सामाजिक विकास मन्त्रालयमा छुट्टै स्तनपान कक्ष
धनगढी : सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले सेवाग्राही तथा कार्यालयमा कार्यरत महिला कर्मचारीलाई लक्षित गरी छुट्टै स्तनपान कक्ष स्थापना गरेको छ।
मन्त्रालयको मूल भवनको माथिल्लो तल्लाको एक कोठामा आरामदायी सुविधायुक्त स्तनपान कक्षको स्थापना गरिएको सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी हेमराज खड्काले जानकारी दिए। झण्डै दुई लाखको लगानीमा स्थापना गरिएको कक्षमा दुई श्ययासँगै एकैपटक दुईजनासम्मले स्तनपान गराउन सकिने व्यवस्था छ। त्यस्तै कक्षमा बालबालिकाका लागि खेल्न विभिन्न सामग्री पनि राखिएका छन्।
स्तनपान कक्षको निर्माणसँगै बच्चासहित विभिन्न कामका लागि मन्त्रालय पुग्ने महिला सेवाग्राही तथा मन्त्रालयमा स्तनपान गर्ने उमेरका बच्चा भएका कार्यरत महिला कर्मचारीलाई सहज हुने सूचना अधिकारी खड्काको भनाइ छ। रासस