किर्ते गर्ने धनगढीका व्यवसायीलाई थप ५ दिन थुनामा राख्न अनुमती
धनगढी : सरकारी छाप दस्तखत किर्तेका अभियुक्त धनगढीका औषधी व्यवसायी दुस्यन्त बस्नेतलाई थप ५ दिन थुनामा राख्न प्रहरीले अनुमती पाएको छ। जिल्ला अदालत कैलालीबाट बस्नेतमाथि अनुसन्धानका लागि तेश्रो पटक ५ दिनको म्याद थप भएको हो।
बिहिवार नै म्याद सकिएपनि दुई दिन सार्वजनिक विदा हुँदा आज मात्रै म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरिक्षक प्रकास कार्कीले बताए। तेश्रो पटक म्याद थप भएपनि अहिले सम्म बस्नेतलाई प्रहरीले आफ्नो थुनामा राख्न सकेको छैन्।
माघ २८ गते जिल्ला प्रहरी कार्यालय कैलालीमा आफै उपस्थित भएका उनी सोही दिनदेखि स्वास्थ्यमा समस्या भएको भन्दै अस्पताल भर्ना भएका छन्। उनी धनगढीको नीजि सीपी अस्पतालको क्याविन नम्वर ४ मा उपचार गराउँदै आएका छन्।
उपचारमा संग्लन डाक्टरले बस्नेतमा सुगरको समस्या रहेको तर अस्पतालमै भर्ना गरिराख्नुपर्ने कारण भने नरहेको बताउँदै आएका छन्। तर जिल्ला प्रहरी कार्यालय कैलालीले भने अस्पतालले डिस्चार्ज नदिदा बस्नेतलाई प्रहरी हिरासतमा राख्न नसकिएको जनाएको छ।