सुदूर नेपाललाई विश्वसँग जोड्दै

कैलालीमा मन्दिर विकास समितिको निर्देशनमा अवैध रुपमा रुख कटानी

२०७६ माघ ११, ०२:३० खबर संवाददाता

कैलालीमा मन्दिर विकास समितिको निर्देशनमा अवैध रुपमा रुख कटानी गरिएको छ। जिल्लाको गोदावरी नगरपालिकामा रहेको मष्टा धाम विकास समितिको निर्देशनमा अवैध रुपमा सालको काचो रुख काटिएको आरोप लागेको छ।

नगरपालिकाको वडा नम्बर ४ बन्दागडामा रहेको धामको विकास समितिको निर्देशनमा सामुदायिक वन क्षेत्रका तीन वटा सालको काचो रुख काटिएको आरोप लागेको हो। एक रुख ढालिएको छ भने दुई रुखको भित्र भ्वांग देखिएपछि छोडिएको हो।

स्थानीयले नाम उल्लेख नगर्ने शर्तमा दिनेश खबरसंग भने, ‘जंगलमा तीन रुख काटिएका छन्। राजीताल सामुदायिक वन उपभोक्ता समितिले ती रुखलाई वेवारिसे बनाएको छ। तर धामको निर्देशनमा कामदारले रुख काटेका हुन्। पहिला पनि धामको नाममा जंगलबाट काठ तस्करी हुदै आएको छ।’ सामुदायिक वन क्षेत्रमा भेटिएको तीन रुखको गोलिया, चिरान गरेको झण्डै १५÷१६ थान कडिलाई बिहिबारको समितिको बैठकले बेवारिसे काठ भेटिएको निर्णय गरेको हो।

राजीताल सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष देवराज ऐरले मष्टा धाम विकास समितिको निर्देशनमा जंगलबाट काठ तस्करी हुदै आएको भन्दै बैठक बोलाएको तर सो कुरा प्रमाणित नभएको बताए।

उनले भने, ‘उपभोक्ताहरुले मष्टा धाम विकास समितिले जंगलबाट काठ तस्करी भएको बताएपछि सर्वपक्षिय बैठक बोलाएका थियाँै। बैठकमा वेवारिसे काठ भेटिएको निर्णय गरेका छाँै। मष्टा धामका सचिव भीम साउँद पनि आउनु भएको थियो।’ धामका अध्यक्ष गणेश साउँद अहिले जिल्ला बाहिर छन्।

उनीहरुले कामदार मार्फत जंगलबाट काठ तस्करी गर्न लगाएको आरोप छ। तर धाम विकास समितिको सचिव साउँदले धामका लागि काठ आवश्यक भएपनि अवैध रुपमा नकाटेको बताए। ‘जंगलमा काठ भेटिएपछि मलाई पनि बोलाइएको थियो।

तर काठ धोद्रो थियो। काम लाग्ने अवस्थाको थिएन्। त्यसैले हामीले लिएनौ।’ उनले भने। उनले धामले जंगलबाट काठ तस्करी गरेको कुरा अस्वीकार गरेका छन्। काठ अहिले एक उपभोक्ताको घरमा राखिएको छ।

जंगलमा भेटिएको काठ उपभोक्ता समितिले ल्याएको हो। बाँकी आलो सालको गोलियाहरु जंगलमा नै छन्।

 

कमेन्ट लोड गर्नुस