सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङको साईपाल गाउँपालिकाका सबै वडावासीलाई फिल्टर वितरण

२०७६ फाल्गुन ११, ०७:१३ डीवि विष्ट

बझाङ : बझाङको साईपाल गाउँपालिकाले पाँचवटै वडाका सबै परिवारलाई फिल्टर वितरण गरेको छ। फोहोर खानेपानीका कारण विभिन्न प्रकारका रोगको संक्रमण रहने सम्भावना रहेको भन्दै गाउँपालिकाले प्रत्येक परिवार,  सरकारी तथा गैरसरकारी संस्थाहरुलाई एकएक फिल्टर उपलब्ध गराएको हो। 

फोहोर खानोपानीका कारण बढीजसो बालबालिका र वृद्धवृद्धाहरुमा पखाला, आँउ, हैजा, टाईफाइड लगायतका रोगको संक्रमण रहने भन्दै प्रत्येक परिवारलाई १२ लिटर बराबरको फिल्टर उपलब्ध गराएको साईपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्रबहादुर धामीले बताए।  

गाउँपालिकाभरि रहेका झण्डै ४०० भन्दा बढी परिवार, विद्यालय तथा स्वास्थ्य संस्थागरि ४ सय ५० वटा फिल्टरहरु वितरण गरेको जनाइएको छ।  ती फिल्टर खरिदगरि गाउँपालिकासम्म ल्याउन ढुवानीसहित ७ लाख खर्च भएको उनले बताए। 

गतवर्ष पनि गाउँपालिकाले सम्पुर्ण वडामा रहेका परिवारलाई एकएक फिल्टर उपलब्ध गराएको वडा नम्बर एककी महिला स्वास्थ्य स्वंयसेविका न्याउली बोहराले बताइन। 
 

डीवि विष्ट दिनेश एफएमका बझाङ संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस