बझाङमा रुखबाट लडेर घाइते भएका एकजनाको उपचार नपाएपछि मृत्यु
बझाङ: बझाङमा रुखबाट लडेर एक जनाको मृत्यु भएको छ। जिल्लाको साईपाल गाँउपालिका– १ बस्ने २६ वर्षीय पर्या बोहराको रुखबाट लडेर मृत्यु भएको हो।
शनिबार भेडा चराउन गएको बेला उनी रुखबाट लडेर गम्भिर घाइते भएका थिए। विकट ठाउँ भएकाले घाइते बोहराको थप उपचारका लागि हेलिकोप्टरको व्यवस्था गर्न लागिएको थियो। हेलिकोप्टर व्यवस्था गर्दागर्दे घाइते बोहराको झण्डै ३ घण्टापछि मृत्यु भएको साईपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्रबहादुर धामीले बताए।
भेडा चराउन गएका बोहरा साईपाल गाँउपालिका– १ को गणभट्ट भन्ने ठाँउमा रुखबाट लडेर गम्भिर घाईते भएका थिए।
गाउँपालिकाभरि सुविधा सम्पन्न स्वास्थ्य चौकी नहुँदा विभिन्न समयमा यहाँका स्थानीयले उपचारमा समस्या झेल्नु परेको स्थानीयले गुनासो गरेका छन्। सदरमुकाम चैनपुरबाट झण्डै तिन दिनको पैदल यात्रापछि पुगिने साईपाल गाउँपालिकामा सडक तथा सवारी साधन नपुगेका कारण गाउँपालिकावासीले उपचार नपाउने गरेको स्थानीय बसन्त बोहराले बताए।