सुदूरपश्चिम प्रदेश सरकार, बोली भन्दा काम देखाउ
रोहित चन्द
‘यो कुर्चीमा बसेपछि मैले सबैभन्दा पहिले तीनै मजदुरलाई सम्झे जोसँग जीवनका केही रात एउटै कारखानामा बिताएको थिए। जहाँ हामी बाध्यताले छिरेका थियौं र जीवनका कठीन दिनहरू सँगै गुजारेका थियौं। अबको मेरो संघर्ष देश छोड्न तयार भएका र देशभित्रै पनि कष्ट र अभाव झेलिरहेका गरिब, किसान, दलित, मजदुर, उत्पीडित वर्गका छोराछोरीको खुशीका लागि देश निर्माणका लागि हो।
यो कुर्चीमा बस्नुमा मलाई धेरै खुसी मिलेको छैन्। बरु मेरा यी सपना र संघर्षले साकार रूप लियो भने मलाई अथाहा खुशी मिल्नेछ।’ सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट ज्यूले पदभार ग्रहण गर्दै गर्दा दिएको अभिव्यक्तिका केही हरफ हुन यी।
साँच्चीकै कती मीठा छन्, यी शब्दहरू, कती सरल र स्पष्ट विचार। त्यो दिन उहाँको भाषण सुन्ने हरेकले म जस्तै आफ्नो पीडा बुझ्ने मुख्यमन्त्री पाएकोमा गर्व गरेका होलान्। तर दुई वर्षमै मुख्यमन्त्री ज्यूमाथिको त्यो आशा, निराशामा परिणत भइसकेको छ।
तपाईंको मन्त्री मण्डलले गरेका क्रियाकलाप र निर्णय एक पछि अर्को गरी अलोकप्रिय भइरहेका छन्। तपाईंले आफ्नो कार्यकाल एक वर्ष भएको अवसरमा एउटा राष्ट्रिय टेलिभिजनमा दिनुभएको अन्तरवार्ता अहिले सम्झदैछु। त्यति बेला तपाईले एकात्मक राज्य व्यवस्था, राज्य सञ्चालन गर्ने प्रणाली र यहाँका नेतृत्वको सोच लगायतका कारणले सुदूरपश्चिमको विकास हुन नसकेको भनेर बताइरहनु भएको थियो।
त्यो अन्तर्वाता दिएको पनि एक वर्ष पुग्यो। आज तपाईंले संघियतालाई कति कुसल ढंगले अगाडी बढाउनु भयो ? प्रदेश सञ्चालनका लागि कति बलियो प्रणाली निर्माण गर्नुभयो? तपाईंको नेतृत्वमा कति परियोजनाको काम सुरुवात भयो ? कति सम्पन्न भए ? जवाफ दिनुस् मुख्यमन्त्री ज्यू।
सायद तपाईं मुख्यमन्त्री भएको दिन भारतमा मजदुरी गर्ने लाखौं सुदूरपश्चिमेलीले अब आफ्नै प्रदेशमा रोजगारीका अवसर पाउने वातावरण निर्माण हुन्छ भनेर खुसी व्यक्त गरेका होलान। कतिले त दीपावली मनाएका थिए होलान। अब ती सबैले आशा मार्नु नै पर्ने हो त ?
भाषण र आसनमा मख्ख प्रदेश सरकार
केही दिन पहिलको कुरो हो, एकजना साथी एउटा महोत्सवको उद्घाटन कार्यक्रममा जानुभएको रहेछ। प्रदेश सरकारका एक मन्त्री प्रमुख अथिति हुनुहुन्थ्यो। कार्यक्रम स्थलमा ती मन्त्री पुग्दा आयोजक, अन्य अथिती र सबै दर्शकलाई स्वागतका लागि माला दिएर बाजागाजा सहित लाइनमा बसाइएको रहेछ।
त्यो देखेर साथीले भन्नुभयो, रोहित हेर त यार, काम वडा अध्यक्ष सरह पनि गर्दैनन् स्वागत भने शासकलाई गरिने भन्दा कम छैन्। उपलब्धी मूलक काम गर्न अल्छी मान्ने तर भाषण र आसनका लागि भने जहाँ पनि दर्गुने, जे पनी बोलिदिन्छन् मन्त्रीहरु।
त्यसो त यसरी माला लगाएर स्वागत गरिएको पहिलो कार्यक्रम भने थिएन त्यो। कहिले रातो कारपेटमा सयर गरेको त कहिले मुखै छोपिने गरी माला लगाएर मुस्कुराउँदै गरेका तस्बिर र समाचारहरु पनि बेलाबेला सुन्दै हेर्दै आएका छौं। अब तीन वर्ष छोड्नुस, त्यो खादा, माला र स्वागतको मोह।
पाँच वर्षे कार्यकाल साँच्चै सफल भए हाम्रो सुदूरपश्चिममा आर्थिक विकासको एउटा बलियो जग बस्यो भने हामी बरु जयजयकार गर्दै नागरिक अभिनन्दन गरौँला।
सुदूरपश्चिमको जनजीवनलाई प्रत्यक्ष फाइदा पुग्ने गरी एक–दुई परियोजना तपाईंले सम्पन्न गर्नुभयो भने हरेक दिन तपाईंले सोचे जस्तै गरी स्वागत, सम्मान र खादा–माला सहित सजाएर मञ्चमा उभ्याउँला, बरु यसको जिम्मेवारी म लिन्छु।
मात्रै अहिले देखि बाँकी रहेको तीन वर्षलाई पुरै सदुपयोग गर्दै सुदुरका जनतालाई समर्पित गरिदिनुस। मेरो बिनम्र अनुरोध छ।
बोलाई उत्कृष्ट–नतिजा शून्य !
मुख्यमन्त्री ज्यूको सबैले प्रशंसा गर्ने एउटा पक्ष उहाँको भद्र र गम्भीर स्वभाव पनि हो। माननीय मुख्यमन्त्री त्रिलोचन भट्ट ज्युलाई मैले पनि दुई तीन पटक भेट्ने अवसर पाएको छु। तीन वटै भेटमा नितान्त फरक–फरक र महत्वपूर्ण योजना सुनाउनु भएको थियो।
तर ती सबै योजनाको बारेमा अहिले सम्म न कुनै छलफल अगाडि बढ्यो न त कुनै निर्णय भएको सुन्नमा नै आयो। पहिलो भेटमा निकै प्रभावित भएको थिए म, उहाँबाट। भद्रता र गम्भीरता सबैलाई आकर्षण गर्न सक्ने खुबी हो, उहाँको तर कार्यशैली भने निकै कच्चा।
जुन करा उहाँको दुई वर्षे कार्यकालले बताई सकेको छ। शब्दजाल बिछ्याएर भ्रमित गर्ने दिन गए अब। कोही पत्याउँनेवाला छैन्। तपाईंको त्यो आकर्षक भाषण र गम्भीर विचार दराजमा थन्क्याउनुहोस् अब, किनभने हामीलाई नतिजा चाहिएको छ।
मुख्यमन्त्री भएको दिनको त्यो भाषण सुनिसके पछि पनि यहाँका कति मान्छेहरू भारत गए होलान्, आए होलान् तर फेरी पनि रोजगारी सिर्जना हुने कुनै छाँटकाँट नदेखिए पछि उनीहरूको मनमा पलाएको त्यो आशाको किरण समेत बिस्तारै निभ्दै गएको होला।
रोजगारी सिर्जना गर्ने देखि भारत जानुपर्ने बाध्यताको अन्त्य सम्मका धेरै ठूला योजना त छोडौ, मजदुरी गर्न भारत जानेहरुको विवरण संकलनको काम पनि व्यवस्थित बनाउन सक्नु भएको छैन। सीमानाकामा स्थापना गरेको हेल्प डेस्कहरु पनि त्यस्तै लथालिङ्ग छन् भन्ने समाचार पनि आईरहेका छन्।
तपाईं आफैं पनि भारतमा चौकीदारी गरेको मान्छे। भारतमा कामदारको रुपमा जाने हजारौँ सुदूरपश्चिमेलीहरुले गर्वका साथ सोचे होलान, अब त हाम्रो मन बुझ्ने नेता सरकारको नेतृत्वमा छन्। केही त पक्कै गर्छन्। उनीहरूको त्यो सोच दिवा स्वप्न जस्तै भइसक्यो।
सायद तपाईंको त्यो आश्वासन, घरबाट बिदाबारी भएर भारत जाँदै गर्दा, ती नेपाली कामदारहरुले गड्डाचौकी र गौरीफन्टामा पुगेर एक पल्ट सम्झिन्छन् होला। लामो सुस्केरा लिएर भाग्यलाई सराप्दै कर्मभूमि भारत तिर पाइला चाल्छन् होला। हुन त मुख्यमन्त्री ज्यूले दुःख गर्नुभएको धेरै पहिले हो।
अब त त्यो अनुभव इतिहास भइसक्यो। खान, लाउन र परिवार धान्न उहाँलाई गाह्रो छैन। त्यसैले विगतको तीतो अनुभव स्मरण गरेर अहिलेको जीवनको स्वाद किन बिगार्नु भनेर पनि सोच्नु भएको होला। मैले त दुःख गरे, अरूले पनि त्यस्तै जीवन चलाउनु भने के चाइ बिग्रिन्छ र भनेर पनि यदाकदा विचार आउँछ होला।
मलाई विश्वास छ, जिम्मेवार पदमा आसिन व्याक्तिले त्यस्तो कदापी सोच्दैन भनेर तर तपाईंको कार्यशैली हेर्दा लाग्छ, अहिले तपाईं त्यही मानसिकताबाट गुज्रिदै हुनुहुन्छ। तपाईंले ख्याल गर्नुपर्छ, तपाईं पाँच वर्षका लागि मात्रै अनुमोदन हुनुभएको हो।
चुनावमा सबैको मूल्यांकन हुन्छ र अर्को पटक अवसर पाउन अहिले उत्कृष्ट काम गर्नैपर्छ। प्रिय मुख्यमन्त्री ज्यू, इतिहासका पानाहरूमा लेख्नकै लागि मात्रै भए पनि आँखा खोल्नुहोस्, निद्राबाट जाग्नुस र देखाईदिनु आफ्नो क्षमता। तपाईंको त्यो शब्द चयनको उत्कृष्ट शैली र वाक कला त्याग्नुस, हामीले परिणाम चाहेका छौं, न कि motivational speaker.
विबादै विवादमा प्रदेशका निर्णयहरु
सञ्चार माध्यमबाट सुदूरपश्चिम सरकारले उदाहरणीय काम गरेका विषयका समाचार पढ्न र सुन्न नपाएको मैले मात्र होईन होला। सञ्चारकर्मीहरुले उदाहरणीय कामको सूची माग्दा पनि दिन नसकेको कुरा भने बेला बखत सुनिदै आएका छन्।
प्रदेश सरकारले यहाँको जनतालाई प्रत्यक्ष फाइदा पुग्ने गरी कुनै ठुलै योजना बनाएको त मलाइ याद छैन। तर स–साना योजना र कार्य पनि विवादै–विवादमा पर्ने गरेका छन्। पहिलो आर्थिक वर्षको बजेट खर्च लज्जास्पद हुनु नै प्रदेश सरकारको सबैभन्दा ठूलो कमजोरी हो।
खैर पहिलो आर्थिक वर्षमा नियम कानुन, कार्यविधी, जनशक्ति, संरचना र अनुभवको कमीका कारण खर्च नभएको मान्न सकिएला। त्यसलाई आलोचना गर्ने विषय नबाउ तर चालू आर्थिक वर्ष छ महिनामा भएको पूँजीगत खर्च प्रतिशत हेरौं त, जम्माजम्मी १० प्रतिशत छ। आर्थिक मामिला तथा योजना मन्त्रालय भने यो खर्चलाई सन्तोषजनक मानिरहेको छ।
अर्कोतीर प्रदेश सरकारले असारे विकासलाई निरुत्साहित गर्ने भनेर आफैले बोलेको कुरा पुरा गर्न सक्ने स्थितिमा छैन्। यसबाट प्रदेशको असक्षमता र बेइमानी दुवै झल्किन्छ। असक्षमता यस अर्थमा की छ महिनामा १० प्रतिशत विकास बजेट खर्च गर्ने सरकारले बाकी छ महिनामा शत प्रतिशत खर्च गर्नै सक्दैन, बेइमानी यस अर्थमा की कनिका छराई गरेर ल्याएको बजेट अघिल्लो वर्ष झै खर्च गर्न नसकेमा विकास हुँदैन्।
यसै गरी प्रदेशका अन्य कार्यहरु हेर्दा लाग्छ, प्रदेश मन्त्रालय होइनन यी त वडा कार्यालय पो हुन त। एउटा सानो क्लबदेखि दुई चार सय मिटर बाटो ग्रावेल गर्न प्रदेश सरकारले पैसा सक्दैछ। यो सब बालुवामा पानी हाले सरह नै हो। अन्य विवादित कार्यहरू पनि हेरौं त, स्वास्थ्य संस्थामा अल्ट्रासाउण्ड मेसिन जडान गर्ने कुरा पनि धेरै पुरानो होइन।
बजार मूल्य भन्दा दोब्बर मूल्य तिरेर किनिएको छ, अत्याधुनिक मेसिन भनेर। १६ वटा एम्बुलेन्स वितरणको काण्ड पनि धेरै पुरानो होइन। त्यसमा पनि व्यापक आलोचना भएको छ। यति धेरै विवाद हुँदा पनि कोरा वक्तव्य बाहेक, आर्थिक अनियमतता भएको छैन भनेर हामीले ढुक्क हुने गरी कुनै पनि कुरा बाहिर आएन।
यदि जिम्मेवार प्रदेश सरकार हुन्थ्यो भने सायद विवादित मन्त्रीलाई तुरुन्तै राजीनामा गर्न लगाएर, छानविन थाल्थ्यो होला। तर यहाँ त्यसो भएन, उल्टै प्रश्न गर्नेलाई गाली दिइयो। त्यसै गरी एक ताका खुबै चर्चा पाएको र निकै तामझामका साथ प्रदेशले सुरु गरेको कार्यक्रम हेलो सिएम पनि हो तर साउन यता कुनै गुनासो नआएको समाचार पनि पढ्न पाएको थिए केही दिन अघि।
आम नागरिकले विकासमा ढिलासुस्ती, भ्रष्टाचार लागायतका विभिन्न गुनासो सिधै मुख्यमन्त्री कार्यालयमै जानकारी गराउन सकिने भनी प्रचार गरिएको थियो। कसैको गुनासो सम्बोधन भए पो फोन आउँथ्यो होला। धेरैलाई लाग्न सक्छ, सायद प्रदेशमा विकास कार्यमा ढिलासुस्ती नभएको र भ्रष्टाचार पनि नभएको हुन सक्छ भनेर।
तर त्यो सोचाइ पूर्णतया गलत हो। आर्थिक वर्ष २०७६÷७७ मा आर्थिक अनियमितता र गुणस्तरहीन कार्य गर्ने प्रवृत्ति बढेको भनेर अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय कञ्चनपुरको प्रतिवेदनले सार्वजनिक गरिसकेको छ। अघिल्लो वर्ष भन्दा यो वर्ष गुणस्तरहीन कार्य र आर्थिक अनियमितता बढेको भनी उजुरी गर्नेहरूको संख्या बढेको छ, यसको सीधा अर्थ यो हो कि,हेलो सिएम कार्यक्रम प्रदेश सरकारले आफ्नो प्रचार गर्ने एउटा अर्को नयाँ शैली मात्रै थियो।
साँच्चै जनताको सहजताको लागि थिएन। अझै हामीले सुक्ष्म ढंगले हेर्दै गयौ, अध्यायन गर्दै गयौ भने प्रदेश सरकारले गर्न हुने कार्य, औंलामा गन्न सकिने गरी गरेको छ भने गर्नै नहुने कार्य धेरै बढी नै गरिसकेको छ। समयमै हामीले सचेत भएकै राम्रो।
आर्थिक विकासका चार शब्द कता हराए ?
मुख्यमत्री ज्यूले पटक पटक धेरै ठाउँमा सुदूरपश्चिमको आर्थिक विकासका लागि चार वटा शब्द भन्ने गरेको मैले सुनेको छु। पर्यटन, जलविद्युत, कृषि र जडीबुटी। हुन पनि हो, सुदूरपश्चिममा यी सबैको निकै धेरै सम्भावना छ। यदी यहाँका कुनै पनि नेतृत्वले चाहेमा, उनीहरूको इच्छा शक्ति भएमा यी चार कुराबाट नै सदूरपश्चिमलाई मात्रै नभई देशलाई नै आर्थिक समृद्धिको बाटोमा डोर्याउन सक्छन्।
दुर्भाग्य त्यस्तो गर्न सक्ने क्षमता भएको नेता मैले अहिले सम्म पाएको पनि छैनौ, छदा पनि छैन। यी चार वटै क्षेत्रमा यो दुई वर्षमै सबै कुरा गर्न सकिन्थ्यो भन्ने त हुँदै होइन तर धेरै कुरा गर्न सकिन्थ्यो। भ्रमण वर्ष २०२० चलिरहदा पनि हाम्रा पर्यटकीय स्थलहरूको न त प्रचार छ, न नयाँ पर्यटकीय स्थलको खोजी गर्ने कार्य भएको छ।
पहिचान भएका पर्यटकीय स्थलहरूमा अति आवश्यक पर्ने पूर्वाधार विकास समेत भइसकेको छैन्। भौतिक पूर्वाधार निर्माण गर्ने कुरा समेत कहीं कतै छिटफुट बाहेक केही पनि देखिँदैन। के यस्तै तरिकाले हाम्रा मुख्यमन्त्री ज्यूले महत्व दिए झै गर्नुभएको पर्यटन क्षेत्रबाट आर्थिक समृद्धिको सपना पूरा गर्न सकिएला ? मलाई लाग्दैन।
यही तरिकाले हामी पर्यटन क्षेत्रबाट प्रयापर््त फाइदा उठाउन सक्छौं। त्यसैगरी जलविद्युतको कुरा, यसमा त झन् ठूलो लगानी, ठूलो मुटु पो चाहिन्छ। खप्तड क्षेत्र विकास समितिमा तत्कालीन अध्यक्ष रहनु भएका हाम्रा मुख्यमन्त्री ज्यूको कार्यकालमै करोडौं रकम जथाभावी भएको भनी समाचार आउँदा समेत लाचार जवाफ नदिने मुख्यमन्त्री ज्यूले जलविद्युतको त कुरा नगरेकै राम्रो।
प्रधानमन्त्री कृषि आधुनिकरण परियोजनामा समेत अनियमिता भएर अहिले केही मान्छे त अख्तियारकै फन्दामा छन्। त्यति मात्रै होइन प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना केही पहुँचवाला व्याक्तिले करोडौं रकम लिएर कामै नगरेको कुरा पनि बाहिरिएको छ।
कृषिलाई जोड दिने मान्छे सरकार प्रमुख हुँदा त, कृषिमा अनियमितता छ भने बाँकी नया कुरा होला भनेर कल्पना नगर्दा नै बेस होला कि ? यद्यपी मुख्यमन्त्री ज्यूले केही दिन अघि सुदूरपश्चिममा कृषि क्षेत्रको लागि नयाँ योजना लागू गरी, गाउँका किसानलाई समेत समेट्ने भन्ने कुरा सकारात्मक छ तर सबै तिरका गतिविधि हेर्दा यो पनि बोलीमै सिमित होला कि भन्ने आशङ्का पनि छ।
विकासको अन्तिम मन्त्र जडीबुटी। मलाई लाग्छ, यदि साँच्चै विकासको पुजारी हाम्रो सरकार प्रमुख भएको भए दुई वर्षमा जडीबुटीको पहिचान गर्ने, प्रशोधन गर्ने र निर्यात गर्न सक्ने स्थितिमा हुने थियौं।
अन्तिममा मुख्यमन्त्री ज्यू, भाषण गर्नु र काम गर्नु दुई फरक चीज हो। तपाईंमा राम्रो भाषण गर्न सक्ने कला छ, आकर्षक व्यक्तित्व छ। जनतालाई मन्त्रमुग्ध गर्न सक्ने खुबी छ, सामुन्ने आउने मान्छेलाई कुरै कुरामा चिप्लाई दिन सक्ने तागत छ।
त्यसैले म मान्छु की, तपाईं एक राम्रो उत्प्रेरक वक्ता बन्न सक्नुहुन्छ, नेता बन्न सक्नुहुन्न। हुन त नेता नै हो तपाईं तर कुशल नेतृत्वकर्ता चाइ कदापी होइन।
हरेक क्षेत्रमा प्रचुर सम्भावना र मेहेनती जनता भएको ठाउँमा समृद्धिको यात्रामा जान कुन चाइ तत्वले रोकेको छ ? कृपया जवाफ दिनुभयो भने हामी पनि सक्ने सेवा गर्ने मौका पाउथ्याँै की !