धनगढीको एयरक्राफ्ट म्युजियम अन्यत्र सार्ने तयारी
धनगढीको एयरक्राफ्ट म्युजियमको जग्गाको सम्झौता अवधी सकिएपछि अन्यत्र सार्ने तयारी गरिएको छ। छ वर्षका लागि जग्गा लिजमा लिएर धनगढी उपमहानगरपालिकाको कबर्ड हल नजिकै २०७० सालदेखि सञ्चालनमा ल्याईएको म्युजियम सार्ने तयारी गरिएको हो।
जग्गाको लिज अवधी नथपिएपछि म्युजियमलाई अन्यत्र सारिन लागेको सञ्चालक समेत रहेका क्याप्टेन वेद उप्रेतीले बताए। उनले म्युजियमका लागि धनगढीमै अर्को ठाउँमा जग्गा खोजिरहेको भएपनि नपाउँदा अन्यत्र सार्नुपर्ने स्थिती आएको जनाए।
तर म्युजियम कता सार्ने भन्ने विषयको भने टुङ्गो लाग्न सकेको छैन्। उप्रेतीले २०७० सालमा कस्मिक एयरको ग्राउण्डेड फोकर–१०० जहाज धनगढी ल्याएर डेढ करोडको लगानीमा म्युजियम स्थापना गरेका थिए। म्युजियम सुरु भएपछि आन्तरिक तथा बाह्य पर्यटकको मुख्य रोजाईमा पर्दै आएको थियो।
विगतमा तीनदेखि साढे तीन सय जनाले दैनिक अवलोकन गर्ने म्युजियममा अहिले पनि दैनिक ६० जना अवलोकनका लागि पुग्ने गरेका छन्। म्युजियमको अवलोकन गरे वापत प्रती व्यक्ति एक सय रुपैँया निर्धारण गरिएको थियो भने विद्यार्थीको हकमा ५० प्रतिशत छुटको व्यवस्था गरिएको थियो।