प्रजातन्त्र दिवसको अवसरमा कैलाली कारागारबाट ४ कैदी रिहा
राष्ट्रिय प्रजातन्त्र दिवसको अवसरमा कैलाली कारगारबाट चार जना कैदी जेलमुक्त भएका छन्। असल चालचलन, आचरण सुधार र ५० प्रतिशत कैद भुक्तान गरेका कैदीलाई आज रिहा गरिएको कैलाली कारगारका जेलर विरेन्द्र बोहराले दिनेश खबरलाई बताए।
बोहराका अनुसार प्रजातन्त्र दिवसको अवसरमा रिहा हुनेमा तीनजना कर्तव्य ज्यान मुद्दा र एकजना ठगी मुद्दाका रहेका छन्। कञ्चनपुरको परासन घर भई कर्तव्य ज्यान मुद्दामा सजाय भोगिरहेका बलराम भन्ने मातृका जोशी, कैलालीको लम्कीचुहा नगरपालिकाका छत्रबहादुर भण्डारी र रोल्पाकी जुनसरा पुनमगर रिहा भएको जेलर बोहराले बताए।
यस्तै ठगी मुद्दामा ६ महिना जेल सजाय तोकिएका कैलालीको बौनियाका पूर्णबहादुर विष्ट पनि जेल मुक्त भएको बोहराले बताए। उनीहरुलाई ६ महिनादेखि १२ वर्ष सम्म कैद सजाय तोकिएको थियो।
राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा २७६, फौजदारी कसुर ऐन २०७४ तथा फौजदारी कसुर नियमावली बमोजिम मन्त्रिपरिषदको सिफारिसमा उनीहरुलाई कैदबन्दी मिनाहा गरेको कैलाली कारगारले जनाएको छ।