सुदूर नेपाललाई विश्वसँग जोड्दै

पुलमा साइनबोर्ड राखेपछि विरोध

२०८३ भदौ २४, १०:१४ खबर संवाददाता

दार्चुलाः दार्चुलास्थित महाकाली नदीमाथि निर्माण गरिएको नेपाल–भारत जोड्ने पक्की पुलको नेपालतर्फ भारतीय निर्माण व्यवसायीले राखेको साइनबोर्डको विषयलाई लिएर दार्चुलामा नागरिकस्तरबाट विरोध भइरहेको छ। 

कालापानीको भूमिका विषयमा लामो समयदेखि दुई देशबिच विवाद रहँदै आएको छ। दार्चुलाका नागरिकले नेपालको भूभागमा भारततर्फको ठेगाना राखेर साइनबोर्ड राखिएको भन्दै विरोध जनाएका हुन्। दुई देश जोड्ने नेपाल–भारत पुलको नेपालतर्फ महाकाली नगरपालिका–८, असिगडा क्षेत्र पर्छ भने भारततर्फ धारचुला तहसिल अन्तर्गतको छारछुम क्षेत्र पर्छ।

नेपालस्थित पुलछेउमा नेपाल–भारत मैत्री सेतु लेखेर राखिएको साइनबोर्डको ठेगानामा काली नदी, छारछुम लेखिएको छ। यसै विषयलाई लिएर यहाँका राजनीतिक दल, पत्रकार तथा आमनागरिकले विरोध जनाउँदै यथाशीघ्र सच्याउनुपर्ने माग गरेका हुन्। राष्ट्रिय स्वतन्त्र पार्टी दार्चुलाका सभापति राजेशसिंह सामन्तले नेपाली क्षेत्रमा राखिएको साइनबोर्डमा नेपालको ठेगाना  लेखिनुपर्नेमा काली नदी, छारछुम भारतको ठेगाना लेखिएको विषयलाई गम्भीरताका साथ परराष्ट्र मन्त्रालय तथा जिल्ला प्रशासन कार्यालय दार्चुलामा सच्याउन जानकारी गराएको बताए। 

सीमाक्षेत्रका विषयलाई सरकारले गम्भीरतापूर्वक लिँदै परराष्ट्र मन्त्रालयमार्फत भारतसँग आवश्यक समन्वय गरेर समस्या समाधान गरिनुपर्नेमा उनले जोड दिए। स्थानीय रवि धामीले महाकाली सीमा नदीमाथि निर्माण गरिएको नेपाल–भारत मैत्री पुल दुई देशबिचको सहकार्य र सम्झौता अनुसार निर्माण भएको संरचना भन्दै निर्मित संरचनामा राखिने बोर्ड, लोगो र भाषाको स्पष्ट मापदण्ड बनाउनुपर्ने धारणा राखे।  

दार्चुलाका प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले यस विषयमा भारतस्थित धारचुलाका एसडिएम आशिषकुमार जोशीसँग कुरा भएको तथा त्रुटि सच्याउने जानकारी गराएको बताए। मोटरेबल पुल निर्माणमा संलग्न निर्माण कम्पनीका सबइन्जिनियर हेम पाण्डेले पनि साइनबोर्ड छपाउने क्रममा त्रुटि भएको तथा तत्काल सच्याउने काम अगाडि बढेको बताए। (गोरखापत्र)

कमेन्ट लोड गर्नुस