सुदूर नेपाललाई विश्वसँग जोड्दै

दार्चुलामा सुत्केरीलाई एक हजार प्रोत्साहन भत्ता

२०७६ माघ १४, ०३:४९

दार्चुलाको अपी हिमाल गाउँपालिकाले आमाको पोषण सुधारका लागि भन्दै सुत्केरी हुने महिलालाई रु एक हजार प्रोत्साहन भत्ता दिने भएको छ। यही फागुन १ गतेदेखि असार मसान्तसम्म सुत्केरी तथा गर्भवती हुने हरेक आमालाई पोषणमा सुधार ल्याउने उद्देश्यले प्रोत्साहन रकम दिने भएको हो।

अपी हिमाल गाउँपालिकाको गाउँसभाले आमा सुरक्षाका लागि प्रोत्साहन रकम दिने निर्णय पारित गरेको गाउँपालिका प्रवक्ता रवीन्द्रसिंह बोहराले बताए। अहिलेलाई सुत्केरी आमा प्रोत्साहन कार्यक्रमका लागि एक लाख बजेट विनियोजन गरिएको गाउँपालिका उपाध्यक्ष उर्मिला बोहराले बताए। सुत्केरी तथा गर्भवती महिलालाई पोषण स्वास्थ्यमा सुधार ल्याउन अहिले थोरै बजेटको शुरुआती गरिएको भएपनि आगामी वर्षदेखि कार्यक्रमलाई निरन्तरता दिइने उनको भनाइ छ।

अपी हिमाल गाउँपालिका स्वास्थ्य शाखाका अनुसार गाउँपालिकाभरि फागुनदेखि असारसम्म झण्डै ६० जना गर्भवती तथा सुत्केरी महिला रहेको स्वास्थ्य शाखा संयोजक राजेन्द्रसिंह धामीले बताए। गाउँसभाले पदाधिकारीको पोसाक भत्ताका लागि छुट्याइएको बजेटलाई रकमान्तर गरी सो बजेटमार्फत अपाङ्ग, ज्येष्ठ नागरिक परिचयपत्र वितरण गर्ने तथा गाउँपालिकामा स्वास्थ्य शिविर सञ्चालन गर्ने निर्णय गरेको छ। रासस
 

कमेन्ट लोड गर्नुस