सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा मापदण्ड विपरित नदीजन्य पदार्थ उत्खनन्, बस्ती नै स्वाहा हुने डर !

२०७६ माघ २८, ०४:२६ प्रकाश सिंह

बाजुरा: बाजुराको बडीमालिका नगरपालिका– ७ सदरमुकाम मार्तडी नजिकै रहेको बाहुली खोलाबाट मापदण्ड विपरित नदीजन्य पदार्थ उत्खनन् गरी निकास भइरहेको छ।  बाहुली खोलाबाट दैनिकजसो ढुङ्गा, गिट्टि, बालुवा उत्खनन्गरि सदरमुकाम मार्तडीमा निर्माण हुन लागेका घर र सरकारी भवनका लागि निकास भइरहेका हुन्। 

सदरमुकाम नजिकैबाट यसरी अवैधरुपमा नदीजन्य पदार्थ निकास भइरहदा प्रशासन भने मुखदर्शक बनेको छ। यसरी जथाभावी उत्खनन् गरिँदा जग्गा कटान भएकाले बस्ती नै जोखीममा परेको छ। जसका कारण केहिवर्ष पहिले उक्त स्थानबाट १२ परिवार विस्थापित नै हनुपर्ने बाध्यता आइलाग्यो। 

यसरी दैनिक रुपमा भइरहेको नदीजन्य पदार्थ उत्खनन्का कारण भुक्षय हुने चिन्ताले स्थानीय त्रसित छन्। उत्खनन्का कारण वर्षेनी जग्गा कटान भएपछि खेतीयोग्य जमीन बगरमा परिणत भएको स्थानीय जनक रावलले सुनाए। उनले भने ‘यसरी मनोमानी तरिकाले निकासी भइरहदा स्थानीय सरकार र प्रशासनले कुनै वास्ता गरेका छैनन्, जसका कारण खेतीयोग्य जमीन र बस्तीमा समेत कटान भएको छ।’

उता बुढिगंगा नगरपालिका – ३ मा रहेको सेरा बगरको हालत पनि उस्तै छ। सेरा बगरमा त अनुमती बिना नै क्रसर उद्योग समेत सञ्चालन गरिएको छ। जिल्लामा क्रसर उद्योग सञ्चालन गर्दा जिल्ला घरेलु उद्योग कार्यलयको अनुमति लिनुपर्ने हुन्छ।  

त्यपछि क्रसर खोल्न उपयुक्त छ या छैन भनेर अध्ययन गर्नुपर्ने  हुन्छ। तर उक्त स्थानमा दर्ता विना नै क्रसर उद्योग सञ्चालनमा आएको छ। घरेलु तथा साना उद्योग कार्यालयका कर्मचारी बिक्रम कटुवालका अनुसार अहिलेसम्म बाजुरामा कुनैपनि क्रसर उद्योग दर्ता भएका छैनन्। 

मापदण्डलाई हेर्दा वातावरणीय प्रभाव मुल्याङ्कन तथा प्रारम्भिक वातावरणीय परिक्षण गरेर मात्र नदीजन्य पदार्थ उत्खनन् गर्नुपर्ने हुन्छ। तर बाजुरामा उक्त मापदण्डलाई लत्याइएको छ।  वातावरण्ीाय अध्ययनविना ढुङ्गा, गिट्टि र बालुवाको निकासीले वातावरणीय, आर्थिक, भौतिक र समाजिक असर पर्ने गरेको प्राविधिकहरु बताउँछन्।  ‘बाहुली खोला र सेरा बगरबाट जसरी निकासी भइरहेको छ, यो सबै गैरकानुनि हो’ इन्जिनियर दिपक भारती भन्छन ‘ वातावरणीय मुल्याङ्कन गरेर मात्र उत्खखनन् गर्नुपर्ने कानुनी प्रावधान छ।’

यसरी दैनिकरुपमा भइरहेका नदिजन्य पदार्थ उत्खनन् र निकासीका कारण बाजुराको ब्रहमतोला, कुल्देबमाण्डौ र कैलाशमाण्डौ गाउँ उच्च जोखिममा रहेका छन्। 

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस