सुदूर नेपाललाई विश्वसँग जोड्दै

किर्ते गर्ने व्यवसायी बस्नेत पक्राउ बारे कैलाली प्रहरीले झुक्यायो

२०७६ फाल्गुन २, ०१:५४ खबर संवाददाता

धनगढी : कर चुक्ता प्रमाणपत्र किर्ते गरेर टेण्डर हत्याएको पुष्टि भएपछि प्रहरीमा आत्मसमर्पण गरेका अमित मेडिसिन डिस्ट्रिब्युटर्सका सञ्चालक दुस्यन्त बस्नेतलाई जोगाउन प्रहरी नै सक्रिय भएको आरोप लागेको छ। अदालतले पक्राउका लागि अनुमती दिएको झण्डै दुई महिना सम्म पनि बस्नेतलाई पक्राउ नगरेको कैलालीले प्रहरीले बस्नेत आँफै प्रहरी कार्यालयमा उपस्थित भएपछि जोगाउने चलखेल गरेको हो।

यसअघि जिल्ला प्रहरी कार्यालय कैलालीले बस्नेत प्रहरी कार्यालयमा उपस्थित भएपछि उनलाई नियन्त्रणमा राखेर अनुसन्धान भईरहेको जनाएको थियो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले नै अदालतबाट ५ दिन म्याद थप्दै अनुसन्धान भईरहेको र बस्नेतको बयान लिने क्रम पनि जारी रहेको दावी गरेका थिए। 

तर सरकारी छाप दस्तखत किर्तेका अभियुक्त बस्नेतलाई भने एक दिन पनि प्रहरी नियन्त्रणमा नराखिएको फेला परेको छ। अभियुक्त पक्राउपछि मेडिकल जाँच गर्नुपर्ने प्रावधान रहेकोमा किर्ते गर्ने व्यवसायी बस्नेतको सेती अस्पतालमा मेडिकल जाँच गरिएको थियो।

सेती अस्पतालले उनको स्वास्थ्यमा समस्या भएको भन्दै अन्यत्र रेफर गरेकोमा बस्नेत प्रहरी कार्यालयमा उपस्थित भएकै दिनदेखि धनगढीको सिपी अस्पतालमा भर्ना भएका छन्। उक्त कुरा भने जिल्ला प्रहरी कार्यालय कैलालीले चार दिनदेखि लुकाएको हो।

बुधवार मात्रै दिनेश खबरसंग जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले भनेका थिए, ‘किर्ते गर्ने व्यवसायी बस्नेतलाई जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमै राखिएको छ। उनको बयान लिने क्रम जारी छ। ५ दिनमा अनुसन्धान नसकिए फेरी म्याद थप गर्छौ।’ तर अहिले आएर बस्नेत चार दिनदेखि अस्पतालमा भर्ना भएको खुलेपछि प्रहरी नै उनलाई जोगाउन सक्रिय रहेको आशंका बढेको हो। 

सिपी अस्पतालका अनुसार बस्नेतमा सुगर र पायल्सको समस्या देखिएको छ। उनी सिपी अस्पतालको क्याविन नम्वर ४ मा भर्ना भएका छन्। तर अस्पतालमा पोषाकमा एक जना प्रहरी पनि परिचालन गरिएको छैन्। सञ्चार माध्यमलाई बस्नेतका आफन्तले फोटो खिच्न समेत दिएका छैनन्।

अहिले आएर जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले भने किर्ते गर्ने व्यवसायी अस्पताल भर्ना भएको विषयमा आज मात्रै जानकारी पाएको बताए। बस्नेतले गेटा आँखा अस्पतालको करोडौँको टेण्डर हत्याउनका लागि कर चुक्ता प्रमाणपत्र किर्ते गरेका थिए।

उनी सहित अमितका अर्का सञ्चालक प्रदीप अग्रवाल विरुद्ध सरकारी छाप दस्तखतमा मुद्धा दर्ता गरिएको छ। उक्त मुद्धामा ७ बर्ष सम्म कैद र ७० हजार जरिवानाको व्यवस्था रहेको छ।

 

कमेन्ट लोड गर्नुस