सुदूर नेपाललाई विश्वसँग जोड्दै

पश्चिम सेती निर्माणको माग गर्दै थप दबाब मूलक कार्यक्रम गरिदै

२०७६ माघ १३, ०७:५८ जनक विष्ट

३६ वर्षदेखि अलपत्र परेको पश्चिम सेती परियोजना निर्माणका लागि जनस्तरबाट थप दबाब मुलक कार्यक्रम गरिने भएका छन्। हिजो आशा म¥र्यो, आज जवानी मर्दैछ भोली सपना मर्नेछ भन्ने नारा सहित पश्चिम सेतीका लागि शनिबार काठमाडौँमा कचौरा जुलुस प्रर्दशन गरेको ‘पश्चिम सेतीका लागि नागरिक अभियान बोलन्या थली धनगढी’ले दबाब मुलक कार्यक्रमलाई सशक्त रुपमा अगाडी बढाउने भएको हो।

३६ वर्षदेखि निर्माणको चर्चा चलेर अलपत्र रहेको पश्चिम सेती परियोजनामा राज्यले दिने आश्वासनको धैर्यताको बाध फुटेको भन्दै सुदूरपश्चिम घर भएर काठमाडौँमा रहेका युवाहरु संगठीत भई दबाब मुलक कार्यक्रम गरिरहेका छन्।

कार्यक्रमको नेतृत्व गरिरहेको ‘पश्चिम सेतीका लागि नागरिक अभियान बोलन्या थली धनगढीका संयोजक यादव जोशीले पश्चिम सेती निर्माणका लागि दबाब दिन प्रधानमन्त्री र उर्जामन्त्रीलाई ज्ञापनपत्र बुझाउने, सुदूरपश्चिमबाट विजयी सांसदहरुले पश्चिम सेती बारे अहिले सम्म गरेका प्रयास बारे सोधीखोजी गर्ने एवंम सुदूरपश्चिमबाट साढे चार लाख हस्ताक्षर संकलन गर्ने अभियान थालिने  जानकारी दिए।

सुदूरपश्चिमबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सांसद, राष्ट्रिय सभा सदस्य, योजना आयोगका सदस्य लगायत सबैलाई काठमाडौँमा भेला गरेर खुला सभा गरिने उनले बताए। उक्त सभामा सुदूरपश्चिमको आर्थिक तथा सामाजिक रुपान्तरणसंग जोडिएको राष्ट्रिय गौरवको पश्चिम सेतीका लागि अहिले सम्म गरेको पहलको सोधीखोजी गर्ने जोशीले बताए।

त्यसपछि उनीहरुले बताएअनुसार अनुगमन समेत गर्ने तयारी बोल्या थलीको छ। पश्चिम सेती परियोजनालाई चुनावी एजेण्डा बनाएर राष्ट्रिय राजनीतिमा स्थापीत भएका नेताहरुले पहल नगर्दा वषौँदेखि अलपत्र परेको आरोप पनि लागेको छ।

तर बोल्या थली धनगढीकै सदस्य सन्तोश भट्टले भने पश्चिम सेतीलाई देखाउन ललिपप बनाएका नेताहरुसंग सबै हिसाबकिताब माग्नुपर्ने बेला भएको बताए। ‘पश्चिम सेती बनाउँछु भन्दा भन्दै धेरै वर्ष बित्यो, देखाउने ललिपप मात्रै भयो।‘‘’ भट्टले भने। ‘सुदूरपश्चिमबाट प्रधानमन्त्री पनि भए थुप्रै मन्त्री पनि भए तर यहाँका जनताको जनजीवनसंग जोडिएको महत्वपूर्ण प्रोजेक्ट पश्चिम सेती अगाडी बढेन। अब पनि नेताहरुले यो मुद्दालाई उजागर गर्ने की नगर्ने?’

सुदूरपश्चिमबाट कांग्रेस सभापति शेरबहादुर देउवा चार पटक प्रधानमन्त्री, कांग्रेसकै नेता एनपी साउँद, रमेश लेखक, नेकपाका नेता भीम रावल, लेखराज भट्ट लगायतका नेताहरु पटक पटक सांसद हुँदै मन्त्री भएपनि पश्चिम सेती योजना अगाडी बढाउन निर्णायक पहल नगरेको आरोप लाग्को हो।

सात सय ५० मेगावाट क्षमताको आयोजना निर्माण गर्ने दशकौ अघि निर्णय भए पनि अहिलेसम्म काम अघि बढेको छैन्। सरकारले सन् २०१२ मा पश्चिम सेती आयोजना चिनियाँ कम्पनी थ्री गर्जेजलाई दिएको थियो। तर लामो समय आयोजना ओगटेर बसेको उसले क्षमता घटाएर पनि बनाउन चाहेन।

विभिन्न कारण देखाएर पश्चिम सेतीबाट थ्री गर्जेज बाहिरिएको थियो। त्यसअघि अष्ट्रेलीयाको स्मेकलाई पश्चिम सेती बनाउन दिईएको थियो। अहिले एसआर–६ समेत बनाउने गरी पश्चिम सेतीका लागि लगानीकर्ताको खोजी भइरहेको बताउँदै आएको छ। ठोस पहल हुन नसक्दा पश्चिम सेती परियोजना आकाशको फल आँखातरी मर जस्तै भएको छ।

तर पश्चिम सेती परियोजना निर्माणमा जनस्तरबाट सुुरु भएका दबाब मुलक कार्यक्रमले नागरिक सचेत भएको प्रतिबिम्बका रुपमा विश्लेषण गरिएको छ। कैलाली बहुमुखी क्याम्पसका अर्थशास्त्र विषयका प्राध्यापक गगन घिमिरेले नागरिकमा सचेतनाको स्तर बृद्धि भएको मान्न सकिने बताए।

‘विगतमा नागरिक समाजका अगुवाहरुले मात्र विकास निर्माण लगायतका सवालमा आफ्ना एजेण्डा राख्ने र बोल्ने गर्थे।’ घिमिरेले भने। ‘अहिले नागरिकहरु नै यो विषयमा बोलेको हुँदा नागरिक सचेतना बृद्धि भएको, शिक्षा र जनचेतनाको स्तर पनि बढेको रुपमा लिन सकिन्छ।’ विकासका लागि स्वस्र्फूत नागरिक सडकमा आएपछि दबाब सिर्जना गर्नमा महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई थियो।

‘हामीले कुनै पनि योजनालाई समयमै पूरा गरेनौँ भने, नागरिक खबरदारी आउँछ, नागरिकहरुको कुरा सुन्नुपर्छ र उनीहरु ठुलै विरोध गर्न सक्छन् भन्ने सकारात्मक सन्देश पनि दिएको छ।’  घिमिरेले बताए।

पश्चिम सेती जलविद्युत आयोजना निर्माण भए सुदूरपश्चिमको मुहार नै फेरिने अपेक्षा गरिएको थियो तर सम्बन्धीत निकायले आवश्यक पहल कदमी नचाल्दा पश्चिम सेती वषौँदेखि अनिर्णयको बन्दी बनेको छ।  

 
 
      
 

जनक विष्ट दिनेश एफ. एम. का सम्पादक हुन। उनले राजनीति र समसामयिक विषयमा कलम चलाउछन्।

कमेन्ट लोड गर्नुस