सुदूर नेपाललाई विश्वसँग जोड्दै

बझाङ: भत्ता नदिएको भन्दै स्वास्थ्य प्रमुखलाई उपमेयरको धम्की, अनमीले छोडिन् जागिर

२०७६ फाल्गुन ६, ०७:४७ खबर संवाददाता

प्रताप ओली, बझाङ : बझाङको बुङल नगरपालिकाकी उपमेयर मिना जागरीले आफूले स्वयम्सेविकाको भत्ता नपाएको भन्दै कफलसेरी स्वास्थ्य चौकीका प्रमुख शिवराज खडायतलाई गाली गरेकी छन्। कात्र्तिक महिनामा भिटामिन 'ए' खुवाए बाफतको स्वयमसेविकालाई दिइने भत्ता नदिएको भन्दै खडायतलाई गाली गरेको अडियो सार्वजनिक भएको छ।  करिव १२ मिनेट लामो संवादमा उनले उपमेयर को हो भन्ने कुरा भेटमा चिनाई दिने धम्की दिएकी छिन्। 

कफलसेरी स्वास्थ्य चौकीका प्रमुख खडायतले मेरो कुरा सुन्नुस् भन्दै गर्दा उपमेयर जाग्रीले 'तेरो कुरा सुन्नुछैन र**का छोरा'सम्म भन्न भ्याएकी छन्। सबै स्वयमसेवीकको पैसा दिइसकेको भए पनि तपाईलाई नभेटेका कारण पैसा दिन नसकेको भन्दा पनि उपमेयरले आक्रोशमा उपमेयर जागरीले तेरो बाउ तेरो आमा नानाथरी गाली गरेकी हुन्। 

कुराकानीका सिलसिलामा उनले भुक्तानीका बेला किर्ते दस्तखत गर्ने कुन कानूनले दिएको छ भनेकी छन् तर उपमेयरलाई दोहोर सुविधा लिन पाउने कानुनमा छैन भन्ने समेत थाहा छैन । स्वास्थ्य चौकी प्रमुख खडायतले माफि माग्दा पनि आक्रोश रोकिएन। 
स्वयमसेविकाको पदबाट राजिनामा नदिएरै उनी उपमेयर भएकी हुन्। हाल पनि उनी स्वास्थ्य चौकीले स्वयमसेवीकालाई दिने भत्ता लिदै आएकी छिन्। 

उपमेयरको धम्कीपछि डरले अनमीले जागिर नै छोडिन्
घरमा सुत्केरी भएकी महिलालाई सुत्केरी भत्ता नदिएको भन्दै बुङल नगरपालिकाकी उपमेयर मीना जागरीले कफलसेरी स्वास्थ्य चौकीमा कार्यरत अनमी निरुपति चौधरीलाई अभद्र व्यवहार गरेकी छिन्। नियमानुसार घरमा सुत्केरी भएकी महिलालाई सुत्केरी भत्ता दिन नमिल्ने भनेपछि उपमेयर जागरीले अनमी चौधरीलाई तथानाम गाली गर्दे जागर छोडेर धम्की दिएकी हुन्। 

उपमेयरको धम्कीपछि अनमी निरुपति चौधरीले पत्र लेख्दै जागिर छोडेर हिडेको स्वास्थ्य चौकी प्रशासनले जनाएको छ। अनमी चौधरी विगत तीन वर्षदेखि करारमा काम गर्दै आएकी थिइन्। उपमेयर जागरी स्वास्थ्य संस्थामै पुगेर अनमी चौधरीमाथि खनिएकी हुन्। एउटा अडियोमा जागरीले अनमी चौधरीलाई 'बुवाको छोरी भए जागीर छोडेर जा' भनेको प्रष्ट छ। 

अगाडीको समयमा व्यवहारिक रुपमा घरमा सुत्केरी भएकी महिलालाई पनि सुत्केरी भत्ता दिदै आएको अडियोमा प्रष्ट छ। गरिव तथा आर्थिक अवस्था नाजुक भएकालाई व्यवहारिक रुपमा दिदा फरक नपर्ने भन्दै उपमेयर जागरीले चौधरीलाई आग्रह गरेको तर अनमी चौधरीले दिन नमिल्ने बताएपछि अनमीलाई धम्क्याएको अडियो प्रष्ट सुन्न सकिन्छ। 

अगाडीको आर्थिकको जिम्मा आफूलाई थाहा नभएको भन्ने भन्ने अनमीको जवाफमा उपमेयर जागरीले 'मसँग बढी फुर्ति लगाउने, तेरो बाउले दिएको उपमेयर हो' भन्दै अहिल्यै जागीर छोडेर गइहाल लगायतका कुरा गरेकी छन्। यस विषयमा जानकारी लिन खोज्दा अनमी चौधरीको फोन उठेन।

यस विषयमा उपमेयर जागरीसँग जानकारी लिदा स्वास्थ्य क्षेत्र सुधारका लागी सामान्य भनाभन मात्र भएको बताइन्। बाहिर भन्नेले आफ्नो बेईज्जत गर्न खोजेको भन्दै आफ्नो नाम जोडेर अनावश्यक हल्ला फैलाएको दुखेसो पोखिन्। 

सामान्य भनाभन भएको स्विकार गर्दै उपमेयर मीना जागरीले स्वास्थ्य चौकी व्यवस्थापन समितिको बैठकले सबै कुरा मिलाई सकेको र अनमी चौधरीलाई जागिर नछोडन फोन गरेको बताइन। राजनैतिक प्रतिसोधका कारण विपक्षीले नानाथरी आरोप लगाएर आफूलाई बदनाम गर्न खोजेकोले आक्रोशमा आएर केही नराम्रो शब्द बोलेको हुनसक्छु भन्दै उपमेयर जागरी पन्छिइन्।

स्वास्थ्य चौकी व्यवस्थापनसामू माफि मागिन्
उपमेयर मिना जागरीले अनमी निरुपति चौधरीलाई जागिरबाट छोड्न बाध्य बनाएपछि कफलसेरी स्वास्थ्य चौकीको व्यवस्थापन समितिको आकस्मिक बैठक बसेको थियो। बैठकमा उपमेयर जागरीले गल्ती स्वीकार गरेकी छन्। तर यस्ता गल्तीलाई सामान्य रुपमा लिन नसकिने स्वास्थ्यकर्मी र बुंगलबासीको भनाई छ।

(यस समाचारमा उल्लेख गरिएका अडियो रेकर्ड दिनेश खबरसँग सुरक्षित छन्।)

कमेन्ट लोड गर्नुस