बझाङको साइपालमा खाद्य संकट, हेलिकोप्टरमार्फत ढुवानी गर्न सांसद विकको आग्रह
प्रताप ओली/बझाङ : प्रतिनिधिसभा सदस्य आशा विकले खाद्यान्न संकट भएको बझाङकाे साइपाल गाउँपालिकामा तुरुन्त खाद्यान्नको व्यवस्था गर्न माग गरेकी छन्। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा समय लिएर बोल्दै सदस्य विकले साइपाल गाउँपालिकामा मंसिर २८ गतेदेखि अहिलेसम्म ६ पटक बढी भारी हिमपात भएकाले हेलिकोप्टर मार्फत खाद्यान्न ढुुवानी गरिदिन आग्रह गरेकी हुन्।
बाटोमा ६ फिट बाक्लो हिउँ जमेकाले हेलिकोप्टर बाहेक अन्य विकल्प नरहको सांसद बिवकले संसदलाई जानकारी दिएकी हुन्।
साइपाल गाउँपालिकाको वडा नम्बर १ र २ मा एक हजार क्वीन्टल चामल केही दिन अगाडी ढुवानी गरिएपनि ३, ४ र ५ नम्बर वडामा ढुवानी गर्न समस्या देखिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्र धामीले बताए। यी वडामा जाने बाटोको मध्य भागमा रहेको नाघ्ना डाँडामा अझैं पनि ६ फिट हिउँ जमेकाले स्थानीय ढुवानीका माध्यम खच्चर, भेडाबाख्रा हिँड्न नसकिने अवस्था रहेको छ।
अस्थायी डिपो रहेको काँडामा पनि खाद्यान्न अभाव भइरहने, कर्मचारी नहुने समस्या भएकाले स्थायी डिपोका लागि केन्द्र सरकारसँग माग गरेको तर तत्काल यो सम्भव नभएको जवाफ नवनियुक्त उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले दिएको गाउँपालिका अध्यक्ष धामीले बताए।
१२ महिना काम गरेर तीन महिनाका लागि खान पुग्ने साइपाल गाउँपालिकाका जनतालाई सरकारले नहेरेको नेपाल कम्युनिस्ट पार्टी साइपाल गाउँपालिका कमिटी अध्यक्ष शेर बोहराले बताए।