कैलालीमा सातौ राष्ट्रिय पुस्तक दिवस मनाइयो
कैलाली: कैलालीमा सातौ राष्ट्रिय पुस्तक दिवस विविध कार्यक्रमगरि मनाइएको छ। दिवसका अवसरमा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघ जिल्ला शाखा कैलालीले विद्यार्थीलाई सम्मान तथा विद्यापिठलाई स्टेशनरी सहयोग गरेको छ।
महासंघका निवर्तमान अध्यक्ष बेदप्रकाश चुवाइको अध्यक्षतामा भएको कार्यक्रममा धनगढी उपमहानगरपालिकाकी उपप्रमुख शुशिला मिश्र भट्ट प्रमुख अतिथी रहेकी थिइन्। सो अवसरमा बोल्दै उपप्रमुख भट्टले आम मानिसमा पुस्तक पढ्ने बानी घट्दै गएको बताइन। उनले महासंघले पुस्तकहरुको संरक्षणसंगै आम मानिसमा यसको महत्वबारे जनचेतना फैलाउन आवश्यक रहेको बताइन्। इतिहासको संरक्षण र ज्ञान पुस्तकले नै दिइरहेको उपप्रमुख भट्टले बताइन।
कार्यक्रममा शैक्षिक सत्र २०७५ को एसइई परिक्षामा उत्कृष्ट अंक ल्याएकालाई नगद, प्रमाणपत्र र दोशल्ला ओढाई सम्मान गरिएको थियो। सम्मान हुनेमा कैलाली मोडल उच्च माध्यामिक विद्यालयकी अरुणा ठगुन्ना, प्रिन्स न्यौपाने र समिर थापा रहेका छन्। तीनैले एसइइमा तीन दशमलव ८५ जिपिए प्राप्त गरेका थिए। उनीहरुलाई नगद ७ हजार ५ सय ५५, प्रमाणपत्र र दोशल्लासहित उपप्रमुख शुशिला मिश्र भट्टले सम्मान गरेकी थिइन्।
यस्तै महासंघले धनगढी उपमहानगरपालिका वडा नम्बर १३ मा रहेको निङ्गलासैनी विद्यापिठलाई ५१ हजार बराबरको स्टेशनरी सामाग्री सहयोग गरेको छ। विद्या पिठमा रहेका विद्यार्थीहरुलाई स्टेशनरी अभाव नहोस भनेर ती सामाग्री वितरण गरिएको जनाइएको छ।
महासंघका सल्लाहकार मेखराज दाहालले स्वागत गरेको कार्यक्रमको सञ्चालन दिप रावतले गरेका थिए। कार्यक्रममा चौधरी डिपोका सञ्चालक सञ्जय चौधरी, धनगढी जेसिजका अध्यक्ष श्याम पाठक, लायन्स क्लब अफ सुकिर्तिकी अध्यक्ष बसन्ता भण्डारी लगायतको उपस्थिति रहेको थियो।