डोटीमा सेनाद्धारा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन
नेपाली सेना, रुद्रध्वज गणले डोटीको केआइसिंह गाउँपालिका वाइलमा शनिबार सञ्चालन गरेको निःशुल्क स्वास्थ्य शिविरबाट ४१५ ले उपचार सेवा लिएका छन्।
गणपति प्रमुख सेनानी रत्नकेशर खड्काले स्वास्थ्यसेवाको पहुँचबाट टाढा रहेका नागरिकलाई सहजरूपमा उपचार सेवा प्रदान गर्न शिविर सञ्चालन गरिएको जानकारी दिए।कान सुन्ने उपकरण , निःशुल्क औषधि वितरण, भिडियो एक्सरे, गर्भवती परीक्षण, स्त्रीरोग तथा दन्त परीक्षणसमेत गरिएको थियो। शिविरमा सबैभन्दा बढी कान, छाला, ढाड दुख्ने तथा रुघाखोकीका बिरामीको रहेको उपचारमा संलग्न प्राविधिक उपसेनानी डा यमुना थापाले जानकारी दिए।
आफ्नै घरआँगनमा विशेषज्ञ सेवा पाउँदा खुशी भएको केआइसिंह गाउँपालिका प्रमुख लोकेन्द्रबहादुर शाहीले बताए। उनले भने, “घरैमा निःशुल्क स्वास्थ्य सेवा पाएका छन, यस्ता शिविर अन्य ग्रामीण बस्तीमा पनि विस्तार गर्नु जरुरी छ।” बालरोग विशेषज्ञ डा.ललित सुरी, फिजिसियन विशेषज्ञ डा . . उत्तम भट्ट, स्त्रीरोग विशेषज्ञ डा.दुर्गा मर्हजन, प्राविधिक उपसेनानी डा.बबिता सिलवालले सेवा दिएका थिए।