११ जना जेलबन्दीको रिहाइको माग राख्दै धनगढीमा प्रदर्शन
धनगढी : आन्दोलनमा रहेको थरुहट/थारुवान राष्ट्रिय मोर्चाले धनगढीमा विरोध प्रदर्शन गरेको छ। मोर्चाले धनगढीको क्याम्पस चोकदेखि एलएन चोकसम्म र्यालीको आयोजना गरि विरोध जनाएको हो।
र्याली पश्चात उनीहरुले एलएन चोकमा विरोध सभाको आयोजना गरेका थिए। विरोध सभाका कारण केहि समय सडक अवरुद्ध भएको थियो।
सभालाई सम्बोधन गर्दै थरुहट/थारुवान राष्ट्रिय मोर्चाका केन्द्रीय प्रवक्ता मिनराज चौधरीले केन्द्रीय सरकारसँगै नजिकै रहेको प्रदेश सरकारले पनि अनशनरत मोर्चाका संयोजक लक्ष्मण थारुको स्वास्थ्य प्रति चाँसो नदिएको आरोप लगाएका छन्। पाँच दिनदेखि अनसनमा रहेका उनको माग सुनुवाईका लागि कुनै पहल नगरेको उनको आरोप छ।
नेता रेशम चौधरीसहित ११ जना जेलबन्दीको रिहाइको माग गर्दै लक्ष्मण थारु विगत ५ दिनदेखि धनगढीमा आमरण अनसनमा छन्।
रेशम चौधरीसहित ११ जना जेलबन्दीको रिहाइ गर्नुपर्ने, टीकापुर घटनाबारे सत्यतथ्य छानबिन गर्न पूर्व न्यायाधीश गिरिशचन्द्र लाल नेतृत्वको न्यायिक समिति, गृह मन्त्रालयद्वारा गठित अनुसन्धान विभागका पूर्व प्रमुख देवीराम शर्माको संयोजकत्वमा गठित छानबिन समितिको प्रतिवेदन र सर्वदलीय संसदीय समितिको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने लगायत माग राख्दै मोर्चा आन्दोलनमा छ।
आन्दोलनमा आदिवासी जनजाति महासंघ, मिसन अम्बेडकर नेपाल, खसान संघर्ष समिति, खम्बुवान राष्ट्रिय मोर्चा, संघीय लोकतान्त्रिक मञ्च, नेपाल राष्ट्रिय पार्टी, संयुक्त खस क्षेत्री नेपाललगायत संघ संस्थाले ऐक्यबद्धता जनाएका छन्।