आन्दमय काठमाडौं ! केवल साठी वर्षअघि काठमाडौं युरोपजस्तै भव्य रहेछ
६०-७० वर्षअघि काठमाडौं ठ्याक्कै युरोपजस्तै रहेछ। यत्ति हो, युरोप आज पनि उस्तै छ तर हामी फेरियौं।
हामीसँग दरबार पनि रहेछन्, विश्वकै सुन्दर मन्दिर पनि। रानी पोखरीदेखि कमलपोखरीसम्म पोखरी त कतिकति! लण्डनको बिगबेनजस्तै शानसँग उभिएको घण्टाघर पनि! चट्ट शहर हेर्न धरहरा त थिँदै थियो, सास फेर्न थुप्रै टुँडिखेल र गौचरनहरू पनि रैछन्। नदी त अलि अस्तिसम्म पौड़ी खेल्न मिल्ने नै थिए।
तलको बागबजारको फोटो आजको कोपेनहेगनभन्दा कत्ति कम छैन ।
तिनका किनारमा बनेका घाटहरूमा साँझ मान्छे जम्मा भएर भलाकुसारी गरेको तस्बीर सम्झिनुस् त ! शहरमा घोड़ाहरू थिए, अनेक वन्य जीवजन्तु र चराचुरुङ्गी पनि थिए। युरोपमा आज पनि छन्।
‘जुद्ध वारुण यन्त्र’ भन्ने दमकल सुविधा पनि शहरसँग रहेछ । पिउने पानीका लागि सुन्धारादेखि गुर्जुधारासम्म सुन, तामा र ढुङ्गाले बनेका निरन्तर कलकल पानी बग्ने धाराहरू थिए रे! दरबार हाइस्कुलदेखि त्रिचन्द्र कलेजसम्म र नरदेवी आयुर्वेद अस्पतालदेखि वीर हस्पिटलसम्म त थिए नै।
घर निर्माणका हाम्रा आफ्नै शैली रहेछन्। कलालाई राज्यले सम्मान गरेर नै होला, राष्ट्रिय नाचघर र नाटकघरहरू बनेका रहेछन्। शहरका लागि नभई नहुने संरचनाबारे हामीलाई उहिल्यै थाहा रहेछ।
कुमारी जात्रा, इन्द्रजात्रा, घोड़े जात्रा, मच्छिन्द्रनाथको रथयात्रादेखि लाखे नाचसम्म कति हो कति मनोरञ्जन र सांस्कृतिक जमघटहरू ! रोचक पक्ष के रहेछ भने बाहिरका शासकले जितेर काठमाडौंमा शासन गरे पनि यहाँका कला, संस्कृति र चाडबाड़चाहिँ संरक्षण नै गरेका रहेछन्।
कुमारी जात्रा होस् या भोटो जात्रा, राज्यप्रमुखकै प्रत्यक्ष संलग्नता देखिनुले यो पुष्टि गर्छ। ती जात्रा नमरून् भनेर गुठी पनि थिए । सोच्दै मन रसिलो हुने। त्यतिबेलाको काठमाडौंलाई अहिलेजस्तो रेमिट्यान्स पनि नचाहिने। मोनोरेल र स्मार्ट सिटीको नारा बेच्ने नेता पनि नचाहिने । यस्तो लाग्छ, काठमाडौं वास्तवमैं वैभवपूर्ण रहेछ।
आफ्नो जनसङ्ख्यालाई धान्न सक्ने पूर्वाधार र विकास काठमाडौंले हासिल गरेको रहेछ। तर, शासकहरूको अक्षमताले गर्दा देशका अन्य भागले काठमाडौंसँगै आफूलाई अगाडि बढाउन नसकेपछि बिस्तारै धान्नै नसकिने गरी मान्छे काठमाडौं भित्रिए।
मान्छे बढ़ेसँगै पूर्वाधार बढ़ेनन्। आज न सुन्धारामा पानी आउँछ न टुँडिखेलमा घाम तापेर खेल खेल्न पाइन्छ । स्कुल भवनमा आगो लाग्यो भने सुरक्षित ठाउँमा जम्मा हुन कतै खाली जग्गा बाँकी छैन। काश! देशका अन्य भाग पनि समानान्तर विकास भइदिएको भए र काठमाडौंले मात्रै बोझ खेप्नु नपरेको भए आज हामीसँग पनि विश्वलाई देखाउन सक्ने सुन्दर राजधानी हुने रहेछ!
तस्बीरहरू फेसबुकलगायतका सामाजिक सञ्जाल र इन्टरनेटबाट लिइएका हुन्।
-नारायण गाउँलेको फेसबुकबाट