सुदूर नेपाललाई विश्वसँग जोड्दै

बाजुरामा एक लाख जंगली मेलका बोटमा नास्पाती कलमी गरिने

२०७६ माघ २५, ०६:३० प्रकाश सिंह

बाजुरा : बाजुरामा एक लाख जंगली मेलका बोटमा नास्पाती कलमी गरिने भएको छ। बाजुराका सामुदायिक तथा राष्ट्रिय वनमा प्रशस्त मात्रामा मेल पाउने गरेको छ। जंगलमा खेर गईरहेका एक लाख मेलका बोटलाई ५ वर्षमा नास्पाती बनाउने लक्ष्यका रहेको जिल्ला कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ। 

फागुन पहिलो हप्ताबाट १० हजार मेलका बोटलाई नास्पाती बनाउनेगरि अभियान अगाडी बढाइने ज्ञान केन्द्र बाजुराका प्रमुख गोविन्द्र सिजापतीले बताए। फलफुल विकास केन्द्र किर्तिपुर काठमाण्डौंबाट जापानिज नास्पातीको साइन र दक्ष जनशक्ति ल्याएर यहाँका २७ जना प्राविधिकलाई कलमी गर्ने तरीकाबारे तालिम दिइ कामका लागि फिल्डमा परिचालन गरिने योजना रहेको उनले बताए।  

यो कार्यक्रमलाई अभियानका रुपमा संचालन गर्ने र हरेक वर्ष निरन्तरता दिइने भएकोले अभियानलाई सहयोग गर्न र कलमी गरेका बोटको संरक्षणका लागि स्थानीय समुदायलाई अनुरोध समेत गरिसकेको सिजापतिले बताए। 

कलमी गरेको ३ देखि ४ वर्षमा बोटले उत्पादन दिन शुरु गर्ने भएकाले पहिलो प्रथमिकतामा ताजा फल विक्रि गर्ने र नबेचिएको बाँकि फललाई संकलन गरी प्रशोधन उद्योगको स्थापना पश्चात जाम, जेली, जुस र बार्जु वाइन तयारगरि विक्रिवितरण गर्ने योजना रहेको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी मिनप्रसाद जैशीले बताए। 

यस कार्यक्रमबाट ३ देखि ४ वर्षपछि करिब १ लाख नास्पातीका बोटबाट वार्षिक १ लाख क्विन्टल नास्पातीको फल उत्पादन हुने जनाइएको छ। त्यसबाट करिव ५० करोड बराबरको ताजा फल उत्पादन गर्ने योजना कार्यालयको छ। एउटा प्रसोधन उद्योगमार्फत वार्षिक १ करोड बराबरको जाम, जेली, जुस र वार्जु वाइनको व्यापार गर्न सकिने सम्भावना रहेको सूचना अधिकारी  जैशीले बताए।

‘हामीले सम्भावना देखेर मात्रै यो अभियान पुरा हुन सक्दैन, यसमा सरोकारवाला सबैको उत्तिकै सहयोग र समन्वय आवश्यक हुन्छ’ सूचना अधिकारी मिनप्रसाद जैशीले भने ‘कृषकले यसको संरक्षण र व्यवस्थापनको जिम्मेवारी लिनुपर्ने हुन्छ।’

बाजुरा जिल्लाका सबै स्थानीय तहमा प्रशस्त मात्रामा जंगली मेल पाइन्छन्। आजसम्म मेलको प्रयोग सामान्य दाउराको रुपमा मात्रै प्रयोग भएको पाइन्छ। पहिले मेलवाट खुदो बनाउने प्रचलन रहेको थियो। तर आजभोली त्यो समेत लोप भइसकेको अवस्था छ। जंगलमा प्रशस्त मात्रामा आफै उम्रिने भएकोले खेर गइरहेको मेलको बोटलाई सामान्य व्यवस्थापनमा पनि नास्पाती फलमा रुपान्तरण गर्न सकिन्छ। 

प्रकास सिह दिनेश खवरका बाजुरा संवाददाता हुन्।

कमेन्ट लोड गर्नुस