धनगढीमा ६ महिना बितिसक्दा समेत वडा स्तरबाट कार्यान्वयन हुने योजना सम्झौता भएनन्
धनगढी: धनगढी उप–महानगरपालिकामा वडा स्तरबाट कार्यान्वयन हुने योजनाको सम्झौता अझै भएका छैनन्। चालु आर्थिक वर्षको साढे ६ महिना बितिसक्दा समेत बजेट कार्यान्वयन गर्नको लागि उपभोक्ता समिती गठन र सम्झौता नभएको हो।
भौतिक पूर्वाधारका योजना सञ्चालन गर्न वडा कार्यालय उदासिन देखिएको आरोप लागेको छ। १९ वटा वडा रहेको उप–महनगरपालिकामा आर्थिक वर्षको साढे ६ महिना पुरा हुँदापनि योजना सञ्चालन गर्न ढिलाई गरेको पाईएको छ।
उप–महानगरपालिकले माघ मसान्तभित्र सबै योजनाहरुको समिती गठन, परिचाल तथा व्यवस्थपन गर्न दोस्रो पटक ताकेता गरेको छ। यसअघि पुस मसान्तभित्र समिती गठन तथा सम्झौता गरिसक्नुपर्ने भन्दै निर्देशन दिइएको थियो।
उपभोक्ता समिती गठन, सम्झौता तथा संञ्चालन गर्नको लगि समन्वयको जिम्मा वडा कार्यालयहरुलाई दिइएको भएपनि सबै योजना संञ्चालन गर्नको वेवास्ता भईरहेको छ। तर वडा नम्बर १३ का वडाध्यक्ष विजयराज जोशीले भने उप–महानगरपालिकाले नै ढिलाइ गरेको बताएका छन्।
चालु वर्षमा धनगढीमा सञ्चालन हुने भौतिक पुर्वाधरका योजनाहरु समयमा सुरु नहुनुको प्रमुख कारण विभिन्न स्थानमा देखिएका विवादहरुलाई लिइएको छ। उप–महानगरपालिकाले निर्धारण गरेको सडकको चौडाई, भवन निर्माणको हकमा जग्गाको समस्या लगायतका विवादहरु देखिएका छन्।
विवाद समाधानको जिम्मा उप–महानगरपालिकाको भएपनि वेवस्ता गरेको आरोप वडा कार्यालयहरुको छ। कुनै योजनाको रकम स्थानान्तरण गर्नुपर्ने, कुनै योजनालाई दुई भागमा विभाजग गर्नुपर्ने जस्ता विवाद भएका कारण पनि ढिलाई भएको बताइएको छ। विवादलाई समाधान गर्न उप–महानगरपालिका वेवास्ता गरिरहेको वडा नम्बर १८ का वडाध्यक्ष मुरारी अधिकारीले बताए।
कतिपय योजनाहरु सञ्चालन भईसक्दापनि अधिकाशंको उपभोक्ता समिती गठन गर्न समेत बाँकी रहेको छ। आर्थिक वर्षको ६ महिना फुर्सदमा बिताएको उप–महानगरपालिकाले यो वर्ष नै योजनाहरु सञ्चालन गरि गुणस्तरिय काम गर्ने दावी गरिरहेको छ। तर योजना सम्पन्न गर्नुपर्ने समयको आधा अवधी सकिँदापनि कुनै सुरसार गरिएको छैन्।
उप–महानगरपालिकाका ईन्जिनियर दीजराज भट्ट भने गत वर्ष ढिलाई भएको भएपनि यसवर्ष समयमा योजना सम्पन्न गर्ने दावी गर्छन।