सुदूर नेपाललाई विश्वसँग जोड्दै

सुदूरपश्चिम सरकारका दुई बर्ष र मुख्यमन्त्री भट्टका १० भाषण

२०७६ फाल्गुन ५, ०३:५३ खबर संवाददाता

धनगढी : सुदूरपश्चिम प्रदेश सरकार गठनको आज ठिक दुई बर्ष पूरा भएको छ। यो दुई बर्षको अवधीमा प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेशवासी समक्ष थुप्रै आश्वासन बाडेका छन्।

रोजगारीका लागि भारत जानुपर्ने बाध्यता अन्त्य गर्नेदेखि बहुप्रतिक्षित पश्चिम सेती जलविद्युत आयोजना निर्माण सम्मका आश्वासन मुख्यमन्त्री भट्टले बाडेका छन्। 

चौकीदारी गर्न अब कोही पनि भारत जानु पर्दैन
सुदूरपश्चिम प्रदेशको प्रथम मुख्यमन्त्रीको सपथ ग्रहणपछि भट्टले बोलेका कुरा निकै चर्चामा आए। उनले भनेका थिए, ‘भारतमा काम गर्ने नेपालीको पीडा मैले राम्रोसंग बुझेको छु। त्यसैले म रोजगारीका लागि भारत जानुपर्ने बाध्यताको अन्त्य गर्छु।’

सोही कुरा उनले सुदुरपश्चिमेली नेपाली समाजको प्रथम महाधिवेशनको धनगढीमा उद्घाटन गर्दा समेत दोह¥याए र भने, ‘पहिले शिक्षा र रोजगारीको व्यवस्था नहुँदा विदेश जानु बाध्यता थियो। अब शिक्षाको विकाशसगै रोजगारीका अवसर प्रदेश सरकारले सिर्जना गर्छ, युवालाई प्रदेशकै विकाशमा लगाउछ।’

१४ वर्षको कलिलै उमेरमा भारतमा चौकीदारी गरेको सम्झदै मुख्यमन्त्री भट्टले अगाडी थपेका थिए, ‘भारतमा कति दुख कष्ट सहेर अपमानित जीवन जिउनुपर्छ त्यो सवै मलाई थाहा छ। मैले देखेको र भोगेको छु। अहिले शासन फेरिएको छ, सत्ता फेरिएको छ। धेरै गर्न नसकेपनि युवाले अव भारत जानु पर्दैन नेपालमै काम गर्ने बाताबरण सिर्जना गर्छु।’

उनले यो आश्वासन दिएको दुई बर्ष पुगेको छ तर भारतमा रोजागरीका लागि जानेको सङख्या घट्नुको सट्टा बढ्दै गएको छ। २० कार्तिक २०७६ सालमा डोटीको आदर्श गाउँपालिका वडा नम्वर ४ मा रहेको दुर्गा आधारभूत विद्यालय र सायल गाउँपालिका वडान. ६ खातिवडाको महाकाली माध्यमिक विद्यालयको प्रवलिकरण गरेर निर्माण तथा पुनर्निर्माण गरिएका भवनको हस्तान्तरण गर्न डोटी पुगेका मुख्यमन्त्री भट्टले भारत जान पर्ने बाध्यताको अन्त्य गर्ने कुरालाई फेरी दोह¥याएक थिए। 

भ्रष्टाचारीलाई सामूहिक बहिस्कार गर्नुपर्छ
डोटी चेम्बर अफ कमर्सले डोटीको दीपायलमा आयोजना गरेको सुदूरपश्चिम प्रादेशिक महोत्सवको उद्घाटनमा मुख्यमन्त्री भट्टले भने, ‘देशमा जति विकास गर्ने कोशिस गरेपनि भ्रष्ट मानसिकता र भ्रष्टाचारी कर्मचारीका कारण विकासको गति उँधो लग्दै आएको आएके छ। कमिसन खोर र भ्रष्टाचारका कारण देश बदनाममित हुँदै गएको छ। त्यसैले भ्रष्टाचारीलाई सामूहिक बहिस्कार गर्नुपर्छ।’

महोत्सवको उद्धघाटन गर्दा भ्रष्टाचारीलाई कानुनी दायरामा ल्याउने र बहिष्कार गर्नुपर्ने कुरा मुख्यमन्त्री भट्टले पहिलो पटक बोलेका भने होईनन्। उनले पटक–पटक यो विषयलाई विभिन्न कार्यक्रममा उठान गरेका थिए। तर अहिले ७ प्रदेश सरकार मध्ये सबैभन्दा बढि सुदूरपश्चिम सरकार अनियमिततामा मुछिएको छ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयबाट अन्य मन्त्रालयलाई पनि जोगउने प्रयास भएको छ तर अनियमिततामा संग्लनलाई कारवाहीको दायरामा ल्याउने प्रयास पनि भएको छैन्। 

नमूना प्रदेश बनाउनछु
प्रदेश सरकारको सय दिन पुगेको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री भट्टले भनेका थिए, ‘ प्रदेश सरकार गठन भएको छोटो समयमा महत्वपूर्ण उपलब्धि हासिल गर्दै अघि बढिरहेका छौ। प्रदेशको आर्थिक बृद्धि गरी नमूना प्रदेशको रुपमा विकास गरिरहेका छौँ।’

तर दुई बर्षको अवधीमा नमूना प्रदेश बनाउने संकेत पनि देखाईएको छैन्। उल्टै विनियोजित बजेट समेत खर्च नहुँदा विकास र समृद्धिको आशा निराशामा परिणत भईरहेकोछ। प्रदेशवासीले प्रदेश सरकार भएको अनुभुती समेत गर्न सकेका छैनन्। 

प्रदेशको मुहार फेर्छौ 
दुई बर्षको अवधीमा मुख्यमन्त्री भट्टले कृषि र औद्योगिक क्षेत्रको पर्याप्त विकास गरेर सुदूरपश्चिम प्रदेशको मुहार फेरिने कुरा पटक–पटक दोह¥याएका छन्। सोही विषय उनले डोटीको पूर्वीचौकी गाउँपालिकामा आयोजना गरिएको गाउँपालिकास्तरीय दोस्रो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गर्दा पनि दोह¥याए।

“प्रदेश सरकारले स्थानीय नागरिकलाई प्रत्यक्ष रोजगारी दिने तथा आयस्रोत बढाउने खालका योजना ल्याएको छ, उक्त कार्यक्रमले यहाँका गरिखाने वर्गलाई प्रत्यक्ष सहयोग मिल्ने छ। सुदूरपश्चिममा औद्योगिक प्रवद्र्धन अत्यावश्यक रहेको छ र विषेशगरी कामका लागि भारत जाने सुदूरपश्चिमवासीको बाध्यता हटाउनका लागि भए पनि हामी औद्योगिक क्षेत्रको विकास गर्न लागिपरेका छौँ।” मुख्यमन्त्री भट्टले भनेका थिए। 

फाष्ट ट्रयाक प्रदेश सरकारले आफै बनाउँछ
जोरायल गाउँपालीका– ५ गडसेरामा रहेको महेन्द्र आधारभूत विद्यालयको ५८औँ वार्षिकोत्सव तथा अभिभावक दिवस कार्यक्रमको उद्घाटन गर्दै सुुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले खुटिया–बिपीनगर–दिपायल फाष्ट ट्रयाक प्रदेश सरकार आफैले बनाउने बताएका थिए।

उनले भनेका थिए, “पाँच वर्षमा प्रदेश सरकारले कालोपत्रेसमेत गर्ने छ, हामी उक्त सडक बनाएरै छोड्छौँ।” संघीय सरकारको मातहतमा रहेको उक्त सडकलाई आँफै बनाउने दावी गरिरहदा उनले अघिल्लो पटक आँफैले गरेको भाषण भने बिर्सिएका थिए। अघिल्लो पटक फास्ट ट्रयाकको अनुगमन गर्दै उनले भनेका थिए, ‘२०७६ सालको जेठ मसान्त भित्रै फाष्ट ट्रयाकमा गाडी गुडाउछु।’ अहिले सम्म फास्ट ट्रयाकको काम भने अलपत्र छ। 

तिंकर नाका खोल्न पहल गर्छु 
प्रेस चौतारी र प्रेस सेन्टर दार्चुलाद्वारा आयोजित पत्रकार सम्मेलनमा चीनसँग जोडिएको तिंकर नाका खोल्न संघीय सरकार समक्ष विशेष पहल गर्ने बताएका थिए। मुख्यमन्त्री भट्टले भनेका थिए, ‘प्रदेशको समृद्धिको ठू्लो आधार तिंकर नाका हो। यो नाका खोल्न प्रदेश सरकारले निर्णायक पहल गर्छ।’ तर नाका खोल्न त टाढाको कुरा तिंकर जोड्ने सडकको निर्माणले समेत गति लिएको छैन्। 

पश्चिम सेती वर्तमान सरकारले बनाउँछ
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले डोटीको बोगटान फुड्सिल गाउँपालिकामा आयोजना गरिएको स्वास्थ्य सरसफाइ कार्यक्रमको उद्धघाटन गर्दै पश्चिम सेती जलविद्युत् परियोजना वर्तमान सरकारले नै बनाउने बताएका थिए।

“हामीले केन्द्र सरकारसँग पश्चिम सेती आफ्नै लगानीमा निर्माण गरौँ भनेर भनेका छौँ”, उनले भनेका थिए, “पश्चिम सेती अब भाषणमा हैन काममा देखिनेछ।” तर अहिले पश्चिम सेती काममा त परै जावस भाषणमा पनि देखिन छोडेको छ।

चनियाँ कम्पनी थ्री गर्जेजले पश्चिम सेती बनाउन नसक्ने भन्दै हात झिकेपछि अहिले सम्म पश्चिम सेती बारे कुनै निर्णय हुन सकेको छैने। यद्यपी एसआर सिक्स र पश्चिम सेतीका लागि सयुक्त लगानी जुटाउने कार्यमा सरकार लागेको दावी गरिएको छ।

नक्सामा राख्दैमा नेपाली भूमि गुम्दैन
देशभरी कालापानी र लिम्पीयाधुरा मिचिएको विरोधमा आन्दोलन जारी थियो। सोही क्रममा सत्तारुढ दल नेकपा निकट राष्ट्रिय युवा सङ्गठन र अनेरास्ववियु, भारतले आफ्नो नयाँ नक्सामा नेपाली भूमि राखेकाले फिर्ताका निम्ति पहल गरिदिन माग गर्दै मुख्यमन्त्रीलाई भेट्न पुगे। मुख्यमन्त्रीले भनेका थिए, ‘नेपालको भूमि भारतले आफ्नो नक्सामा राख्दैमा भारतको हुँदैन।’ यस्ले मुख्यमन्त्रीलाई विवादमा ल्यायो। 

बिहान पत्रिका पढ्दा दिनभरी ’मुड अफ’ हुन्छ
धनगढीमा आयोजित प्रदेश रेडियो, एफएम र टेलिभिजन प्रसारण सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको प्रारम्भिक मस्यौदामाथि सुझाव संकलन तथा सूचनाको हक सम्बन्धी अन्तरक्रिया कार्यक्रमका बोल्दै मुख्यमन्त्री भट्टले भनेका थिए, ‘पत्रिका भनेको बिहान मुड फ्रेस गर्न पढिन्छ, तर आजभोलीका पत्रिकाहरुका समाचार दिनभरी मुड अफ गर्ने खालका हुन्छन।’ यो विषयले पनि सामाजिक सञ्जालमा निकै चर्चा पायो। 

कडा कानुन बनाउछौ 
मुख्यमन्त्री भट्टले सपथ ग्रहणपछि लगातार बोल्दै आएको शब्व हो, ‘हामी कानुन बनाउँछौ।’ अहिले पनि उनको मुखमा उक्त शब्द झुण्डिएकै हुन्छ। सोही क्रममा धनगढीमा नेपाल प्रेस सेन्टरले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै भट्टले भनेका थिए, ‘सामाजिक विकृतीका विरुद्ध प्रदेश संसदले कडा कानुन बनाउनेछ। साथै चेतनाको स्तर बढाउनका लागि पनि प्रदेश सरकारले पहल गर्नेछ।’ मुख्यमन्त्री भट्टले भने जस्तै दर्जनौ कानुन त बने तर कार्यान्वयन अहिले पनि फितलो छ। जस्का कारण अहिले प्रदेशमा दण्डहिनताले प्रसय पाएको छ। 
 

कमेन्ट लोड गर्नुस