कैलालीमा मदिरा विक्री वितरणका लागि साझा कानून बनाइने
धनगढी: कैलालीका स्थानीय तहहरुले अनियन्त्रित मदिराको विक्री वितरणलाई नियन्त्रण गर्नका लागि साझा कानून बनाउने तयारी गरेका छन्। शनिबार धनगढीमा बसेको कैलालीका १३ वटै स्थानीयतहको बैठकले मदिराको विक्री वितरणलाई व्यवस्थीत बनाउनका लागि साझा कानुन ल्याउने निर्णय गरेको हो।
कानुन निर्माणका लागि जिल्ला समन्वय समिति कैलालीका संयोजक सूर्यबहादुर थापाको संयोजकत्वमा ३ सदस्यीय मस्यौदा तयारी समिति गठन गरिएको छ। सदस्यहरुमा धनगढी उप–महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत र टिकापुर नगरपालिकाका कानुनी सल्लाहकार रहने निर्णय गरिएको छ।
समितिले एक महिनाभित्र मस्यौदा तयार पारेर स्थानीयतहको समन्वय बैठकमा पेश गर्ने निर्णय भएको जिल्ला समन्वय समितिका संयोजक सूर्यबहादुर थापाले बताए। साझा कानुन बनेपछि त्यसलाई जिल्ला सभाले पास गर्ने उनले बताए।
धनगढी उप–महानगरपालिकाका प्रमुख नृपबहादुर वडले पछिल्लो समयमा मदिराका कारण आत्महत्याका घटना बढ्दै गएकाले साझा कानुन बनाएर कडाई गर्नुपर्ने अवस्था आएको बताए। उनले भने, ‘मदिराका कारण घरेलु हिंसाका घटना बढेका छन्, त्यहि घटना आत्महत्यामा परिणत भएका छन्।’ दैनिकजसो आत्महत्या र अपराधका घटना बढ्नुको पछाडी अनियन्त्रित मदिराको विक्रीवितरण भएको उनले बताए।
नगरप्रमुख वडका अनुसार मदिरा विक्रीवितरण गर्ने समय, क्षेत्र तथा मदिरा सेवन गर्नेका लागि कार्डको व्यवस्था गर्नेगरि कानून ल्याउन लागिएको छ। कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले मदिराको विक्रीवितरणलाई व्यवस्थीत गर्ने, लागुपर्दाथको दुव्र्यसनलाई न्यूनिकरण गर्नका लागि अभियान चलाउने लगायतका निर्णय भएको बताए।
धनगढी उप–महानगरपालिकाका उप–प्रमुख सुशीला मिश्र भट्टले लागुपदार्थको दुव्र्यसनलाई न्यूनिकरण गर्नका लागि सबै स्थानीय तहहरुबाट दुई जनालाई श्रोत व्यक्तिको रुपमा तयार पार्ने निर्णय भएको बताइन। उनले भनिन, ‘ती व्यक्तिलाई विज्ञ प्रशिक्षकहरुबाट तालिम दिइने छ त्यसको समन्वय धनगढी उप–महानगरपालिकाले गर्ने छ।’