कैलालीमा युवक मृत्यु प्रकरण: पूर्वपश्चिम राजमार्ग फेरी अवरुद्ध
कैलाली: कैलालीमा गाडीको ठक्करबाट युवकको मृत्यु भएको भन्दै शनिबार विहानैदेखि अवरुद्ध पारिएको पूर्वपश्चिम राजमार्ग केही समयका लागि सुचारु गरिएकोमा फेरी अवरुद्ध पारिएको छ।
जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्वर ६ मा से२प १८५० नम्वरको मोटरसाईकल दुर्घटना हुँदा स्थानीय २२ बर्षीय मायाराम चौधरीको मृत्यु भएकोमा स्थानीयले गाडीले ठक्कर दिएर उनको मृत्यु भएको भन्दै फेरी राजमार्ग अवरुद्ध पारेका हुन्।
यसअघि प्रहरीले घटनाको अनुसन्धान गर्ने बताएपछि राजमार्ग सुचारु गरिएको थियो। अहिले फेरी मृतकका आफन्त र स्थानीयले राजमार्ग अवरुद्ध पारेको ईलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ।
यसअघि नै प्रहरीले राजमार्ग अवरुद्ध पार्ने ५ जनालाई नियन्त्रणमा समेत लिएको थियो। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतका अनुसार लम्की बहुमुखी क्याम्पसका स्ववीयू सभापति ललित जैशी सहित ५ जनालाई नियन्त्रणमा लिईएको थियो। उनीहरुलाई ईलाका प्रहरी कार्यालय लम्कीको नियन्त्रणमा राखिएको छ।
स्थानीयले गाडीको ठक्करबाट चौधरीको मृत्यु भएको दावी गरेपनि प्रहरीले भने मोटरसाईकल आँफै अनियन्त्रित भएर दुर्घटना हुँदा चालक चौधरीको घटनास्थलमै मृत्यु भएको जनाएको छ।