ्चकन्या, पञ्चेबाजा मध्येको एउटा सुदूरपश्चिमको मौलिक बाजा नरसिंग र सुदूरपश्चिम प्रदेशका ९ जिल्लाको प्रतिनिधित्व गर्दै ९ वटा दिप प्रज्वलन गरेर खाना महोत्सवको उद्घाटन गरिएको हो। 

प्रदेशका सबै जिल्लाको सहभागीता र प्रतिनिधित्व हुने गरी ९ वटा दिप बालेर प्रदेशमा वसोवास गर्ने सबै जातजातीलाई समेट्ने गरी पञ्चकन्याबाट संसारभरी फैलिओस् भनेर नरसिंगको रुपको साथमा मौलिक रुपमा उद्घाटन गरेको होटल व्यवसायी संघ कैलालीका महासचिव केशव पाण्डेयले बताए।  

महोत्सवमा सुदूरपश्चिमका सम्पूर्ण जिल्लाहरुका परम्परागत खाना तथा प्रचलित खानाका परिकारहरुलाई उनीहरुकै भेषभुषा, संस्कार र संस्कृति झल्किने गरी खुवाउने गरिरहेको होटेल व्यवसायी संघ कैलालीका अध्यक्ष कलम बमले बताए।  संस्कार र संस्कृति जोगाउनका लागि खाना महोत्सव सुरु गरिएको उनले बताए। ‘प्रदेशका स्थानीय समुदायका खानाका मिठा परिकारमा गतानी डुब्का, रोट, माणा, निसौसे, बाबर, बटुक, ढिक्री, अन्डीभात, भुबुरे लगायतका परिकारहरुको स्वाद दिईरहेका छौं’ उनले भने।

महोत्सवमा २५ प्रदर्शनी स्टलहरुमा स्थानीय परिकारहरु राखिएका छन्। प्रायः सबै समुदायका तथा प्रदेशका ९ वटै जिल्लाका मौलिक खानाका परिकारहरुको स्वाद लिनका लागि जिल्लागत र समुदायगत रुपमा खाना महोत्सवमा स्टलहरु राखिएका छन्। साथै विभिन्न सांस्कृतिक कार्यक्रमहरुको मनोरञ्जन पनि एकैसाथ लिन सक्ने व्यवस्था मिलाइएको छ। 

धनगढीमा बुधबारदेखि शुरु भएको ‘विश्व नेपाली साहित्य महोत्सव’ सँगै खाना महोत्सवको आयोजना गरेर महोत्सवमा सुदूरपश्चिम प्रदेशको मौलिक खानाका परिकारले पाहुनाको स्वागत गरिरहेको आयोजकले जनाएको छ। विश्व नेपाली साहित्य महोत्सव’मा सहभागी हुन आएका विभिन्न देशका पाहुनाहरुलाई खुवाउनका लागि एक हजार लिटरको भाडामा फाणो समेत पकाएर खुवाइरहेको होटल व्यवसायी संघ कैलालीका सचिव आभेष चन्दले बताए।  फागुन २० गतेसम्म सञ्चालन हुने खाना महोत्सवमा हरेक दिन बेलुका स्थानीय तथा राष्ट्रिय कलाकारहरुको विविध सांस्कृतिक कार्यक्रमहरु पनि रहनेछन भने विभिन्न प्रतियोगिताहरु पनि आयोजना गरिएछन। 

‘परम्परागत खानपानका परिकारहरु मानव स्वास्थका लागि निकै लाभदायक, अर्गानिक तथा विषादीरहित छन भनेर प्रचारप्रसार गर्नु, स्थानीय स्तरमा उत्पादित अर्गानिक खाद्य वस्तुलाई उपभोग गर्ने बानीको विकास गर्नु र नयाँ पुस्तालाई मौलिक खानाका परिकारहरुको विषयका जानकारी गराउनु महोत्सवको उद्देश्य हो।’  होटल व्यवसायी संघ कैलालीका अध्यक्ष बमले भने, ‘परम्परागत खानपान, भेषभुषा, संस्कार र संस्कृतिसहित आएका स्टलहरु निःशुल्क प्रदान गरिएको छ। प्रदुषणलाई न्यूनीकरण गर्न महोत्सव क्षेत्रभित्र प्लाष्टिकजन्य वस्तुलाई निषेध गरी सम्पूर्ण खानाका परिकारहरुलाई दुना, टपरी र बोहतामा दिइरहेका छौं। यसले गर्दा वातारणीय प्रदुषण न्यूनीकरण गर्न मद्दत पुग्नेछ भने अर्को तर्फ स्थानीय स्तरमा स्थानीय स्रोत साधनको उपयोग गर्दै रोजगारीको सिर्जना हुनेछ।’

महोत्सवमा प्रवेश निशुल्क हुने आयोजकले जनाएको छ। महोत्सवमा एक हजार लिटरको भाडोमा फाँडो पकाइने,  हालसम्मकै सबैभन्दा ठूलो आकारको भक्के रोटी पकाउने, सिङ्गै खसीको वारविक्यू बनाउने, अन्तराष्ट्रिय स्तरका प्रशिक्षकद्धारा वारटेन्डर्स सम्बन्धी कला देखाउने लगायतका फरक र नयाँ कार्यहरु महोत्सवमा भइरहेका छन्। 

महोत्सवको माध्यमले यस क्षेत्रको परम्परागत खानपान, रहन सहन, भेषभुषा, संस्कार र संस्कृित उजागर हुनुका साथै आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गर्न र नेपाल पर्यटन भ्रमण वर्ष २०२० लाई आफ्नो लक्ष्य पूरा गर्न पूर्ण रुपमा सहयोग पुग्ने अपेक्षा आयोजकले राखेका छन्। 

खाना महोत्सव संगसंगै एउटै मैदानमा सुदूरपश्चिमञ्चल साहित्य समाजको आयोजनामा विश्व नेपाली साहित्य महोत्सव आयोजना भइरहेकोले सुदुरपश्चिमको परम्परागत खानपान, रहनसहन, भेषभुषा, संस्कार र संस्कृतिको सहज रुपमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा प्रचार प्रसार हुने होटल व्यवसायी संघ कैलालीका अध्यक्ष कलम बलम बताए।  

धनगढीमा सुरु भएको पहिलो सुदुरपश्चिम खाना महोत्सवको मुख्य प्रयोजक जाउलाखेल ग्रुप अफ ईन्डष्ट्रिज रहेको छ। त्यसैगरी प्रायोजकको रुपमा ओम ट्रेड डिपार्टमेन्टल स्टोर, होटल जलसा प्रालि, होटल सनलाईट प्रालि र  आफ्नो घर टेम्पल रिसोर्ट प्रालि रहेका छन्। 

कमेन्ट लोड गर्नुस