सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूर पहाडवासीको नजरमा प्रदेश सरकारको दुई वर्ष : ‘सरकार कार्यकर्तामुखी भयो’

२०७६ फाल्गुन ६, ०८:०८ रोशन भट्ट

सुदूरपश्चिम प्रदेश सरकार गठन भएको दुई वर्ष पुरा हुँदापनि सुदुर पहाडका स्थानीयले जनअपेक्षा अनुसार काम गर्न नसकेको गुनासो गरेका छन्। प्रदेशका सात पहाडी जिल्लामा रहेका समस्या समाधानमा सरकार उदासिन बनेको उनीहरुले आरोप लगाएका छन्। 

सुदूरपश्चिमका पहाडी ७ जिल्लामा स्वास्थ्य सेवाका लागि परनिर्भर हुनुपर्ने समस्या विकराल छ भने सडक सुविधा नहुँदा स्वास्थ्य संस्थासम्म नपुगि ज्यान गुमाउनु पर्ने  बाध्यता ज्युँका त्युँ रहेको छ।  

गुणस्तरीय शिक्षा नपाउँदा अध्ययनकै लागि तराई झर्नुपर्ने समस्या छ भने कृषि उपजको बजारीकणका लागि पनि सास्ती भोग्नुपर्ने बाध्यता रहेको दार्चुलाका स्थानीय विरेन्द्र महराले बताए। ‘प्रदेश सरकारले प्रभावकारी काम गरेको दावी गरेपनि जनआपेक्ष अनुसार काम भएको छैन्’ उनले भने। 

सुदूर पहाडका सात जिल्लामा संञ्चालन हुने भनिएका विकास निर्माणका योजनाहरु समेत अलपत्र छन्। प्रदेशकै सम्बृद्धिसँग जोडिएको पश्चिम सेतीसँगै गौरवका सडक लगायतका अन्य योजनाहरुको निर्माण कार्य सुरु नै हुन सकेको छैन। सुरु भएका योजनाको काम पनि सुस्त रहेको डोटी उद्योग वाणिज्य संघका महासचिव दिपक खड्काले बताए।

‘राजधानी तराईमा तोकिएपछि निराश भएका पहाडी जिल्लाका वासिन्दालाई नजिक बनाउने द्रुत मार्गको योजना पनि कछुवा गतिमा छ’ उनले भने ‘प्रदेश सरकार भएको अनुभूति नै भएको छैन्।’ 

सुदूरपश्चिम प्रदेश सरकारले दुई वर्षको अवधीमा विकासे योजनामा मात्रै करोडाँै बजेट खर्च गरेको छ। तर सबै योजनाहरु कार्यकर्तामुखी हुँदा प्रभावकारीता नदेखिएको आरोप डडेल्धुराका स्थानीय जगत ऐरको छ। 

‘प्रदेश सरकारले आफ्ना कार्यकर्तालाई मात्र विकास निर्माणका योजना दिने गरेका कारण विकासले गति लिएन्’ उनले भने ‘प्रदेशलाई सम्बृद्ध बनाउन सकिने थुप्रै आधारहरु हुँदापनि सरकारले चासो दिएको छैन्।’ 

दुई वर्षको अवधीमा अफ्नो प्रभावकारिता देखाउन नसकेको प्रदेश सरकासँग अझैपनि काम गर्न तीन वर्ष बाकिँ छ। आउँदा दिनहरुमा भएकै बजेट सदुपयोग गर्न सके थुप्रै काम गर्न सकिने भन्नेमा प्रदेशवासी आशावादी छन्।
 

रोशन भट्ट दिनेश खवरका संवाददाता हुन। उनले समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस