सेती प्राविधिक शिक्षालयद्वारा ३० बर्षमा तीन हजार जनशक्ति उत्पादन
सुदूरपश्चिम प्रदेशको पहिलो प्राविधिक तथा ब्यावसायिक बिद्यालयको रुपमा रहेको सेती प्राविधिक शिक्षालयले स्थापनाको ३० बर्षमा झण्डै तीन हजार प्राविधिक जनशक्ति उत्पादन गरेको छ। २०४६ सालको बैशाख २ गतेदेखि डोटीमा सञ्चालनमा आएको शिक्षालयले ३० बर्षमा झण्डै तीन हजार प्राविधिक जनशक्ति उतपदन गरेको हो।
उक्त शिक्षालय अहिले पनि प्राबिधिक तथा ब्यवसायिक तालिम परिषद्को आंगिक शिक्षालयका रुपमा रहेको छ। शिक्षालय एसियाली विकास बैकको सहयोगमा दर्जनौ भवन निर्माणपछि २०४६ साल बैशाख २ गतेदेखि सञ्चालन भएको थियो।
शिक्षालयले उत्पादन गरेका जनशक्ति मध्ये अधिकासं अहिले सरकारी सेवामा सक्रिय छन्। ‘कतिपयले आफ्नो नीजि व्यवसाय समेत सुरु गरेका छन्,’ सेती प्राविधिक शिक्षालयका निमित्त प्रधानाध्यापक हरिदत्त ओझाले दिनेश खवरलाई भने, ‘अधिकासं सरकारी सेवामा छन् भने अन्य केही भने विदेश पलायन भएका छन्।’
उनका अनुसार सेती प्राविधिक शिक्षालयले कृषि, स्वास्थ्य र निर्माण गरी तीन क्षेत्रमा पेशामुलक शिप दिदै आएको छ। शिक्षालयमा कृषि जेटिए, भेटनरी, अनमी, सिएमए, सव ओभरसियर लगायतको अध्ययापन हुँदै आएको उनले बताए।
उनले भने, ‘दुर्गम भेगका, विछडिएका बर्गलाई पेशामुलक शिप दिन स्थापना भएको शिक्षालयमा चालु बर्षमा मात्रै झण्डै ६ सय जना विद्यार्थी अध्ययन गर्दै आएका छन्।’ २०५१ सालदेखि सेती प्राविधिक शिक्षालयमा अध्यापन गर्दै आएका सत्यराज रावलले सुदूरपश्चिममा प्राविधिक जनशक्ति उत्पादनमा सेती प्राविधिक शिक्षालयको भुमिका सबैभन्दा महत्वपूर्ण रहेको बताए।
उनले भने, ‘सेती प्राविधिक शिक्षालयले ८० प्रतिशत प्रयोगात्मक र २० प्रतिशत मात्रै सैद्धान्दकी ज्ञानका आधारमा अध्यापन हुँदै आएको छ।’ शिक्षालयमा कृषि, स्वास्थ्य र निर्माण तर्फका प्राविधिक विषय अध्ययनरत विद्यार्थीहरुका लागि अभ्यास गर्न विभिन्न व्यवस्था मिलाईएको छ।
शिक्षालयको भेटनरी विभागका प्रमुख डाक्टर नन्दलाल खत्रीका अनुसार शिक्षालय भित्रै तरकारी खेती गरिएको छ भने कुखुरा फार्म पनि सञ्चालन गरिएको छ। ‘उत्पादित तरकारी विद्यार्थी र शिक्षकहरुलाई न्यून शुल्कमा विक्री गर्ने गरिएको छ,’ उनले भने, ‘त्यस्को केही प्रतिशत आम्दानी विद्यार्थीहरुले पनि पाउने गरेका छन्।’
सेती प्राविधिक शिक्षालयमा पछिल्लो केही समययता देशभरीकै विद्यार्थीहरुले प्रतिस्पर्धा गर्न पाउने भएपछि विकट जिल्लाका विद्यार्थीलाई समस्या हुने देखिएको छ। उनीहरुलाई सुगम जिल्लाका विद्यार्थीहरुसंग प्रतिस्पर्धा गर्न समस्या हुने देखिएको हो। यद्यपी अहिले भने अधिकासं सुदूरपश्चिमकै विद्यार्थीहरु अध्ययन गर्दै आएका छन्।
शिक्षालयमा विगतमा विधार्थीलाई छात्रवासको व्यवस्था भएपनि अहिले भने अधिकासं विद्यार्थी बाहिर बस्दै आएका छन्। दलित समुदायका विद्यार्थीलाई कोठा पाउन समस्या हुने भन्दै छात्रवासको व्यवस्था गरिएको छ भने छात्राहरुका लागि पनि आवासको व्यवस्था गरिएको छ।